प्रधानमन्त्री केपी शर्मा ओली अन्तर्राष्ट्रिय श्रम सङ्गठन (आईएलओ) को शतवार्षिकीका अवसरमा स्विट्जरल्याण्डको जेनेभामा आयोजित विशेष समारोहमा सहभागी भई आइतबार स्वदेश फर्केका छन् ।
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको अति विशिष्ट कक्षमा प्रधानमन्त्री ओलीलाई सभामुख कृष्णबहादुर महरा, राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना, उपप्रधान तथा रक्षामन्त्री ईश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का संसदीय दलका उपनेता सुवास नेम्वाङलगायतले स्वागत गरे ।
सो अवसरमा प्रधानमन्त्री ओलीको सम्मानमा नेपाली सेनाको एक टुकडीले सम्मानगारत अर्पण गरेको थियो । मन्त्रीगण, नेपाल सरकारका उच्चपदस्थ अधिकृत, सुरक्षा निकायका प्रमुख, नेपालस्थित कूटनीतिक नियोगका प्रमुखलगायत पनि प्रधानमन्त्रीको स्वागतका लागि विमानस्थल पुगेका थिए ।
प्रधानमन्त्री ओलीले जेठ २७ मा आईएलओको शतवार्षिकीका अवसरमा जेनेभामा आयोजना भएको विशेष समारोहमा भाग लिनुका साथै बेलायत र फ्रान्सको समेत औपचारिक भ्रमण गरेका थिए । प्रधानमन्त्री ओलीको भ्रमणदलमा उनकी पत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्णराज विष्ट, प्रधानमन्त्रीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई, प्रतिनिधिसभाको उद्योग, वाणिज्य, श्रम तथा उपभोक्ता हित समितिका सभापति विमलप्रसाद श्रीवास्तव, सांसद बिन्दा पाण्डेलगायत सहभागी थिए ।
प्रधानमन्त्री ओली जेठ २५ मा प्रस्थान गरेका थिए । समसामयिक राजनीति र देशका चर्चित विषयवस्तुबारे एयरपोर्टमै के–के भने त प्रधानमन्त्री ओलीले ?
‘म एक–दुईवटा कुरा मात्रै भन्छु । केही कुराहरु हाम्रो वक्तव्यमा उल्लेख नभएका, जस्तै– मैले टर्कीका उपराष्ट्रपतिसँग पनि भेटघाट गरें आईएलओका डाइरेक्टरले दिनुभएको भोजमा संयुक्त राष्ट्रसंघ महासभाका अध्यक्ष, दक्षिण अफ्रिकाका राष्ट्रपतिलगायत नर्वेका प्रधानमन्त्रीसहित अनेक नेताहरुसँग साइडलाइनमा वा अनेक ढंगले वाञ्छित कुराकानी भएको छ र त्यसले ती देशहरुसँगको हाम्रो सम्बन्ध, हाम्रो आर्थिक गतिविधि, बहुआयामिक सम्बन्धलाई अगाडि बढाउन मद्दत पुर्याएको छ ।
अर्को एउटा कुरा, केही मानिसहरुले नबुझेको कुरा के छ भने अबको समय नेपालको आवेश, उत्तेजना, द्वन्द्व, आन्दोलनको समय होइन । अबको समय संवाद सहमति, सहकार्य र अग्रगमनको समय हो । हिजो एउटा समय थियो, जतिबेला आधारभूत प्रश्नमा नै हामीले अधिकार प्राप्त गरेका थिएनौं । राजनीतिक अधिकार नै थिएन । त्यसकारण हामीले आन्दोलन गर्नु पर्दथ्यो । जनता सार्वभौमसत्तासम्पन्न थिएनन् त्यसकारण आन्दोलन गर्नु पर्दथ्यो । अहिले दुई वटा कुरा नबुझेको हो, एउटा– जनता नै सार्वभौसत्तासम्पन्न भइसकेको छ तसर्थ जनताका इच्छा, भावना र हितविपरित कुनै पनि कुरा हुँदैन । त्यो अर्को कुरा के हो भने अहिले जनतालाई देवता मान्ने, जनतालाई सर्वोपरि मान्ने, जनताको इच्छा–आकांक्षा, हित र आदेशअनुसार काम गर्ने जनताप्रति उत्तरदायी सरकार छ । त्यसकारण जनताका कुरा सुन्छ । र, जनताको हितमा काम गर्छ ।
अर्को कुरा, कुनै पनि कुरा शतप्रतिशत पर्फेक्ट नहुन पनि सक्छ । त्यस्तो भयो भने सरोकारवाला पक्षले, जनताको कुनै पक्षले यहाँनेर यस्तो भयो है भन्ने बित्तिकै त्यो विरोधको भावना बेस्सरी उछालेर कहाँ पुग्छु भन्ने त्यो भावना नराख्दा पनि हुने हो । त्यो विरोध केही उछालिनेवाला पनि छैन । जनता भड्काउन सकिन्छ कि भन्ने नसोचे पनि हुन्थ्यो । भड्काउन सकिनेवाला पनि छैन । जनताका लागि काम गर्ने सरकार छ । अनि जनता के कारणले भड्किन्छ ? कुनै कमी कहीं देखियो भने त त्यो सरकारले सच्याइहाल्छ । त्यसकारण जनताको इच्छाअनुसार काम गर्ने जनताको सरकार भएको हुनाले जनतालाई दमन गरेर आएको सरकार होइन यो । जनताको अभिमतबाट जनताप्रति प्रतिबद्ध रहेर, जनताप्रति प्रतिबद्धता जनाएर, त्यो प्रतिबद्धताका साथ र देशलाई अगाडि बढाउने संकल्पक साथ आएको सरकार हो । त्यसकारण यो सानातिना कुराहरुमा नअल्झिए हुन्थ्यो । अल्झिरहनु पर्ने आवश्यकतै थिएन ।
गुठीसम्बन्धी कतिपय ठाउँमा, गुठीका नाममा जनतामाथि, गरिबहरुमाथि शोषण भइरहेको छ । जमिन सबै कुरा एकै ठाउँ ‘टकासार भाजि टकासार खाजा’ भन्छ हिन्दीमा । त्यो हुँदैन । बैली, बहल, धार्मिक गुठी– यहाँका यस्ता ऐतिहासिक गुठीहरु, हाम्रा संस्कृतिसँग, सांस्कृतिक परम्परासँग र यस्ता परोक्ष ढंगका सांस्कृतिक धरोहरसँग जोडिएका गुठीहरुको कुरा बेग्लै हो । यदि यस विधेयकले कहीं–कतै त्यस प्रकारका गुठीहरुमा कतै केही धक्का परेको रहेछ भने त्यो सरकारले विचार गर्छ ।
अब केही मानिसहरुले खुबै मौका पायौं भन्ठानेको होला, कुनै चान्स आउनेवाला छैन । चान्स छैन किनभने यो सरकार जनताका लागि, जनताले भनेअनुसार काम गर्छ । जनताको हितमा काम गर्छ र यो हाम्रा परम्परा, हाम्रा संस्कृति, हाम्रा ऐतिहासिक धरोहरहरु, हाम्रा पुरातात्त्विक महत्त्वका धरोहरहरु– पुरातात्त्विक महत्त्वका धरोहरभन्दा घर मात्रै बुझिँदैन, घरसँग जोडिएका हाम्रा संस्कृति बुझिन्छ । मच्छेन्द्रनाथको रथयात्रा आफैंमा एउटा धरोहर हो, इन्द्रजात्रा आफैंमा एउटा धरोहर हो, कुमारीजात्रा आफैंमा एउटा धरोहर हो । त्यसकारण भवन, घर, कुँदिएको कला मात्रै होइन– सांस्कृतिक कला जो झन् राम्ररी कुँदिएको छ, त्यो पनि हो । त्यसकारण यसमा कुनै भ्रम राख्नुपर्ने आवश्यकता म देख्दिनँ ।
अब म आइसक्या छु । यो सबै कुरा हामी हेरेर कुनै पनि हाम्रो सांस्कृतिक धरोहर, ऐतिहासिक धरोहर, परम्परा, चाडवाड, रीतितिथिसँग कुनै कुराले, कहीं नेरी अलिकति पनि प्रतिकूल असर वा घच्चा, जानेर वा नजानेर पारेको रहेछ भने त्यसलाई त सरकारले सच्याइहाल्छ । यो सरकार बनेको जनताको मन दुखाउन होइन । यो सरकार बनेको जनताको मन हँसाउन हो । त्यसकारण कहीं–कतै, केही नपुगेको देख्दा वा कहीं–कतै केही भुलवश कतै गएको देख्दा त्यो मौका आयो कि भन्ठान्नु बेकार हो । म यत्ति भन्न चाहन्छु यस सन्दर्भमा ।
अर्को, हाम्रा जहाजहरु युरोपियन आकाशमा पनि उड्नेछन्, विश्वका जुनसुकै आकाशमा उड्नेछन् । त्यो उड्ने प्रबन्धका लागि हामी तयारी गर्दैछौं । यसपल्ट पनि हामीले गम्भीरताका साथ कुरा उठाएका छौं ।
अर्को, सन् १९४७ को त्रिपक्षीय सम्झौता त्यो धेरै पुरानो भयो, त्यो साँचो हो । त्यसले आजका हाम्रा आवश्यकतालाई निर्देशित गर्न, नियन्त्रित गर्न सक्ने अवस्था छैन । त्यसकारण स्वाभाविक हो, यो कुनै आवेश–उत्तेजनाको विषय होइन । १९४७ को त्रिपक्षीय सन्धि, त्यो भारतबाट ब्रिटिस गोर्खा भनिएका हाम्रा दाजुभाइहरु रेजिमेन्ट मारिएका बेलाको कुरा हो । त्यसकारण त्यस कुरालाई त्रिपक्षीय नै राख्नुपर्ने आवश्यकता छैन । आज हामी द्विपक्षीय सहमतिमा जान सक्छौं । त्यसका लागि पुनरावलोकन गर्नुपर्छ । समग्र पुनरावलोकनको पक्षमा हामी छौं । कसरी अगाडि बढ्ने भन्ने कुरा । यो कुनै भन्नु नहुने कुरा वा लुकाएको कुरा होइन । मैले युकेमा त्यहाँका प्रधानमन्त्री थेरेसा मेरी मेसँग पनि यो कुरा गरें र हाम्रो विचार हो यो, हाम्रो सोच हो भनेर भनें । तर, त्यो कुरा मात्रै संयुक्त वक्तव्यमा आउँछ, जो दुवै पक्षलाई उत्तिकै सजिलोसँग स्वीकार्य हुन्छ । त्यो नभैसकेको अवस्थामा त्यो द्विपक्षीय संयुक्त वक्तव्यमा आउँदैन त्यो, स्वाभाविक हो । अहिले हामीले उठाएका हौं– त्रिक्षीय सम्झौता अब अद्यावधिक रहेन, यसको पुनरावलोकन गर्नुपर्छ भन्ने कुरा हामीले उठाएका हौं ।
भ्रमण संक्षिप्तमा अत्यन्तै फलदायी रह्यो । हामी अत्यन्त सक्रिय पनि रह्यौं । हामीले हाम्रा नीतिहरु, उपलब्धिहरु, आवश्यकताहरु, आकाँक्षाहरु यी सबै कुराहरुलाई सबै ठाउँमा सान्दर्भिक ढंगले, सान्दर्भिक ठाउँहरुमा उठाएका छौं, अगाडि बढाएका छौं ।
वाइडबडी चाहिँ छानविन हुँदैछ । छानविन भइरहेका कुरामा मैले धेरै केही नबोलौं । अब गैरजवाफदेही पाराले फलानो भ्रष्टाचार, फलानोले खायो भन्दिन मिल्छ । तर, मैले परिणाम नआईकन कसैका बारेमा भन्न मिल्दैन । छानविन हुँदैछ– जो दोषी छ, उम्कन पाउँदैन । दोषीमाथि कारबाही हुन्छ । वाइडबडी अहिलेसम्म उडेन किनभने पहिले त तयारी नै भएको थिएन त्यसको । अब बिस्तारै उड्छ । अब सरकारको त्यसमा ध्यान गएको छ । लोकसेवा आयोगको विज्ञापनसम्बन्धी मुद्दा अदालतमा चलिराख्या छ क्यार, सबजुडिस केसमा धेरै केही नबोलौं, धन्यवाद ।’
तस्बिरहरूः रासस