newskoseli.Com

पत्रकार : ‘मन्त्रीज्यू, काठमाडौंको जाम कहिले खुल्छ ?’ मन्त्री : ‘७ ठाउँमा अण्डरपास बनाइँदैछ, त्यसपछि खुल्छ’

‘मन्त्रीज्यू, म कलङ्कीमा बस्छु, काम गर्न सिंहदरबार जाँदै गर्दा कालीमाटीमा जहिल्यै लामो समयसम्म जाममा बस्नुपर्छ, काठमाडौंमा यस्ता जाम हुने ठाउँहरु धेरै छन्, यी जामहरु कहिले खुल्छन् होला ?’

काठमाडौंको जाम सम्झिएर दिक्क मान्दै एक पत्रकारले सोधेको उक्त प्रश्नको जवाफमा भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले काठमाडौंको जाम समाधानका लागि सरकारले सात स्थानमा अण्डरपासको तयारी गरिरहेको जवाफ दिए । मन्त्री महासेठले भने– ‘काठमाडौंको जाम समाधान गर्न हामीले गौशाला, कोटेश्वर, चाबहिल, थापाथली र नयाँ बानेश्वरलगायतका स्थानमा अण्डरपासको व्यवस्था गर्न काम अगाडि बढाएका छौं ।’

‘काठमाडौंका सडकमा खानेपानीको पाइप गाडेर कहिले सकिन्छ ? एउटाले बाटो बनाउँदै जान्छ, अर्कोले पाइप राख्ने भन्दै फेरि खन्दै जान्छ, यस्तो प्रक्रिया कहिलेसम्म चल्छ मन्त्रीज्यू ?’ शनिबार राजधानीमा आयोजित साक्षात्कारमा पहिलो प्रश्नको पूरा जवाफ दिन नपाउँदै मन्त्रीसमक्ष ती पत्रकारले फेरि अर्को प्रश्न तेर्स्याए । मन्त्रीको जवाफ थियो– ‘जसले बाटो खनेर पाइप बिछ्याउने काम गर्छ, उसले नै तत्काल त्यो बाटो पुरेर कालोपत्रै गर्नुपर्ने कडा निर्देशन हामीले दिएका छौं र त्यहीअनुसार काम भइरहहेको छ; त्यसको दीर्घकालीन समाधानका लागि सम्बन्धित निकायसँग पनि छलफल भइरहेको छ ।’ काठमाडौं सहरलाई व्यवस्थित पार्नका लागि पुल र सडक निर्माणको काम भइरहेको मन्त्री महासेठले बताए ।

विगतको तुलनामा वर्तमान सरकार पूर्वाधार, आर्थिक विकास, शान्ति सुरक्षा र पर्यटन विकासका क्षेत्रमा जनताको चाहनाअनुसार नै अगाडि बढिरेहको मन्त्री महासेठले बताए । ‘सरकार प्रत्येक दिन एक कदम अगाडि बढेको छ, सडक निर्माणदेखि पुल निर्माणसम्म सरकार तदारुकताका साथ अगाडि बढिरहेको छ, यो आर्थिक वर्षमा ३ सय वटा पुल निर्माण गर्ने सरकारको लक्ष्य छ’– उनले भने ।

हुलाकी राजमार्ग, महेन्द्र राजमार्ग र मदन भण्डारी राजमार्गलगायत राष्ट्रिय गौरवका आयोजनामा द्रूत गतिका काम भइरहेको जानकारी दिँदै रेलका बारेमा पनि लक्ष्यअनुरुप नै काम अगाडि बढिरहेको मन्त्री महासेठले बताएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर