newskoseli.Com

विप्लवका केन्द्रीय अध्यक्ष पक्राउ : ११ संगठनद्वारा विरोध, धरपकड बन्द गर्न ‘चेतावनी’

११ विद्यार्थी संगठनको संयुक्त प्रदर्शन

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाल पक्राउ परेका छन् । विद्यार्थी नेता ढकालको पक्राउविरूद्ध ११ विद्यार्थी संगठनले संयुक्त विरोध प्रकट गर्दै ‘दमन र धरपकड’ बन्द गर्न सरकारलाई ‘चेतावनी’ दिएका छन् ।

५५ औं विद्यार्थी एकता दिवसको अवसरमा बुधबार ११ विद्यार्थी संगठनहरुले राजधानीमा संयुक्त विरोधसभा सम्पन्न गरे । विरोधसभामा बोल्दै विद्यार्थी नेताहरुले शान्तिपूर्ण कार्यक्रममा धरपकड नगर्न सरकारलाई चेतावनी दिएका हुन । राज्यले पछिल्लो समय विद्यार्थी संगठनमाथि धरपकड गरेको र विद्यार्थी नेताहरुलाई पक्राउ गरेकोप्रति विरोध जनाउँदै उनीहरुले राज्यको गलत नीतिको भण्डाफोर गरिने बताए ।

विद्यार्थी नेता चिरञ्जीवी ढकाल
केही अघि ११ विद्यार्थी संगठनले राजधानीमा आयोजना गरेको संयुक्त पत्रकार सम्मेलनबाट विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकाललाई राज्यले विनाकारण गिरफ्तार गरेको भन्दै उनलाई तुरुन्त रिहा गर्न उनीहरुले माग गरेका छन् ।

तत्कालीन पञ्चायती व्यवस्थाको जगजगी रहेको समयमा राजनीतिक दलहरु प्रतिबन्धित थिए । त्यस्तो बेला जनताका हक–अधिकार प्राप्तिको संघर्षमा युवा विद्यार्थीहरुले नेतृत्वदायी भूमिका निर्वाह गरेका थिए । सोही सन्दर्भमा वि.सं. २०२१ मा विभिन्न चारबुँदे माग राखेर संयुक्त विद्यार्थी संगठनहरुले आह्वान गरेको आन्दोलनमा राज्यले व्यापक दमन गरेर धेरै विद्यार्थीहरुलाई घाइते बनाएको थियो । तर, विद्यार्थीहरुको संयुक्त आन्दोलन रोकिएन र अन्त्यमा राज्य जनताको आँखामा छारो हाल्नैका लागि मात्र भए पनि केही सुधार गर्न बाध्य भएको थियो । त्यही संयुक्त विद्यार्थी आन्दोलनको सम्झना र सम्मानमा त्यस यताका हरेक जेठ १ लाई विद्यार्थी दिवसका रुपमा मनाइँदै आइएको छ ।

यसै सन्दर्भमा नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), विप्लव नृतृत्वको नेकपा, गोपाल किराती नेतृत्वको माओवादी केन्द्र निकट अखिलहरु र नेविसंघ, अखिल पाँचौं, नयाँ शक्ति विद्यार्थी, राजपा विद्यार्थी, समाजवादी विद्यार्थी, राष्ट्रवादी विद्यार्थी संघ, नेपाल विद्यार्थी युनियन, नेपाल क्रान्तिकारी विद्यार्थी संघलगायतका ११ विद्यार्थी संगठनले बुधबार कार्यक्रम सम्पन्न गरेका हुन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर