newskoseli.Com

अध्यक्षलाई महासचिव मुनि जिम्मेवारी, तैपनि स्वीकार्ने रन्जित तामाङको घोषणा

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी) केन्द्रबीचको पार्टी एकता सकिँदै गर्दा केही अनौठा र असंगत स्थितिहरु समेत देखा परेका छन् । निकै कडा प्रतिस्पर्धायुक्त चुनाव नै भिडेर विजयी भएका तत्कालीन माओवादी केन्द्र सम्बद्ध विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष रन्जित तामाङ तत्कालीन एमाले सम्बद्ध अखिलका महासचिव ऐन महर संयोजक रहेको एकीकृत कमिटीमा सहसंयोजक बनाइएका छन् ।

तत्कालीन अखिलकी अध्यक्ष नविना लामालाई नै संयोजक वा अध्यक्ष बनाइए आफू उनी मातहत रहेर काम गर्न तत्पर रहेको तर उपाध्यक्षहरु वा महासचिवमध्येका कसैलाई अध्यक्ष वा संयोजक बनाइए आफूले दोस्रो स्थानमा बसेर काम नगर्ने बताउँदै आएका रन्जित तामाङ अन्ततः तत्कालीन महासचिव मुनि सहसंयोजक बनेर काम गर्न बाध्य भएका छन् ।

अन्ततः सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को भ्रातृसङ्गठन अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) का सहसंयोजक रन्जित तामाङले बुधबार पार्टीले दिएको जिम्मेवारी ग्रहण गर्दै आफू पार्टी एकतालाई पूर्णता दिन लागिपर्ने बताएका छन् ।

प्रेस सङ्गठन झापाले बुधबार बिर्तामोडमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै सहसंयोजक तामाङले भने– ‘मलाई दिइएको पद र जिम्मेवारीबाट म पछि हट्दिनँ, पार्टी एकताका लागि त्याग र समर्पण गर्नुपर्छ, म गर्छु ।’

पार्टीले जिम्मेवारी दिने विषयमा आफूलाई अन्याय भएको सहसंयोजक तामाङले बताए । ‘म पदबाट राजिनामा दिन्नँ,’ उनले भने– ‘मेरो मूल्याङ्कलन गरेर पार्टीले मलाई अर्को जिम्मेवारी दिनुपर्छ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर