newskoseli.Com

जसको घरमा बसेर प्रचण्डले जनयुद्धको तयारी गरे… : नरबहादुर स्मृतिमा के–के भने प्रचण्डले ?

नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पार्टी एकताका बाँकी कामलाई यही महिनाभित्र सम्पन्न गरेर भदौदेखि देशव्यापी अभियान सञ्चालन गरिने बताएका छन् । नेपाल कम्युनिस्ट पार्टीका संस्थापक सदस्य नरबहादुर कर्माचार्यको छैटौं स्मृति दिवसका सन्दर्भमा पार्टी कार्यालय धुम्बाराहीमा बिहीबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै साउनभित्र स्थायी समिति र केन्द्रीय समितिको बैठक बसेर भदौदेखि देशव्यापी नयाँ अभियान सञ्चालन गरिने उनले बताए ।

पार्टी एकता गरेर असाधारण पहलकदमी अगाडि बढाइएको उल्लेख गर्दै एकताका क्रममा आइपरेका चुनौती र घेरा पार गरी माथिदेखि तलसम्मका काम अन्तिम चरणमा पुर्‍याइएको उनले बताए । अध्यक्ष प्रचण्डले भने– ‘पार्टी एकतालाई अझ सुदृढ गर्ने र सरकारका कामलाई प्रभावकारी बनाएर देश र दुनियाँलाई नेपालबाट समाजवादको नयाँ मोडल दिने सङ्कल्प गर्नु नै कर्माचार्यप्रति सच्चा श्रद्धाञ्जलि हो ।’

कम्युनिस्ट र राजनीतिक आन्दोलनका क्रममा नेपाल राष्ट्र विशिष्ट मोडमा उभिएको चर्चा गर्दै नेपाली जनताले दिएको ठूलो अवसरको सदुपयोग गर्न बुद्धिमत्तापूर्ण ढङ्गबाट अगाडि बढ्नुपर्नेमा प्रचण्डले जोड दिए । दुईतिहाइ जनमत प्राप्त सरकारले जनताका पक्षमा गरेका कामका बारेमा जानकारी गराउँदै सरकारका कामलाई अझ प्रभावकारी रुपमा अगाडि बढाइने समेत पूर्वप्रधानमन्त्री प्रचण्डले बताए ।

‘जनताको विश्वासलाई कायम राख्दै अझ ठूलो उचाइ हासिल गर्नुछ, नेपालबाट समाजवादको उन्नत मोडल विश्वलाई दिनुछ, समाजवादको नयाँ धारा, मोडल र सिस्टम दुनियाँलाई दिन सक्नु पर्नेछ,’– उनले भने । पार्टी एकतालाई सुदृढीकरण गर्दै सरकारका काम प्रभावकारी बनाई जनताको भावना सम्बोधन गरेर मात्रै समाजवाद सम्भव भएको प्रचण्डले बताए ।

केही मान्छे निश्चित समयसम्म मात्र पार्टीमा लाग्ने र त्यसपछि विचलित हुने आम प्रवृत्तिबीच नरबहादुर कर्माचार्यले जीवनभर उद्देश्य र आदर्श तथा वैचारिक निष्ठा राखेर आफूलाई समर्पित गराएको प्रचण्डले चर्चा गरे । अध्यक्ष दाहालले भने– ‘कर्माचार्यले जीवनभर आफूलाई कम्युनिस्ट आन्दोलनप्रति समार्पित गर्नुभयो, मार्क्सवादी मूल्य मान्यतालाई आफ्नो जीवन व्यवहारमा उतार्नुभयो ।’

कर्माचार्यको मुख्य विशेषताका रुपमा वैचारिक निष्ठा र आन्दोलनप्रतिको निष्ठा रहेको अध्यक्ष दाहालको भनाइ छ । ‘उहाँ एउटा असाध्यै सरल, पारदर्शी, र अवसरवादको गन्ध नभएको व्यक्तिका रुपमा हुनुहुन्थ्यो,’ प्रचण्डले भने– ‘राजनीतिक आन्दोलन र कम्युनिस्ट आन्दोलनमा धेरै विसङ्गति र विकृति देखिएको छ, कर्माचार्यले जीवनभर त्यस्ता कदमविरुद्ध सङ्घर्ष गर्नुभयो ।’

नेपाली कम्युनिस्टका संस्थापक कर्माचार्य सरलता, स्वाभाविकता, पारदर्शिता, इमानदारिताको पर्यायका रुपमा रहेको स्मरण गर्दै कर्माचार्यको गुणबाट सिक्ने, शिक्षा लिने र आफ्नो जीवनलाई पनि त्यसरी नै रुपान्तरण गर्नुपर्ने अध्यक्ष दाहालले बताए । ‘आफ्नो जीवन राष्ट्र र जनताका निम्ति समर्पित गर्ने र प्रेरणा लिने दिनका रुपमा आजको दिन रहेको छ’– उनले भने ।

साउन महिनामा कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलाल र संस्थापक सदस्य कर्माचार्य तथा तुलसीलाल अमात्य (केही दिनपछि) को स्मृति परेको सन्दर्भ उल्लेख गर्दै यो महिना नेपाल कम्युनिस्ट पार्टीका अग्रणी तथा संस्थापक नेताको स्मरण गर्ने, योगदानका चर्चा गर्ने र उहाँहरुको गुणबाट शिक्षा र प्रेरणा लिई अगाडि बढ्ने महिनाका रुपमा रहेको उनले बताए ।

सबै कम्युनिस्ट पार्टीका बीचमा एकता होस् भन्ने नरबहादुरको भावना रहेको उल्लेख गर्दै यस अवस्थामा कर्माचार्यलाई सम्झनु भनेको पार्टी एकतालाई थप बलियो बनाउनु भएको प्रचण्डले बताए । अध्यक्ष दाहालले भने– ‘कर्माचार्य उमेर ज्येष्ठ भए पनि काम गर्ने क्षमताका हिसाबले जीवनभर युवा नै हुुनुहुन्थ्यो ।’

आफूहरुले कर्माचार्यको घरमा नै बसेर जनयुद्धमा जाने निर्णय गरेको स्मरण गर्दै उनले भने– ‘कर्माचार्य क्रान्तिप्रति सधैं चिन्तित हुनुहुन्थ्यो । हामी जनयुद्धमा जाँदा पनि सधैं हाम्रो चिन्ता गर्नुहुन्थ्यो, सबैलाई अभिभावकत्व दिनुहुन्थ्यो ।’ आफूले कर्माचार्यलाई कुनै महत्त्वकाङ्क्षा नराख्ने नेताका रुपमा पाएको उल्लेख गर्दै नेता कर्माचार्य पद–प्रतिष्ठाको खोजी गर्नेतर्फ नलागेको अध्यक्ष दाहालले बताए । ‘कम्युनिस्ट आन्दोलनको विस्तार र कम्युनिस्ट शक्तिबीचको एकता नै उहाँको स्वार्थ थियो’– प्रचण्डले भने ।

सोही कार्यक्रममा बोल्दै नेकपाका वरिष्ठ नेता माधवकुमार नेपालले दुई ठूला पार्टीबीचको एकतालाई अझ मजबुत बनाएर लैजानुपर्नेमा जोड दिए । कमीकमजोरी सच्याएर अगाडि बढ्नुपर्ने उनले बताए । ‘दिवंगत कर्माचार्य जहिल्यै पनि कम्युनिस्ट शक्तिबीचको एकताका पक्षमा हुनुहुन्थ्यो र यतिबेला उहाँ जीवितै भएको भए पार्टी एकताबाट निकै खुशी हुनुहुन्थ्यो’– नेपालले भने ।

नेकपा स्थायी कमिटीका सदस्य लीलामणि पोखरेलले नेपालको कम्युनिस्ट आन्दोलनमा कर्माचार्यले पुर्‍याएको योगदानका बारेमा चर्चा गरे । सो अवसरमा नेकपाका महासचिव विष्णु पौडेल, प्रवक्ता नारायणकाजी श्रेष्ठलगायत नेता–कार्यकर्ता उपस्थित थिए ।

कर्माचार्य वि.सं. २००५ देखि प्रजातन्त्र सङ्घमा संलग्न भएर राणाविरोधी आन्दोलन र मजदुर आन्दोलनमा सक्रिय भएका थिए । २००६ वैशाख १० मा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गर्ने नेतामध्ये कर्माचार्य पनि एक थिए । पुष्पलाल श्रेष्ठको नेतृत्वमा नारायणविलास जोशी, निरञ्जनगोविन्द वैद्य, कर्माचार्य र मोतीदेवी श्रेष्ठ मिलेर भारतको कोलकातामा नेपाल कम्युनिस्ट पार्टीको स्थापना गरेका थिए ।

कम्युनिस्ट पार्टीको गठनपश्चात उनी मजदुर सङ्गठनका पनि संस्थापक अध्यक्ष थिए । जीवनको उत्तरार्द्धमा तत्कालीन एकीकृत नेकपा माओवादीको संरक्षकका रुपमा रहेका कर्माचार्य जीवनको अन्तिम क्षणसम्म पनि राजनीतिमा सक्रिय नै थिए । ८९ वर्षको उमेरमा २०७० साउन ९ मा उनको निधन भएको थियो । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर