newskoseli.Com

धुर्मुस–सुन्तलीद्वारा चलचित्र निर्माणको घोषणा : हास्यकलाकारकै बाहुल्यता (भिडियोसहित)

चर्चित हास्यकलाकार जोडीको परिचय बनेपछि विभिन्न सामाजिक एवं लोककल्याणकारी गतिविधिमा सक्रिय रहँदै पर्दामा ओझेल परिरहेका कलाकार दम्पती सीताराम कट्टेल ‘धुर्मुस’ र कुञ्जना घिमिरे ‘सुन्तली’ ले अब आफ्नै पहलमा चलचित्र ‘सेन्टीभाइरस’ निर्माण गर्दै मनोरञ्जनको पर्दामा फर्कने घोषण गरेका छन् ।

जनस्तरबाट सहयोग जुटाएरै चितवनमा ‘गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशाला’ बनाउन लागिपरेका उनीहरू चलचित्र निर्माणमा अगाडि सरेसँगै उनीहरूले चलचित्रका निम्ति लगानी कहाँबाट जुटाउँदैछन् भन्ने प्रश्न पनि उठेका थिए । कतिपयले रंगशाला बनाउने नाममा उठाइएको रकमले चलचित्र बनाउन लागेको टिप्पणी पनि गरिरहेका थिए । तर, चलचित्र घोषणा कार्यक्रममा धुर्मुस–सुन्तलीले यस कुराको खण्डन गरे ।

कार्यक्रममा धुर्मुसले भने– ‘धुर्मुस–सुन्तलीको चलचित्रमा लगानी के–कसो भन्ने खबर पनि आएका थिए तर यो चलचित्र अर्कै मानिसको लगानीमा बन्दैछ । हामीले एक वर्ष अघिदेखि निर्माण गर्ने तयारी गरेको यो चलचित्रमा सम्पूर्ण लगानी डिन्डु लामा दाइको हुनेछ ।’ चलचित्रले नाफा कमाएको खण्डमा त्यसको २० प्रतिशत रकम सामाजिक सेवामा लगाउने उनीहरूको भनाइ छ । २० प्रतिशतमध्ये पनि १५ प्रतिशत रकम गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालामै खर्च गरिने उनले बताए ।

सुन्तलीले भनिन्– ‘बच्चैदेखि हिरोइन बन्न चाहन्थें’

कार्यक्रममा बोल्दै सुन्तलीले चलचित्र ‘सेन्टीभाइरस’ बन्ने कुराले आफू उत्साहित भएको बताइन् । कात्तिकसम्म रंगशाला निर्माणमा समय दिनु नपर्ने भएपछि यही बीचमा चलचित्रलाई समय दिन लागिएको उनले सुनाइन् । चलचित्रमा आफ्नो राम्रो भूमिका भएको उल्लेख गर्दै निर्देशक रामबाबु गुरूङसँग काम गर्ने चाहना समेत पूरा हुन लागेको उनले बताइन् ।

‘म बच्चादेखि नै नायिकाहरूको नक्कल गर्ने, नाच्ने र चलचित्रका डाइलगहरू बेल्ने गर्दथें, मलाई आमा–बुबाले पनि पछि गएर हिरोइन् बन्छे भनेर जिस्क्याउनुहुन्थ्यो,’ सुन्तलीले भनिन्– ‘मेरो चाहना पनि हिरोइन बन्ने नै थियो र यो अवसर सेन्टीभाइरसले केही मात्रामा भए पनि पूरा गरिदिने भयो ।’

धुर्मसले भने– ‘चलचित्र निर्माणले रंगशाला निर्माणमा असर गर्दैन, बरु सहयोग नै गर्छ’

चलचित्र निर्माण घोषणा कार्यक्रममा बोल्दै धुर्मुसले चलचित्र निर्माणले रंगशाला निर्माण प्रक्रियामा कुनै असर नगर्ने बताए । रंगशालामा अबको दुई महिना समय दिनु नपर्ने र यो अवधिमा चलचित्रको काम सकाइने उनले बताए । धुर्मस–सुन्तलीहरु अब रंगशाला निर्माणबाट पछि हटेर चलचित्र बनाउन लागेको भन्ने आरोप विभिन्न व्याक्तिहरूबाट आएको र रंगशालाकै पैसाले चलचित्र निर्माण गर्न लागेको समेत भन्न थालेको भन्दै उनले त्यसको खण्डन गरे ।

‘चलचित्रका निर्माता डिन्डु लामा दाइ हुनुहुन्छ, उहाँ दुई वर्ष अगाडि नै हामीसँग मिलेर चलचित्र बनाउन चाहनुहुन्थ्यो, उहाँले हाम्रा सामाजिक कामहरूमा पनि विभिन्न चरणमा आर्थिक सहयोग गर्नुभएकै थियो,’ धुर्मसले भने– ‘चलचित्रमा पनि उहाँले लगानी गर्ने भएपछि हामीले निर्माणमा सघाउने वचन दिएका थियौं तर समय नमिलेर थन्किएको प्रोजेक्ट अहिले घोषण गरिएको हो ।’

चर्चित हास्य टेलिश्रृंखला ‘भद्रगोल’ टिमका काकु अर्थात् दिपक आचार्य र जिग्री अर्थात् कुमार कट्टेल (जो धुर्मसका भाइ समेत हुन्) ले लेखेको ‘सेन्टीभाइरस’ मा हास्यकलाकारहरुकै बाहुल्यता रहने भएको छ । याे चलचित्रमा धुर्मुस–सुन्तलीका अतिरिक्त राजाराम पौडेल, जिग्री, पाँडेलगायतका दर्जनाैं हास्यकलाकारहरूले अभिनय गर्ने भएका छन् ।

थप जानकारीका लागि हेर्नोस् भिडियो–

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर