newskoseli.Com

भेडा जुधाएर बहादुरी : अनौठो ‘गुरुवागाउँ मेला’ को कथा

नेपालगञ्ज उपमहानगरपालिका– १९, वसुदेवपुरका घनश्याम बारी गाउँबाट तीन वटा भेडा लिएर गुरुवागाउँ मेला पुगेका छन् । बाँकेको जानकी गाउँपालिका– ५, बेलहरीमा प्रत्येक वर्ष लाग्ने मेलामा ३० वर्षदेखि नियमित भेडा जुधाउन आउने गरेका घनश्याम यस वर्ष आफ्नो भेडाले लडाइँ जित्नेमा आशावादी देखिन्छन् ।

‘लडाइँ जितेपछि सयको पाँच सयका दरले तुरुन्तै मूल्य बढिहाल्छ,’ गुरुवागाउँ मेलामा भेडासहित भेटिएका घनश्यामले भने– ‘सानोले आफूभन्दा ठूलालाई हान्न लाग्यो भने १० हजार रुपैयाँ छ भने त्यसको मूल्य २५–३० हजार भइहाल्छ ।’

डुडुवा गाउँपालिका– ४ बाट भेडा जुधाउन आएका दौलतप्रसाद यादव भने भेडा लडाउने खेल सोखका लागि हुने गरेको बताउँछन् । ‘भेडा लडाउने हाम्रो सोख हो, पाल्ने, लडाउने, हारेपछि बगरेलाई दिने,’ यादवले भने– ‘लाडकु भेडा पाल्न धेरै मेहनत र खर्च लाग्ने भएकाले सबैले गर्न सक्दैनन्, मेलामा लडाउनका लागि मात्रै पाल्ने हो ।’

उनका अनुसार दुई वर्षभन्दा बढी समयसम्म पालेर लडाकु बनाइएका भेडालाई गुरुवागाउँ मेलामा लडाउन ल्याउने गरिएको छ । एउटा लडाकु भेडाको मूल्य कम्तिमा २० हजार रूपैयाँ पर्दछ । भेडा जुधाउने खेल यहाँका गाउँलेको सोख बनिसकेको छ । मेला सकिएपछि भेडाको जितसँगै भेडा पाल्ने किसानको नाम र गाउँको चर्चा चल्ने भएकाले ऋण गरेर भए पनि भेडालाई दानापानी खुवाएर मेलामा उतार्ने गरिएको जानकी गाउँपालिका– ५ का वडाध्यक्ष एवं गुरुवागाउँ मेलाका संरक्षक रमेशकुमार वर्माको भनाइ छ ।

मेलामा भेडापालक किसानले स्वतःस्फूर्त रूपमा भेडा ल्याएर जुधाउने गरेको वर्मा बताउँछन् । केही सौखिन किसानले मेलामा जुधाउनैका लागि भेडा पाल्ने गरे पनि व्यावसायिक रूपमा भेडा पाल्ने किसान भने नरहेको उनले बताए ।

क्रमशः घट्दो भेडा जुधाउनेको सङ्ख्या

गुरुवागाउँ मेलामा भेडा जुधाउने किसानको सङ्ख्या घट्दै गएको छ । ‘२०–२२ पुग्ला भनेको, त्यो पनि भएन; यो वर्ष धेरै रमाइलो हुन सकेन,’ छिमेकी गाउँ गनापुरबाट भेडो लिएर गुरुवागाउँ पुगेका परशु धोबीले भने– ‘भेडा पाल्न सबैले छाडिसके, हामी त यही मेलाका लागि भनेर मात्रै मेहनत गर्दछौं ।’

गुरुवागाउँ मेलामा प्रत्येक वर्ष हुने भेडा जुधाइ खेल हेर्न सर्वसाधारण टाढा–टाढाबाट आउने गर्दछन् । गुरुवागाउँ मेलाको मुख्य विशेषता नै भेडा जुधाउने खेल हो । तर, यो वर्ष कम सहभागिताले भेडा जुधाइ हेर्न आएका सर्वसाधारण समेत खिन्न हुनपुगे । धेरै वर्षदेखि गुरुवागाउँ मेला हेर्दै आएका खजुरा गाउँपालिका– ३ निवासी सुमन सापकोटाले यो वर्ष भेडा जुधाइ हेर्न नपाएकामा पछुतो लागेको बताए । ‘म साँझपख पुगें, भेडा जुधाइ दिउँसै भएछ, मैले हेर्नै पाइनँ’– सापकोटाले भने ।

नेपालगञ्ज उपमहानगरपालिका– १९, वसुदेवपुरबाट भेडा जुधाइमा भाग लिन पुगेका शालिकराम प्रत्येक वर्ष आउने गरेको बताउँछन् । यो वर्ष थोरै सहभागी भएकाले धेरैले हेर्न नपाएको उनले बताए । अन्य वर्षको तुलनामा यस पटक गुरुवागाउँको मेलामा भेडा जुधाउन थोरै मात्रै आएको मेला व्यवस्थापन समितिका अध्यक्ष रामवचन कुर्मीले बताए । मेला सुरु भएदेखि नै भेडा जुधाउने खेल हुँदै आएको उनले उल्लेख गरे ।

गुरुवागाउँका ९२ वर्षीय भगौतीप्रसाद अहिर आफ्ना बाबु–बाजेका पालादेखि नै यो मेला र भेडा जुधाउने खेल हुँदै आएको बताउँछन् । ‘पहिला मेलामा अरु मनोरञ्ज गर्ने केही हुँदैनथ्यो त्यसैले भेडा जुधाउने खेल धेरै रमाइलो हुन्थ्यो,’ अहिरले भने– ‘तर अहिले भेडा लडाउने खेलमा रमाउने मान्छे कम हुँदै गएका छन् ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर