newskoseli.Com

शानदार यो तीज गीत, जसले बोलेको छ मनोरोगीको वेदना (भिडियोसहित)

तीज पर्व नजिकिँदै गर्दा पोखराकी अम्बिका ढकालले मनोरोगीहरुको वेदनालाई तीज गीतमार्फत प्रस्तुत गरेकी छन् । तीज गीतका नाममा तीजकै मर्मविपरीतका गीतहरु छ्यापछ्याप्ती बढिरहेका बेला स्रष्टा ढकालले भने सामाजिक विषयवस्तुसँग जोडेर उपेक्षामा परेका मनोरोगीहरुको वेदनालाई गीतमार्फत प्रस्तुत गरेकी हुन् ।

सामाजिक विषयवस्तुमाथि साहित्यिक कलम चलाउँदै आएकी ढकालले सामाजिक परिवर्तन र सचेतनाका लागि गीत–सङ्गीतको भूमिका महत्त्वपूर्ण हुने बताइन् । मानसिक रुपमा अस्वस्थ भई खुला आकाशमुनि जीवन बिताउन बाध्य भएका महिलाको दयनीय अवस्थालाई म्युजिक भिडियोमार्फत उजागर गर्न खोजिएको छ ।

विभिन्न प्रतिकूल परिस्थिति र घरेलु हिंसाले मानसिक सन्तुलन गुमाउन पुगेका महिलाप्रति समाजमा विद्यमान हेय दृष्टिलाई बदल्नुपर्ने र असहायलाई सहारा दिएर उपचार गर्नुपर्ने विषयलाई म्युजिक भिडियोले समेटेको छ । मनोरोगीहरुको मानवअधिकारलाई राज्यस्तरबाटै सम्बोधन गर्नुपर्ने विषय गीतले समेटेको स्रष्टा ढकालले बताइन् ।

‘तीज पर्व खाने–लाउने मात्र नभई गीत–सङ्गीतको पर्व समेत हो, तीजको महिमा विशेषगरी सङ्गीतसँग जोडिएको छ,’ ढकालले भनिन्– ‘परापूर्वकालमा दबाएर राखिएका आवाजहरुलाई तीजमा दिदीबहिनीले गीतको माध्यमबाट पोख्थे र मन हलुका बनाउँथे । त्यतिबेला सासू–बुहारीका रोदनका कथाहरु हुन्थे, अब समय बदलिएको छ । अब सशक्तीकरण र महिला अधिकार तथा महिला हिंसाविरुद्धका आवाजलाई बाहिर ल्याउनुपर्छ, सामाजिक न्याय र समानताका लागि आवाज उठाउनुर्पछ’– उनले भनिन् ।

‘सदाबहार नायिका’ को उपाधि पाएकी करिश्मा मानन्धरले म्युजिक भिडियोको लोकार्पण गरेकी छन् । पोखरा आसापासका सडकमा छायाङ्कन गरिएको यस म्युजिक भिडियोमा कलाकार प्रसुना भण्डारी, अमृता अधिकारी, अम्बिका ढकाल, सरिता पंगेनी, रेनु थापा, तेजेन्द्र पौडेल, कृष्ण भट्टराईलगायतले अभिनय गरेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर