newskoseli.Com

लुम्बिनीको ‘ब्युटिफिकेसन’ : के–के भए, के–के हुँदैछन् ?

सन् १९७८ मा जापनिज वास्तुकलाविद् प्राध्यापक केञ्जो टाङ्गेले तयार पारेको गुरुयोजनामा लुम्बिनीलाई ‘पवित्र स्वर्गको टुक्रा’ का रुपमा परिकल्पना गरिएअनुसार अहिले धमाधम ‘ब्युटिफिकेसन’ (सुन्दरीकरण) को काम भैरहेको छ ।

गुरुयोजनाले ६० प्रतिशत हरियाली, जताजतै रङ्गीचङ्गी फूल, नीलो पानीले भरिएका पोखरी, तलाउ तथा नहर, सफा–सुन्दर र प्राकृतिक सडक, लहरै रोपिएका विभिन्न प्रजातिका साना–ठूला रुख–बिरुवा र शीतल हावा–पानीको परिकल्पना गरेको छ ।

यसबाहेक गुरुयोजनामा बगैंचामा लटरम्म फलेका फलफूल र चारैतिर जोडिएका चौडा सडकमा दुवैतिर विश्रामस्थल, सफा–सुग्घर बगैंचा, जलचर–थलचरसहित हजारौं प्रजातिका चराचुरुड्गी, शान्त वातावरणमा रुखमुनि ध्यान गरिरहेका थुप्रै पर्यटक र सिङ्गो लुम्बिनीलाई सदाबहार राख्न एउटै पोशाकमा दैनिक खटिएका थुप्रै कामदारको समेत परिकल्पना छ ।

प्राध्यापक टाङ्गेले परिकल्पना गरेको ‘स्वर्गको टुक्रा’ जस्तो लुम्बिनीको ८० प्रतिशत काम लुम्बिनी विकास कोषले ४० वर्ष लगाएर सम्पन्न गरेको छ । बाँकी काम अबका तीन वर्षमा सम्पन्न हुने कोषको दाबी छ । भौतिक संरचनाका अधिकांश काम सकिएका छन् । नयाँ लुम्बिनीग्राम क्षेत्रमा निर्माण गर्नुपर्ने केही संरचना सक्न कोषले विश्वव्यापी बोलपत्र (ग्लोबल टेन्डर) गर्दैछ । परामर्शदाता छनोट भएकाले निर्माणका सम्पूर्ण काम उसैले गर्नेछ ।

आगामी तीन वर्ष कोषको अधिकांश ध्यानदृष्टि सरसफाइ र सुन्दरीकरणमा हुने कोषका उपाध्यक्ष भिक्षु मेत्तेयाले बताए । लुम्बिनी विकास कोषका अनुसार बुद्धकालीन प्राचीन बगैंचालाई झल्काउने गरी विभिन्न पmूल र बिरुवा रोप्ने काम भैरहेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा बन्न लागेको बुद्धबाटिका निर्माणको काम पनि यसै वर्षदेखि सुरु हुने भएको छ ।

शान्ति स्तुपा नजिकै आकर्षक बुद्धबाटिका बनाउने कोषको तयारी छ । यहाँ आउने पर्यटकको बसाइ अवधि लम्ब्याउने उद्देश्यले विश्व वन्यजन्तु कोषको सहयोगमा शान्ति स्तुपाको पूर्वदेखि उत्तरसम्म तीन किलोमिटर क्षेत्रलाई पैदलमार्ग बनाइने छ । यो क्षेत्र लुम्बिनीको नगरपक्षी सारसको वासस्थान भएकाले यहाँ तीन किलोमिटर क्षेत्रमा पैदलमार्ग समेत बनाइने जानकारी विकास कोषका निमित्त सदस्य सचिव सरोज भट्टराईले दिएका छन् ।

एशियन हाई–वे नजिकै १२ बिघा क्षेत्रमा आकर्षक बगैंचा निर्माण गरिनेछ । विभिन्न प्रजातिका फूल रोपेर सुन्दरीकरण गर्न कोषले सिद्धार्थ इन्टरप्राइजेजसँग सम्झौता गरिसकेको भट्टराईले बताए । पवित्र उद्यान क्षेत्रमा गुरुयोजना अनुसार निर्माण गर्ने ठूला संरचना सम्पन्न भएका छन् । यहाँ रहेका उद्यानका ४१ प्लटमध्ये ३ प्लट मात्र तयार भएका छन् । बाँकी सबै प्लटलाई यसै वर्षदेखि सुन्दरीकरण गर्ने योजना छ ।

उद्यानलाई परिक्रमा गरेको पोखरी सफा गर्ने काम बाँकी छ । अहिलेको पोखरीलाई दोब्बर बढाएर घाँस तथा झार उम्रिनै नमिल्ने गरी सफा गर्ने र पोखरी वरिपरीको भिरालो जमिनमा दुबो, फूल तथा छहारी दिने स–साना रुख रोप्ने काम सुरु भएका छन् । पोखरीका विभिन्न पाँच स्थानमा पानीका रङ्गीन फोहरा बनाउने समेत योजना छ ।

पोखरीमा जलचर प्राणी र चराचुरुड्गीको आगमन वृद्धि गर्न उनीहरुको वासस्थान सुरक्षित गरेर यसको सुन्दरीकरण गर्ने योजना छ । आगामी वर्षभित्र यसको निर्माण कार्य पूरा हुने बताइएको छ । पवित्र उद्यान क्षेत्रभित्र करीब ७० लाख रुपैयाँको लागतमा पुरातात्त्विक कार्यालय भवन निर्माण गरिएको छ । सफा र कञ्चन पानीले घेरिएको मायादेवी मन्दिर ४१ उद्यानले घेरिँदा ‘स्वर्गको टुक्रा’ जस्तै सुन्दर हुने विश्वास गरिएको छ । यो पूरा भएपछि अहिले एक घन्टा मात्रै मायादेवी मन्दिर क्षेत्र घुम्ने पर्यटलाई कम्तिमा चार घन्टा अड्याउन सकिने लुम्बिनी विकास कोषको अपेक्षा छ ।

केन्द्रीय नहरको दायाँ–बायाँ पैदलयात्राका लागि इँटाले छापिएको पैदल गोरेटो बाटो निर्माण सम्पन्न भएको छ । बाटाको दायाँ–बायाँ १६ लाइनमा मिलाएर जुनसुकै मौसममा फूल्ने विभिन्न १४ प्रजातिका पmूल विरुवा रोप्ने काम भैरहेको छ । आगामी केही महिनाभित्रै यो काम सम्पन्न हुने बताइएको छ ।

पूर्वी र पश्चिमी बिहार क्षेत्रलाई जोड्न केन्द्रीय नहरका विभिन्न स्थानमा आर्क (अर्द्धगोलाकार) पुल निर्माण गरिएका छन् । केन्द्रीय नहरको दुवैतिर पर्यटक विश्राम गर्ने बेन्च राखिएका छन् । नरहको बीच भागबाट तारा फाउन्डेसन र महाबोधि सोसाइटीतर्फ फैलिएका नहरलाई थप सुन्दर बनाउने र पानीका फोहरा निर्माण गर्ने काम भैरहेका छन् । सिङ्गो लुम्बिनीको सुन्दरीकरणका लागि आगामी वर्ष करिव ९ करोड रुपैयाँ लगानी गरिने जानकारी कोषका कोषाध्यक्ष सुरेन्द्रमुनि शाक्यले दिएका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर