newskoseli.Com

फोक्सुण्डो तालको गहिराइ विवाद, फेरि नाप्न विज्ञ टोली डोल्पामा

डोल्पास्थित फोक्सुण्डो तालको गहिराइको पुनर्मापन गर्न मौसम विज्ञान विभागले विज्ञ टोली खटाएको छ । नेपालकै सबभन्दा गहिरो तालका रूपमा परिचित फोक्सुण्डो तालको गहिराइका विषयमा विवाद उत्पन्न भएपछि पुनर्मापन गर्न विज्ञ टोली त्यहाँ पुगेको हो ।

शे–फोक्सुन्डो गाउँपालिका– ८, रिग्मो गाउँमा अवस्थित फोक्सुण्डोको गहिराइ नाप्न १० जनाको विज्ञ टोली डोल्पा आइपुगेको छ । नेसनल हाइड्रोलजिकल एन्ड मेट्रोलजिकल रिसर्च सेन्टर एन्ड कन्सल्टेन्सीले यस कामका निम्ति अनुमति पाएका हुन् । अनुमति पाएलगत्तै विज्ञसहितका १० जनाको टोली फोक्सुण्डो पुगेर तालको गहिराइ मापन गर्ने तयारी गरिरहेको जानकारी एक जना विज्ञ ध्रुवलोचन अधिकारीले दिएका छन् ।

टोलीमा दुई जना सर्वेक्षण गर्ने इन्जिनियर, एक जना डुंगा चालक, जल तथा मौसम विभागका विज्ञहरु सुवास तुलाधर, विनिता कायस्थ, दिनेश पराजुली र मौसम भण्डारीको टोली करिव चार दिन बसेर फोक्सुण्डो तालको गहिराइ मापन गरेर फर्किने जानकारी अधिकारीले दिए ।

यस ताललाई जापानी नागरिकले वि.सं. २०३६ मा ‘दिनमा दर्जनौं पटक रङ बदल्ने, कुनै पनि जीवनको अस्तित्व नभएको र ६ सय ५० मिटर गहिरो ताल’ का रूपमा प्रमाणित गराएको स्थानीयवासीको भनाइ छ । फोक्सुण्डो तालको गहिराइ लगायतका विशेषताका विषयमा विज्ञान तथा प्रविधि मन्त्रालयअन्तर्गत जल तथा मौसम विज्ञान विभागमा रेकर्ड नराखिएपछि पछिल्लो समयमा विवाद बढेको स्थानीयवासी आङबहादुर लामाले बताए ।

दोस्रो पटक सन् २००४ मा ब्याथिमेट्रिक सर्वेक्षण विधि अपनाई वैज्ञानिक मापन गर्दा तालको गहिराइ १ सय ४५ मिटर मात्र रहेको तथ्याङ्क जल तथा मौसम विज्ञान विभागमा पेस गरिएपछि फोक्सुण्डो तालको गहिराइ विवाद हालसम्म पनि कायमै रहेको छ ।

फोक्सुण्डोको दोहोरो तथ्याङ्कका कारण हाल सबैभन्दा गहिरो तालका रुपमा रारा ताललाई उल्लेख गरिएपछि स्थानीयवासी र डोल्पाका नागरिकले त्यसलाई स्वीकार गरेनन् । पछिल्लो मापन टोलीले पुराना र बिग्रेर मर्मत गरेका मेसिन प्रयोग गरी गहिराइ मापन गरेर गलत तथ्याङ्क दिएको आरोप डोल्पालीले लगाइरहेका छन् ।

शे–फोक्सुन्डो राष्ट्रिय निकुञ्जभित्र करिव ३ हजार ६ सय ३५ मिटरको उचाइमा अवस्थित ५ दशमलव ९३ किलोमिटर लम्बाइ र १ दशमलव ८० किलोमिटर चौडाइ भएको फोक्सुण्डो तालको यथार्थ मापन र तथ्याङ्क अबका मापनबाट आउनेमा आफूहरु विश्वस्त रहेको शे–फोक्सुन्डो गाउँपालिकाका उपाध्यक्ष धावासम्डुक गुरुङले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर