newskoseli.Com

८ वर्षपछि पूजाले बल्ल पाइन् न्याय : यस्तो छ बोहराको कहालीलाग्दो कथा…

तस्बिरः reuters.com

२०६८ मा सामूहिक बलात्कारको शिकार भएकी बैतडीकी बालिका पूजा बोहराले अन्ततः न्याय पाएकी छन् । एसएलसीको परीक्षा दिन आफ्नै ठूलाबुबाकी छोरीको घरमा बस्दै आएकी पूजा २०६८ चैत ९ मा बलात्कारमा परेकी हुन् ।

यस्ताे छ घटनाकाे नालीबेली…

पाटन नगरपालिका– १ (साविकको कैलपाल गाविस) बाट उनी पाटन बजारस्थित श्रीकृष्ण उच्च माविमा परीक्षा दिन पुगेकी थिइन् । १४ वर्षीया पूजा एसएलसीको गेसपेपर किन्न पसलमा जाँदा पसलेहरुबाटै सामूहिक बलात्कारको शिकार भएकी थिइन् । जगन्नाथ पुस्तक पसलका सञ्चालक २३ वर्षीय सागर भट्ट र चाँदनी फोटो स्टुडियोका सञ्चालक ३० वर्षीय अमर अवस्थीले उनीमाथि कुकृत्य गरेका थिए ।

सर्वोच्च अदालतले उनीहरु दुवैलाई दोषी ठहर गरेको छ । आफूले ढिलै भए पनि न्याय पाएको प्रतिक्रिया सर्वोच्चको फैसलापछि पूजाले दिएकी छन् । उनले भनिन्– ‘न्याय पाउँछु भन्ने आश मरिसकेको थियो, ढिलै भए पनि न्याय पाएँ ।’

गेसपेपर किन्न गएकोसम्म याद छ उनलाई । र, त्यसपछि के भयो भन्ने थाहा छैन । उनले भनिन्– ‘गुमेको होस काठमाडौंमा उपचारपछि बल्ल आयो; जीवनमा सबै थोक गुमाएको जस्तो लाग्छ ।’ जिल्ला अदालतले आफ्नो पक्षमा फैसला गर्दा निकै खुशी लागेको बताउँदै पूजाले भनिन्– ‘न्यायको खुशी साट्न नपाउँदै फेरि पुनरावेदनमा जानुपर्‍यो ।’

६ भाइबहिनीमध्ये चौथो सन्तान हुन् पूजा । आमाबुबाले घरमै खेतीकिसानी गरेर छोराछोरी पढाइरहेका थिए । पूजाका बुबा रामसिंहले भने– ‘छोरीलाई पढाएर ठूलो मान्छे बनेको हेर्ने धोको थियो, बीचमै यस्तो घटना घट्यो; आठ वर्षपछि न्याय पाउन सकें, खुशी छु ।’

कसरी बिताइन् हालसम्मकाे दिनचर्या ?

घरपरिवारको आर्थिक अवस्था पनि कमजोर थियो तर पनि उनले जीवनदेखि हार खाएनन्; लड्दै गए । सर्वोच्चमा लामो समय मुद्दा लम्बिँदा पूजाले धेरै व्यवधानको सामना गर्नुपर्‍यो । काठमाडौंमा ६ वर्षसम्म ‘रक्षा नेपाल’ नामक संस्थाले जिम्मेवारी लिएको भए पनि पछि सो संस्थाले आफूमाथि गलत दृष्टिकोणले हेरेको पूजाको दुःखेसो छ । ‘मलाई उक्त संस्थाले पढाइ र बासको व्यवस्था गरेको थियो,’ उनले भनिन्– ‘पछि केही दिन मसाज सेन्टरमा काम गर्ने केटीका कोठामा राखिदियो ।’

पूजा अहिले कानुन विषय लिएर स्नातक चौथो वर्षमा पढिरहेकी छन् । उक्त संस्थाबाट निस्किएर उनी विगत दुई वर्षदेखि होस्टलमा बस्दै आएकी छन् । कलेज पढ्दा सात महिनासम्म शुल्क तिर्न नसकेको स्मरण गर्दै उनले भनिन्– ‘कलेजमा पनि सबै कुरा भन्नुपर्थ्यो, म यस्तो समस्याबाट यहाँसम्म आइपुगें भनेर ।’ दुई वर्षदेखि घरपरिवार र दाङको तुलसीपुर घर भई हाल अमेरिका बस्दै आएकी लीला डाँगीले आफूलाई सहयोग गर्दै आएको उनले बताइन् ।

पूजा अझै पनि समाजमा घुलमिल हुन सकेकी छैनन् । समाजले आफूमाथि अझै पनि गलत दृष्टिले हेर्न गरेको उनले सुनाउँदै उनले भनिन्– ‘घरबाहिर निस्कन समेत गाह्रो हुने गरेको छ; दोषीलाई कैद सजाय र जरिवाना भर्न लगाएर मात्रै मैले न्याय पाउँदिनँ, समाजमा पुनर्स्थापनाको ग्यारेन्टी हुनुपर्छ ।’

बलात्कार भएपछि घरपरिवार सबै छाड्नुपर्ने, गाउँ–समाजमा फर्किएर सामान्य रुपले जीवन जिउन नसकिने उनको अनुभव छ । अदालतले न्याय दिन ढिलो गरेको गुनासो गर्दै उनले भनिन्– ‘न्याय दिने कुरा त छिटो गर्नुपर्छ, न्यायमा राजनीति हुनुहुँदैन ।’ काठमाडौंस्थित चक्रवर्ती कानुन कलेजमा स्नातक चौथो वर्षमा अध्ययनरत पूजाको न्यायालयमै जागिर खाने उद्देश्य छ ।

मुद्धाकाे नालीबेली

गेसपेपर किन्न स्टेसनरी पसलमा पुगेकी उनलाई लागू पदार्थ मिसाइएको मिठाइ ख्वाएर बेहोस बनाई २०६८ चैत ९ मा बलात्कार गरिएको थियो । बलात्कृत बोहरा पसल नजिकैको नालीमा अचेत अवस्थामा फेला परेकी थिइन् । घटनापछि प्रहरीले जाहेरी लिन मानेन । विद्यालयका प्रधानाध्यापक र व्यवस्थापन समितिका अध्यक्षले जाहेरी दिए तर पनि प्रहरीले लिन मानेन । विद्यार्थीले बजार बन्द गरेपछि मात्रै प्रहरीले उनीहरूलाई पक्राउ गर्‍यो र मुद्दा चलायो । बोहराका तर्फबाट २०६८ चैत १० मा प्रहरीमा उजुरी हालिएको थियो ।

बलात्कारपछि मानसिक सन्तुलन गुमाएकी बोहराको उपचारपछि घटनाको तथ्य बाहिर आएको थियो । अपराधी भट्ट र अवस्थीविरुद्ध बैतडी जिल्ला अदालतमा जबर्जस्ती करणीको मुद्दा दर्ता भएको थियो । बैतडीका जिल्ला न्यायाधीश हिमालयराज पाठकको एकल इजलासले अभियुक्तद्वय भट्ट र अवस्थीलाई दोषी ठहर गर्दै १३ वर्ष कैद र जनही ५०–५० हजार रुपैयाँ जरिवाना तोकेको छ ।

बैतडी जिल्ला अदालतले गरेको सो फैसलालाई पुनरावेदन अदालत महेन्द्रनगरका न्यायाधीशद्वय नरबहादुर शाही र रमेशप्रसाद राजभण्डारीको संयुक्त इजलासले २०७१ वैशाख १५ मा उल्ट्याउँदै अभियुक्तद्वयलाई ‘निर्दोष’ बताएको थियो । फेरि सर्वोच्च अदालतमा पुगेर त्यो फैसला उल्टियो ।

७ कात्तिक, २०७६ मा सर्वोच्चका न्यायाधीशद्वय सपना प्रधान मल्ल र हरिप्रसाद फुयाँलको संयुक्त इजलासले जिल्ला अदालतको फैसलालाई नै सदर गरिदिएपछि उक्त मुद्दाको किनारा लागेको छ । यसबाट बल्ल पीडित पूजा बोहराले न्याय पाएकी छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर