newskoseli.Com

तिहारको मुख्य आकर्षण यसपत्री फूल : यसरी उमारिन्छ, हुर्काइन्छ र फूलाइन्छ

तिहारमा विशेषगरी सयपत्री र मखमली फूलको माला बढी खपत हुन्छ । केही गोदावरीको खपत हुन्छ । यो फूलैफूलको पर्व हो । माला मात्रै होइन, दसैं–तिहार नजिकिँदै गर्दा घर तथा गार्डेनमा समेत सयपत्री र मखमली तथा गोदावरी फूल रोपेर सजाउने नेपालीको परम्परा रहँदै आएको छ । विशेषगरी दसैं–तिहारमा गाउँघरका फूलबारी होऊन् वा आधुनिक सहरिया घर तथा गार्डे नै किन नहोऊन्– अधिकांशले सयपत्री फूलाएको देखिन्छ ।

सयपत्री र मखमली नेपालमा सर्वाधिक रुचाइने फूलमध्येमा पर्छ । चाडपर्व, पूजापाठ तथा कुनै उत्सवमा सजाउन होस् वा अन्य कार्यमा नै किन नहोस्, नेपालमा सयपत्रीको धेरै प्रयोग हुन्छ; अझ तिहारमा त यसको माग उच्च हुने गरेको छ नै । हेर्दा आकर्षक र फूलाउन पनि सहज हुने भएकाले नेपालमा यो फूलको माग भएको देखिन्छ ।

के हुन् उमार्ने, सार्ने र फूलाउने सही टेक्निक्स ?

सयपत्री फूल फुल्दा जति सुन्दर तथा आकर्षक देखिन्छ, यस फूललाई फूलाउन त्यत्तिकै मेहनत गर्नुपर्छ । राम्रो र सुन्दर सयपत्री फूलाउन बिरुवा रोप्दादेखि नै विशेष ध्यान दिनुपर्ने हुन्छ । सानै बिरुवा स्वस्थ नभए रामो फूल फुलाउन मुश्किल पर्छ । त्यसैले सानै बिरुवा रोप्दादेखि नै हावापानी र मलजलमा विशेष ध्यान दिनुपर्छ ।

बिरुवा रोप्दा त ध्यान दिनै पर्‍यो, बिऊ छनौट गर्दा नै स्वस्थ र सही बिऊको छनौट गनुपर्ने हुन्छ । सुन्दर र आकर्षक सयपत्री फूलाउन तीन पटक मल हाल्नु आवश्यक हुन्छ । ब्याडबाट सारिसकेपछि ठूलो पोलीमा सार्दा, कोपिला लाग्दा र फूल फूलेको समयमा मल हाल्नुपर्छ । विशेषगरी व्यावसायिक रुपमा गरिएको सयपत्रीको मधुमासमा बिऊ हालिन्छ । यसमा उम्रन सहज हुन्छ, बिऊ खेर जाँदैन । मधुमास भनेको नरिवलको जट्टा पिसेर बनाइएको एक प्रकारको धुलो हो ।

सामान्यतः हाइब्रिड जातका सयपत्रीको बिऊ हालिएको चार दिनमा उम्रन्छ । बिऊ उम्रिएपछि सानो पोलीमा सारिन्छ । बिऊ उम्रेको चार दिनपछि सानो पोलीमा सारिन्छ । सानो पोलीमा सारेको करिव दस दिनमा ठूलो पोलीमा सारिन्छ । बिऊ हालेको ७५ दिनमा सयपत्री फुल्न थाल्छ ।

घामपानी मिलेको अवस्थामा गमला तथा गार्डेनमा रोपेको होचो जातको हाइब्रिड सयपत्रीलाई दुईदेखि तीन महिनासम्ममा राम्रो फूलाउन सकिन्छ । यसरी हेर्दा फुलिसकेको सयपत्रीलाई पनि राम्रै टिकाउन सकिन्छ । फूल फुलिसकेपछि भने फूलको थुँगामा पानी हल्नुहुन्न । फूलको थुँगामा पानी परेको खण्डमा फूल कुहिने तथा नटिक्ने समस्या हुन्छ ।

अग्लो जातको माला उन्ने किसिमको सयपत्रीलाई भने पाँच महिनासम्म राम्रो फूलाउन सकिन्छ । सानोमा धेरै मल हाल्नुहुन्न । सानैमा धेरै मल हाल्दा बिरुवा मर्ने जोखिम हुन्छ । हल्का नजानिँदो गरी सानोमा मल हाल्न सकिन्छ । तर, विशेषगरी ठूलो पोलीमा सार्दा भने राम्रोसँग मल हाल्नुपर्छ । ठूलो पोलीमा सार्दा प्रतिबोट एकदेखि दुई चम्चासम्म मल हाल्न सकिन्छ । पिना मल एक चम्चा हाल्न सकिन्छ भने गाईको पुरानो भएर पाकेको मल एक मुठीसम्म हाल्न सकिन्छ ।

राम्रो सयपत्री फूलाउनका लागि ब्याडबाट सानो पोलीमा बिरुवा सार्दा नै मल र माटोको सन्तुलन मिलाउनुपर्छ । एक बोरा माटोमा चार बोरा धानको भुसको खरानी मिसाउन सकिन्छ । जुन नर्सरीमा पाइन्छ । काठमाडौंलगायत सहरी क्षेत्रका नर्सरीमा उत्पादन गरिएका सानो पोलीको सयपत्रीको बिरुवा प्रतिगोटा २० रुपैयाँ पर्छ भने ठूलो पोलीको ४० रुपैयाँ पर्छ । तिहारको समयमा सयपत्रीको एउटा मालाको औसत मूल्य ७० रुपैयाँ पर्छ । मखमलीको माला औसत ३० रुपैयाँमा पाइन्छ भने गोदावरीको माला दुई सय रुपैयाँभन्दा बढी पर्छ ।

यो हो सयपत्रीमैत्री वातावरण !

सयपत्री फूलाउन सफा तथा स्वच्छ हावापानीको आवश्यकता हुन्छ । स्वच्छ हावापानीमा बिरुवा स्वस्थ हुनुका साथै राम्रो फुल्छ । सयपत्री फूलाउन मात्रै होइन, फूलेको फूल टिकाउन पनि मलजलमा विशेष ध्यान पुर्‍याउनुपर्छ । न त धेरै पानी हाल्नु हुन्छ त सुख्खा नै हुन हुन्छ । ५० प्रतिशतभन्दा चिस्यान घट्न दिनुहुन्न । हातका औंलाले माटो खोतल्दा दुई इन्चभन्दा तल चिसो हुनुपर्ने विशेषज्ञको सुझाव छ ।

सामान्यतः नेपालमा माघ महिनादेखि मंसिर–पुससम्म राम्रो सयपत्री फूलाउन सकिन्छ । वर्षातको सिजनमा भने पानीले केही बिगार्न सक्छ । वर्षातको सिजनमा पनि पानी नजम्ने ठाउँमा राम्रै सयपत्री फूलाउन सकिन्छ । अन्य मौसमको तुलनामा वर्षातमा भने सयपत्रीको बोट केही अग्लो हुन्छ । फूल कम टिक्छ । गर्मीमा फूलको जरा पनि धेरै फैलिन्छ । गर्मी सिजनमा जमिनमा सयपत्री रोप्दा करिव १५ इन्चको दुरीमा रोप्नुपर्छ । जाडोमा भने कम जरा फैलने भएकाले १२ इन्चको दुरीमा रोप्न सकिन्छ । त्यसैगरी, गमलामा रोप्दा जाडो मौसममा आठ इन्चको गमलामा पनि राम्रो सयपत्री फूलाउन सकिन्छ भने गर्मी मौसममा १०–१२ इन्चको गमलामा रोप्नु उचित हुन्छ ।

वर्षातको समयमा भने पानी जम्ने किसिमका ठाउँमा नरोप्न वनस्पतिविज्ञको सल्लाह छ । वर्षातको सिजनमा जमिन तथा गार्डेनमा रोप्दा पानी जम्ने ठाउँ भए ड्याङ बनाएर रोप्न हर्टिकल्चर विशेषज्ञको सुझाव छ ।  अफ्रिकन र बोनन्जा भेराइटीका सयपत्रीले भने तुलनात्मक रुपमा पानी सहने भएकाले यी जातका फूल वर्षातको सिजनमा पनि राम्रै फूलाउन सकिन्छ । ‘इन्का’ जातको सयपत्रीले भने धेरै पानी सहँदैन । धेरै पानी भएको अवस्थामा कुहिने जोखिम हुन्छ ।

सयपत्री नेपालको तराईदेखि पहाडी र हिमाली भू–भागसम्म फूलाउन सकिन्छ । आठदेखि ४० डिग्रीसम्मको तापक्रममा सयपत्री फूलाउन सकिने हर्टिकल्चर विशेषज्ञ बताउँछन् ।

यसरी बचाउने रोगबाट

सयपत्रीलाई जोगाउन बिरुवाबाटै स्याहारसुसार त गर्ने प¥यो । सयपत्रीमा रोगको संक्रमण हुने जोखिम त्यत्तिकै हुन्छ । रोग नलाग्नका लागि सानैबाट विषादीको प्रयोग गर्न सकिन्छ । सयपत्रीलाई रोग तथा कीराले दुःख दिन्छ । यसलाई झुसिलकीरा, फंगजको इत्यादिको पनि त्यत्तिकै समस्या हुन्छ । कीराको व्यवस्थापनका लागि १५–१५ दिनमा एक लिटर पानीमा डेढ एमएल मिलाएर ‘इमिराक्लोफिड’ तीन पटक छर्नुपर्छ । यसरी विषादी छर्दा लिफमाइनर, पात जोत्नेजस्ता कीराबाट बिरुवालाई बचाउन सकिन्छ । फूललाई जोगाउन ‘रेक्ट्राकोनोजोल’ जस्ता विषादी पनि प्रयोग गर्न सकिन्छ ।

बिरुवा सानै छँदादेखि नै विषादी हाल्दा बिरुवालाई विभिन्न रोगबाट बचाउन सकिने रोजडेलका राई बताउँछन् । बजारमा रोगको प्रकृति अनुसारका विषादी पाइन्छन् । नर्सरी व्यवसायीले मात्र होइन, घर तथा गार्डेनमा सयपत्री रोप्नेले समेत विषादीको प्रयोग गरेर सयपत्रीलाई स्वस्थ र सुन्दर तवरमा फूलाउन सकिन्छ । फूलकाे स्वास्थ्य र सुन्दरता अभिवृद्धिका लागि अर्ग्यानिक किसिमका विषादी पनि प्रयोग गर्न सकिन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर