newskoseli.Com

विप्लवका छोरा प्रकाशले प्रधानमन्त्री ओलीलाई लेखे मार्मिक पत्र (पूर्णपाठ)

सरकाले ‘प्रतिबन्ध ’लगाएको नेपाल कम्युनिस्ट पार्टीका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ का छोरा प्रकाश चन्द यतिबेला मेडिकल शिक्षाका बेथितिहरू हटाउने आन्दोलनको अगुवाइ गरिरहेका छन् । चितवनमा डाक्टरी पढिरहेका प्रकाशसहित केही विद्यार्थीलाई सरकारले केही दिन अघि गिरफ्तार गरेको थियो । गिरफ्तारीमुक्त हुनासाथ उनी आफ्नो टोली लिएर मेडिकल शिक्षा क्षेत्र सुधार्ने अभियानमा ऐक्यबद्धता जुटाउन राजधानी आएका छन् ।

उनै प्रकाशले प्रधानमन्त्री केपी ओलीलाई सम्बोधन गरेर एउटा खुला पत्र लेखेका छन् । यस्तो छ प्रधानमन्त्रीलाई विप्लवका छोरा प्रकाशको खुला पत्र–

सम्माननीय प्रधानमन्त्रीज्यू,
नमस्कार ।
तपाईंको सु–स्वास्थ्यको कामना ।

मेरो नाम प्रकाश चन्द । म अहिले चितवन मेडिकल कलेजमा एमबीबीएस इन्टर्नसिप गर्दैछु । वैचारिक हिसाबले म पनि एक सच्चा कम्युनिस्ट सेवक हुँ । पारिवारिक हिसाबले म ‘प्रतिबन्धित’ नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ को छोरा हुँ ।

विभिन्न सञ्चार माध्यममार्फत् तपाईंको स्वास्थ्य अवस्थाबारे जानकारी लिइरहेको हुन्छु । तपाईंका अभिव्यक्ति पनि सुन्छु । म आफैं स्वास्थ्य क्षेत्रमा भएकाले पनि होला, तपाईंको स्वास्थ्य अवस्थाबारे अलि बढी नै चासो दिन्छु । तपाईंको स्वास्थसँगै मुलुकमा स्वास्थ्य सेवाको स्थितिप्रति पनि हामी चिन्तित छौं । मुलुकमा स्वास्थ सेवाको स्थिति भयावह र विकराल नै छ । त्यस्तै समस्याग्रस्त छ, चिकित्सा शिक्षा ।

विद्यार्थीहरूले भोगिरहेको यही चिकित्सा शिक्षाको समस्यालाई लिएर सम्माननीय प्रधानमन्त्रीज्यू, तपाईंलाई यो पत्र लेख्दैछु । यो संवेदनशील विषयमा तपाईंलाई पूरै जानकारी नहुन सक्छ । तपाईंलाई यो विषयको सही जानकारी नगराइएको पनि हुन सक्छ । विषयवस्तु तोडमोड गरिएको पनि हुन सक्छ । किनभने, मेडिकल शिक्षा क्षेत्रका माफिया धेरै बलिया छन् । उनीहरू सही मुद्दालाई गुमराहमा पार्ने क्षमता राख्छन् । सत्तामा भएका मानिसहरूसँगको मिलिभगतमै उनीहरूले यस्तो गरिदिन्छन् ।

मैले ‘माफिया’ भनेको के हो सुनेको थिएँ, थाहा भने थिएन । चितवन मेडिकल कलेजलगायत देशैभरिका निजी मेडिकल कलेजहरूमा विद्यार्थीमाथि चरम शोषण हुन थालेपछि मैले ‘माफिया’ भनेको के रै’छ भनेर खोजें । हामीमाथि दमन भएपछि पनि खोजें । माफिया इटलीबाट उत्पत्ति भएको शब्द रै’छ । माफियाको प्रभाव सडकदेखि सत्तासम्म हुँदो रहेछ । उनीहरूको पहुँच कर्मचारी, प्रशासन, प्रहरी, राजनीतिज्ञ– सबैसम्म हुँदो रहेछ । सत्ता पनि उपयोग गरेर उनीहरू आफ्नो स्वार्थ पूरा गर्दा रहेछन् । उनीहरू विरूद्धका आवाज दबाउँदा रहेछन् ।

प्रधानमन्त्रीज्यू,
नेपालको मेडिकल माफिया पनि त्यस्तै छ । उसको पनि पहुँच व्यापक छ । उनीहरूविरूद्ध हाम्रो संघर्षले आज महिना दिन नाघ्यो । पठनपाठन नै रोकिएको दुई साताभन्दा बढी भइसक्यो । दिनहुँजसो विरोधसभा चलेको छ । प्रहरी–प्रशासनले हामीलाई न्याय दिनुको सट्टा उल्टो दमन गरेको छ । यो अवधिमा हामीलाई धेरै पटक प्रहरीले लाठी हाने । लगेर थुने । धेरै धम्की आयो ।

अझै विडम्बना नै भनौं प्रधानमन्त्रीज्यू, ‘समाजवादउन्मूख’ सरकारको प्रधानमन्त्रीको कार्यालय, शिक्षा मन्त्रालय, स्वास्थ्य मन्त्रालय, त्रिभुवन विश्वविद्यालय, डिनको कार्यालय, चिकित्सा शिक्षा आयोग र चिकित्सा शिक्षाको संसदीय समितिको वरपर लहरै बसेर मेडिकल माफियाले विद्यार्थीको आवाज दबाइरहेका छन् ।

हामी हाम्रो कुरा भन्दा जाँदा सरोकारवाला निकाय किन माफियाको खल्तीमा लुके झैं गर्छन् ? किन हाम्रो कुरा सुन्दैनन् ? आम नागरिकले तिरेको करको पैसाले चलेको न्यायालय, प्रशासन र सरकारी निकायलाई उनीहरूले पनि ठूलो वैकल्पिक बजेट छुट्याउँछन् कि के हो, हाम्रो कुरै सुन्दैनन् । हामीलाई न्याय दिँदैनन् । हामी विद्यार्थीले त अन्याय भयो भन्ने ठाँउ पनि पाएनौं ।

प्रधानमन्त्रीज्यू,
तपाईंकै मन्त्रिपरिषदले एमबीबीएस, नर्सिङ पढ्ने विद्यार्थीले मेडिकल कलेजलाई कति शुल्क तिर्ने भनेर अंक तोकेको छ । विद्यार्थी भर्ना हुन कलेज पुग्दा ‘सरकारले तोकेको शुल्कले हुँदैन, तिमीहरू थप पैसा तिर’ भन्छन् । ‘तिमीहरूले नतिरे अर्काले तिर्छ, सिट सीमित छ’ भन्छन् । विद्यार्थी र अभिभावकलाई चेपुवामा पारेर अतिरिक्त शुल्क तिराउँछन् ।

यसरी एमबीबीएस पढ्ने एक जना विद्यार्थीबाट १२ लाख रुपैयाँ ठगिएको छ । १०० जना विद्यार्थी भर्ना हुँदा वर्षेनि १२ करोड भयो । यो एक किसिमको डकैती नै हो । किनभने, यो प्रहरी–प्रशासन, न्यायालय र सरोकारवाला निकायका अगाडि हाकाहाकी गरिएको छ । कुनै डरविना, निसंकोच गरिएको छ ।

गण्डकी मेडिकल कलेजमा हाम्रा विद्यार्थी साथीहरूले झन्डै दुई महिना आन्दोलन गरेपछि मेडिकल कलेजहरूले लिएको शुल्क फिर्ता गर्न शिक्षा मन्त्रालयले लिखित निर्देशन दियो । त्यो निर्देशन दिएको आज छ महिनाभन्दा बढी भयो, कार्यान्वयन भएको छैन । मेडिकल माफियाहरू त ‘शिक्षा मन्त्रालयको निर्देशन नै अवैधानिक हो’ भन्दैछन् ।

यहाँ माफिया वैधानिक, सरकार अवैधानिक हो र ?

यही ताल हो भने प्रधानमन्त्रीज्यू, नेपालको चिकित्सा क्षेत्र तपाईंले सोचेजस्तो ‘सागरमाथा हेर्दै औषधि खाने र सगरमाथाको काखमा शल्यक्रिया गर्ने विश्वको उदाहरणीय क्षेत्र’ बन्न सक्दैन । लूटतन्त्रको उदाहरण भने यो अहिले नै बनिसक्यो ।

प्रधानमन्त्रीज्यू,
हामी हृदयदेखि तपाईंलाई अनुरोध गर्न चाहन्छौं– कृपया, यो पत्रलाई अन्यायमा परेका विद्यार्थीको उजुरी मानेर तपाईंले पहल गरिदिनोस् । सबै सरोकारवाला निकाय र पीडित विद्यार्थीलाई सँगै राखी हामीलाई न्याय दिनुहोस् । विद्यार्थी र अभिभावकलाई मेडिकल माफियाको पञ्जाबाट छुटकारा दिलाइदिनुहोस् । तपाईंमा अडिएको हाम्रो आशालाई मर्न नदिनुहोस् । नत्र न्याय मर्नेछ, देश मर्नेछ ।

अन्यायमा परेका विद्यार्थीहरूको प्रतिनिधि
प्रकाश चन्द

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर