१ फागुन, २०५२ देखि १० वर्षसम्म नेपालमा चलेको सशस्त्र माओवादी जनयुद्धले नेपाललाई राजतन्त्रात्मक संसदीय व्यवस्थाबाट लोकतान्त्रिक गणतन्त्रको युगमा प्रवेश गराएको छ ।
कसै–कसैले २०६२–६३ को जनआन्दोलनले नेपालमा लोकतन्त्र र गणतन्त्र ल्याएको दावी गरे तापनि स्वयं त्यो आन्दोलन नै दसवर्षे जनयुद्धले सिर्जना गरेको राजनीतिक परिवेश र त्यसैको रापताप एवं मेरुदण्डमा खडा भएर सृष्टि भएको थियो । दसवर्षे जनयुद्ध र त्यसैको जगमा उठेको ऐतिहासिक जनआन्दोलनपछि नेपालमा गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समानुपातिकता, समावेशिताजस्ता उपलब्धि संस्थागत भए तापनि जनयुद्धको मूल लक्ष्य अझै पूरा नभएको मान्नेहरु पनि छन् ।
ज–जसले जेसुकै दावी, तर्क–वितर्क र बहस गरे तापनि जनयुद्धमा दसौं हजार नागरिकले आफ्नो जीवनको वलिदान दिए, हजारौं योद्धा आजपर्यन्त पनि बेपत्ता नै छन्, हजारौं योद्धाहरुले घाइते–अपांग जीवन व्यतित गरिरहेका छन् । हजारौंले कष्टसाध्य जेलजीवन, चरम यातना र पीडा खेपेका छन् । यी तथ्यहरु भने अकाट्य नै छन् ।
यसै परिवेशबाट गुज्रँदै आफ्नो भूमिका पूरा गरेर आएकी एक पात्र हुन्– पत्रकार संगीता खड्का । माओवादी पंक्तिका पुराना, निष्ठावान् र सक्रिय थोरै पत्रकारहरुमध्येकी एक संगीता खड्काद्वारा लिखित ‘युद्धका ती दिन : एक पत्रकारको भोगाइ’ शीर्षक पुस्तक सार्वजनिक भएको छ ।
पूर्वप्रधानमन्त्री एवं सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्य पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राजधानीमा सोमबार सो पुस्तकको विमोचन गरेका हुन् ।
विमोचन समारोहमा मन्तव्य राख्दै अध्यक्ष प्रचण्डले यो पुस्तक पत्रकारको संस्मरण वा भोगाइ भनिए पनि एउटी सक्रिय माओवादी योद्धाको भोगाइ वा संस्मरण भएको बताए । दसवर्षे जनयुद्धले खडा गरेका असंख्य कीर्तिमानहरुमध्येका धेरै कीर्तिमानहरु संस्थागत गर्न यस पुस्तकले महत्त्वपूर्ण भूमिका खेल्ने उनले बताए ।
पत्रकार खड्काको पुस्तमाथि सत्ताधारी पार्टीसम्बद्ध महिला संघकी अध्यक्ष एवं सांसद अमृता थापा मगर, नेपाल पत्रकार महासंघका अध्यक्ष गोविन्द आचार्य, प्रेस काउन्सिलका कार्यबाहक अध्यक्ष किशोर श्रेष्ठ, सञ्चारिका समूहकी पूर्वअध्यक्ष निर्मला शर्मा, पत्रकार सुधिर शर्मालगायतले टिप्पणी गरे । कार्यक्रमको सञ्चालन प्रभा बोगटीले गरिन् ।
विस्तृत समाचार र भिडियोका लागि यो पनि पढ्नुहोस्–
विप्लव, विष्फोट र बन्दबारे के भने प्रचण्डले ? सत्ताधारी नेकपामा दुई धार (भिडियोसहित)