newskoseli.Com

टेलिश्रृंखला ‘भद्रगोल’ को डामाडाेल र ‘जिग्री’ माथिको अत्याचार

श्रृंखला–निर्देशक एवं ‘काकु’ को प्रश्न– हास्यसिर्जनामा सर्जकको ‘कपिराइट’ हुँदैन ?

केही वर्ष यता गीत–सङ्गीत चोरी र सिर्जनामा सर्जकको सर्वाधिकार अर्थात् ‘कपिराइट’ सम्बन्धी बहस–विमर्श धेरै सुनिएका छन् । यस सम्बन्धमा बेलाबखत मुद्दा नै चलेको र पीडितले हर्जना पाएको पनि धेरै पटक सुनियो ।

तर, के हास्यकलाकारका सिर्जनामा चाहिँ सर्जकको ‘कपिराइट’ हुँदैन ? के हास्यकलाकारका सिर्जना चाहिँ सिर्जना नै होइनन् ? यसमा उनीहरुको मेहनत हुँदैन ? आफ्ना हास्यसिर्जना कलाकारहरुको मौलिक सम्पत्तिअन्तर्गत पर्दैन ?

कुनै सार्वजनिक समारोहमा आफ्नो प्रस्तुतिबाट दर्शकलाइ हँसाउन हास्यकलाकारहरुले निकै मेहेनत गर्नुपर्ने हुन्छ । तर, उसको–उनको सिर्जनालाई जो–कोहीले जस्ताको तस्तै नक्कल गर्ने, भिडियो खिँचेर आ–आफ्नै युट्युब च्यानलहरुबाट व्यापार गरी एउटाको मेहनतबाट अर्कैले चोरेर कमाइ खाएका थुप्रै यथार्थहरु हाम्रा सामु छन् । दिन–रात मेहनत गरेर सिर्जना गर्ने सर्जकले जति धेरै यसको पीडा अरुले अनुभूत गर्न सक्ने कुरै भएन ।

लेखक दीपक आचार्य

‘भद्रगोल’ समूहले भर्खरै मात्र अनुभव गरेको टाइटलको सर्वाधिकार आफूमा नरहँदाको पीडा कसले पो अनुभूत गर्न सक्ला र ? आम दर्शकमाझ अत्यन्तै लोकप्रिय भैसकेको कार्यक्रम ‘भद्रगोल’ नै अन्योलमा परेको कुरा हामीले सामाजिक सञ्जालमार्फत भर्खरै उजागर गरेका थियौं ।

सर्जकले भोगेको यस्तै अर्को पीडा हामी यहाँ प्रस्तुत गर्दैछौं । ‘भद्रगोल’ का लेखक, निर्देशक एवं मुख्य कलाकार कुमार कट्टेल ‘जिग्री’ ले आफ्नो चरित्र निर्माण गर्न, चरित्रको नाम– ‘जिग्री’ लाई स्थापित गर्न, नामअनुसारको चरित्रलाई न्याय दिलाउन र त्यो नामलाई दर्शकमाझ सर्वाधिक लोकप्रिय बनाउन आफ्नो क्रियाशील र ऊर्जाशील जिन्दगीको लगभग सम्पूर्ण समय खर्च गरेका छन् । आफूले जन्माएको पात्रई यहाँसम्म ल्याइपुर्‍याउन उनले भोक, तिर्खा, झरी, घाम, बादल केहीको वास्ता नगरी, दिन–रात नभनी करिव दस वर्ष मेहनत गरे ।

तर, ‘जिग्री’ र ‘भद्रगोल’ नाम जब हरेक नेपालीको जिब्रोमा झुन्डियो र सर्वाधिक लोकप्रिय बन्यो तब उनको दस वर्षको मेहनत एकै सेकन्डमा एउटा अन्तर्राष्ट्रिय कम्पनीले उनलाई सोध्दै नसोधी आफ्नो ‘ब्रान्ड’ बनाइदियो । जिग्रीले जिन्दगीभर मेहनत गरेर, असाध्यै दुःख गरेर कमाएको ख्यातिबाट सो कम्पनीले मज्जाले बसी–बसी फाइदा लियो ।

‘मेरो जिग्री खै’ भनेर देशका निकै नाम चलेका ‘सेलिब्रिटी’ हरुले अभिनय गरेको भिडियो क्लिप्स सार्वजनिक भैरहँदा कुमार कट्टेल ‘जिग्री’ भने छक्क परे, रनभुल्ल भए । तर, त्यो विज्ञापन विश्वबजारमा ख्याति प्राप्त ‘कोकाकोला’ को भएको थाहा पाउँदा कुमार कट्टेल ‘जिग्री’ छाँगाबाट खसेजस्तै भएका छन् । आफूले जिन्दगीभर त्यति धेरै मेहनत गरेर बनाएको सिर्जना आफैंले थाहा–पत्तो समेत नपाई अर्कैले प्रयोग गरेको देख्दा कसको मन दुख्दैन र ? के गर्ने, कसो गर्ने भनेर कुमारले केही दिन त सोच्न समेत सकेनन् । र, अन्त्यमा उनी कानुनी उपचारको खोजीमा लागे ।

आफ्नो दुःख पोख्न र सार्वजनिक सूचना निकाल्न भनेर उनी नेपालका ‘ख्याति प्रात’ पत्रिकाहरु– ‘कान्तिपुर’, ‘नयाँ पत्रिका’, ‘नागरिक नेटवर्क’ आदिका कार्यलयसम्म धाए । तर, आफूलाई देश र जनताको सूचनाका मसहिा दावी गर्ने ती पत्रिकाहरुले कुमार कट्टेलको गुनासोलाई टेरपुच्छर लगाएनन्, यसबारे केही छाप्न मानेनन् । मानून् पनि कसरी ? ‘कोकाकोला’ ले जुन मात्रामा भारी रकमको विज्ञापन तिनलाई दिन्थ्यो/दिइरहेको छ– त्यो त कुमार कट्टेलले दिँदैनथिए । उनीहरुका लागि कुमार कट्टेललाई ‘न्याय दिलाउन’ सत्यको पक्षमा उभिनुभन्दा एउटा अन्तर्राष्ट्रिय कम्पनीको पक्षमा उभिनु नै फाइदाको विषय थियो/छ ।

यसरी सबैबाट निराशा मात्र हात लागेपछि कुमार कट्टेल ‘ब्रान्ड’ दर्ता गर्ने कार्यालयमा गए, जहाँ पुग्दा आफ्नो कठोर मेहनतको सिर्जना ‘जिग्री’ मात्र होन, भद्रगोलका निकै ख्याति कमाएका थेगोहरु, पात्र आदि सबै नै अरुकै नाममा दर्ता भैसके कुरा उनले थाहा पाए । ब्राण्ड दर्ता गर्दा भर्नुपर्ने फर्मको एउटा बुँदामा लेखिएको छ– ‘प्रस्तावित व्यापार चिह्न मेरो आफ्नै मौलिक चयन हो, पूर्ण वा आंशिक रुपमा पनि अरु कसैको नक्कल गरेको होइन । साविकमा कसैले आवदेन गरेको वा प्रचलनमा ल्याई ख्याति आर्जन गरिसकेको देखिएमा वा पेरिस कन्भेन्सनअनुसार संरक्षण गरिदिनु पर्ने चिह्न भएमा यो ट्रेडमार्क जुनसुकै बखत खारेज गरिदिएमा मेरो मञ्जुरी छ । उल्लेखित सम्पूर्ण व्यहोरा ठीक साँचो हो, झुठा ठहरिएमा कानुन बमोजिम सहूँला–बुझाउँला ।’

हो, यही बुँदा पढिसकेपछि आफूले न्याय पाउने विश्वासका साथ कुमार कट्टेल अहिले कानुनी उपचारमा लागेका छन् । आशा गरौं– उनले न्याय पाउनेछन् । नत्र यहाँ मान्छेले जिन्दगीभर मेहनत गरेर बनाएको सिर्जना पैसा हुनेहरुले सेकन्डभरमा लिएर जाने क्रम संस्थागत हुनेछ । र, एक दिन ‘कोकाकोला’ कम्पनीले कुमार कट्टेल ‘जिग्री’ लाई नै उल्टै पत्र काटेर भन्नेछ– ‘यो हाम्रो ब्रान्डको नाम हो, तैंले किन प्रयोग गरिस् ?’ यदि त्यस्तो भयो भने लाखौं ‘जिग्री’ हरु आफ्नो कर्म छाडेर विदेशिन बाध्य हुनेछन् किनकि यहाँ ‘कमेडियन’ हरुको सिर्जनाको ‘कपिराइट’ का पक्षमा बोल्ने कोही छैनन् ।

आचार्य ‘भद्रगोल’ श्रृंखलाका श्रृंखला–निर्देशक एवं चर्चित पात्र ‘काकु’ को भूमिका निभाउने कलाकार हुन् । उनी न्युजकोसेली डटकममा पनि आबद्ध छन् । – सम्पादक ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर