
राजधानीको गौशाला नजिकै तिलगंगामा निर्मित नेपाल–भारत मैत्री पशुपति धर्मशाला अब छिट्टै नै सञ्चालनमा आउने भएको छ । ०७५ भदौमा प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले संयुक्त रुपमा उदघाटन गरेको सो धर्मशाला सञ्चालनको जिम्मेवारी पोखरास्थित होटल आनन्द म्यानेजमेन्टले पाएको छ ।
नेपाल–भारत मैत्रीको एक उपहारस्वरुप भारत सरकारको सहयोगमा निर्मित सो धर्मशालालाई निजी क्षेत्रका व्यापारीको जिम्मामा सुम्पेर ‘होटल’ बनाउन लागिएको भनेर समेत टिप्पणी गर्न थालिएको छ । न्युजकोसेलीको जिज्ञासामा पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालले भने– ‘कुरा त्यसो होइन, नेपाल सरकारको पर्यटन मन्त्रालय मातहतको स्वायत्त संस्था होटल व्यवस्थापन तथा पर्यटन तालिम केन्द्रको परामर्शमा हामीले सार्वजनिक खरिद ऐनका प्रावधानहरुको पालना गर्दै आह्वान गरेको प्रतिस्पर्धात्मक टेन्डरअनुसार होटल आनन्दले धर्मशालाको सुव्यवस्थित सञ्चालन र व्यवस्थापन गर्ने जिम्मेवारी पाएको हो ।’
लिफ्टसहितका कतिपय नयाँ संरचनाहरु थप गर्नेलगायत शुद्ध साकाहरी भोजन मात्र खुवाउनुपर्ने, मादक पदार्थ बिक्री गर्न नपाउने, त्यहाँ बस्न आउने दर्शनार्थीहरूलाई पूर्वनिर्धारित शुल्कमा मात्रै सेवा उपलब्ध गराउनुपर्नेलगायतका स्पष्ट शर्तहरूको आधारमा मात्रै निजी क्षेत्रको सो कम्पनीले १० वर्षका लागि सञ्चालनको जिम्मेवारी पाएको सदस्य सचिव डा. ढकालले जानकारी दिए ।
१९ रोपनी क्षेत्रफलमा रहेको सो धर्मशालामा ८० वटा कोठा छन् । सो भवनका कोठाहरुलाई सुविधासम्पन्न होटलकै स्तरका बनाएर कम्तिमा ७ करोड रूपैयाँ खर्च गरेपछि मात्रै सेवा सञ्चालन सुरू हुने व्यवस्थापन जिम्मा लिने पक्षको भनाइ छ । धर्मशाला सञ्चालन गरे वापत होटल आनन्दले पशुपति क्षेत्र विकास कोषलाई वार्षिक रूपमा १ करोड ५४ लाख १ हजार ६ सय १८ रुपैयाँ भाडा तिर्नुपर्ने बताइएको छ । धर्मशाला सञ्चालनबाट आर्जित रकमको कम्तिमा ५ प्रतिशत रकम व्यवस्थापन पक्षले सामाजिक सेवामा खर्च गर्ने बताइएको छ ।
‘पशुपति भवन’ नाम दिइएको सो धर्मशाला यथासम्भव यसै वर्षको दीपावलीदेखि सञ्चालनमा आउने तथा त्यहाँ बस्ने दर्शनार्थीहरूले काेठा र सुविधा अनुसार प्रतिदिन प्रतिव्यक्ति न्यूनतम ३ सय ५० रूपैयाँदेखि अधिकतम ३ हजार ९ सय ९९ रूपैयाँ अर्थात् १ हजार ८ सय भारतीय रूपैयाँ तिर्नुपर्ने व्यवस्था गरिएकाे जानकारी पशुपति क्षेत्र विकास कोषका प्रशासकीय अधिकृत गौरीशंकर पराजुलीले दिएका छन् । सो धर्मशालामा करिव १ सय ५० जनाले रोजगारी पाउने छन् व्यवस्थापन पक्षको भनाइ छ ।