newskoseli.Com

काठमाडौंमा इन्डियन फिल्म एकेडेमी अवार्ड (आइफा) : कसको खर्च कति ?

सरकारी तथा निजी संस्थाको खर्चमा इन्टरनेसनल इन्डियन फिल्म एकेडेमी अवार्ड, २०१९ (आइफा) गर्ने योजना नेपाल पर्यटन बोर्डले बनाएको छ  । तर, खर्च गर्न भनिएका निकायलाई भने यस सम्बन्धमा कुनै जानकारी छैन । बोर्डका कार्यकारी अधिकृत (सीईओ) दीपकराज जोशीका अनुसार आइफामा सहभागी कलाकारका लागि नेपालले क्यास (रकम) र काइन्ड (वस्तु) गरी दुई तवरले सहयोग गर्नेछ । क्यासअन्तर्गत नेपालले ४ मिलियन डलर (४४ करोड रुपैयाँ) खर्च गर्ने छ  । काइन्ड सपोर्ट अन्तर्गत भने होटल व्यवस्थापन, जहाज आतेजाते खर्च र स्थानीय यातायात खर्च भनिएको छ ।

बोर्डका अनुसार आइफामा सहभागी हुन कलाकारसहित एक हजारभन्दा धेरै भारतबाट मात्रै आउनेछन् । त्यसमध्ये कलाकारको व्यवस्थापन भने नेपालले नै गर्नु पर्नेछ । उनीहरूका लागि बस्ने व्यवस्था होटल एसोसियसन नेपाल (हान) ले गर्ने भनिएको छ । कलाकारको स्तर मुल्यांकन गरी हानले नै होटलको व्यवस्थापन गर्नेछ । कलारका कम्तिमा तीन दिन होटलमा रहनेछन् । यस अवधिसम्म पाहुनाहरूले होटलका १४ सय कोठा प्रयोग गर्नेछन् । प्रत्येक कोठाको मूल्य सरदरमा छ सय डलर पर्ने भनिएको छ । यस आधारमा होटल खर्च मात्रै ८ करोड ४० लाख रुपैयाँ पर्नेछ ।

त्यस्तै, कार्यक्रममा सहभागी कलाकारलाई जहाजमार्फत काठमाडौंसम्म ल्याउने जिम्मा नेपाल एयरलाइन्सलाई दिने योजना छ । बोर्डका अनुसार ८० प्रतिशत कलाकार भारतको मुम्बईबाट आउने भएका छन् । बाँकी २० प्रतिशत कालकार भने भारतकै बैंगलोर र दिल्लीबाट आउनेछन् । प्रस्तावअनुसार ६ सय कलाकारको आतेजाते जहाज भाडा नेपाल एयर लाइन्सले नै व्यहोर्नेछ । कार्यक्रममा सहभागी कलाकार विजनेस क्लासमा नै आउनेछन् । भारतका तीनवटै सहरमा विजनेश क्लासको एकतर्फी भाडा सरदर ३५ हजार रुपैयाँ छ । यस आधारमा नेपाल एयर लाइन्सको ४ करोड २० लाख रुपैयाँ खर्च हुनेछ ।

काठमाडौंमा उत्रिसकेपछि उनीहरूलाई होटलसम्म लैजान र ल्याउन सुविधासम्पन्न गाडीको आवश्यकता पर्ने हुन्छ । यसको सम्पूर्ण व्यवस्था गर्ने जिम्मा नाडा अटो मोबाइल्स् डिलर्सलाई दिने भनिएको छ । यसका लागि उसले उपत्यकाभित्र रहेका सोरुमका गाडी प्रयोग गर्नेछ । यस प्रयोजनमा कम्तिमा ४ सय वटा गाडी प्रयोग हुनेछन् । प्रत्येक गाडीको भाडा प्रतिदिन कम्तिमा ३० हजार रुपैयाँ लाग्नेछ । यस आधारमा नाडाको ३ करोड ६० लाख रुपैयाँ खर्च हुनेछ ।

मुख्य आयोजक बोर्ड र सहअयोजक काठमाडौं महानगरपालिकाले गर्ने भनिएको ४४ करोड रुपैयाँ भने मञ्च निर्माणमा प्रयोग हुनेछ । मञ्च निर्माणका लागि दुबइबाट अत्याधुनिक र सुविधासम्पन्न डोम ल्याउने भनिएको छ ।

कार्यक्रममा सहभागी कलाकारको खाना तथा खाजाको प्रबन्धका लागि बोर्डले सोचेको छैन । सहयोगीका रुपमा रहेका नेपाल चलचित्र विकास बोर्ड, नेपाल उद्योग वाणिज्य महासंघ, चेम्बर आफ कमर्स, नेपाल उद्योग परिसंघलगायतका संघसंस्थाबाट यसमा लाग्ने खर्च जुटाउन सकिने बोर्डका भनाइ छ ।

नेपाल चलचित्र विकास बोर्डका अध्यक्ष केशव भट्टराईले आइफा अवार्ड आयोजनाको खर्चबारे टुंगिइनसेको बताए । उनले भने– ‘खर्च सम्बन्धमा आइफा प्रतिनिधि र हामीबीच छलफल भैरहेको छ । ४४ करोड रुपैयाँसम्म होस्ट मुलुकले व्यहोर्ने गरी उनीहरूको प्रस्ताव आएको छ । यही खर्च महानगरपालिका र पार्यटन बोर्डले गर्ने भनिएको हो । महानगर र बोर्डको रकम नेपाल सरकारको ढुकुटी होइन ।’

नेपालमा तीव्र बहस र विवाद सिर्जना गरेको आइफा आयोजना र यसको खर्चसम्बन्धी यो खबर सोमबारको नयाँ पत्रिका दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर