newskoseli.Com

कपाल हल्लाउँदै, मोबाइल चलाउँदै, बाटो काट्दै !

पुतलीसडकको जेब्रा क्रसिङमा मानिसको ठूलो भीड थियो । टल्कने रातो ट्राफिक स्वयंसेवकको ज्याकेट लगाएका किशोरीहरु दायाँ–बायाँ देखेपछि जथाभावी बाटो काट्ने हिम्मत धेरैले गरेनन् । बाटो काट्न खोजेकालाई किशोरीहरुले रोकिदिए । जोखिमको हेक्का नराखी कोही कपाल हल्लाउँदै र कोही मोबाइल चलाउँदै मस्तसँग बाटो काटिरहेका हुन्छन् । रोक्न खोज्दा कोहीले सहजतापूर्वक स्वीकारे पनि धेरैजसो अटेर गर्छन् ।

सुन्धाराथिस्त नेपाली सेनाको अफिसर्स क्लब अगाडिबाट गाडीको कुनै परबाह नगरी बुधबार दिउँसो केही व्यक्तिले बाटो काटे । जेब्रा क्रसिङ नभए पनि नागबेली झैं गाडी छल्दै बाटो काट्नेमा नेपाली सेना समेत सहभागी भए । सिंहदरबारको मूल गेट नजिक गाडी चल्दाचल्दै एक युवा जोखिम मोलेरै जेब्रा क्रसिङबाट गए । उनको देखासिकीमा पछि लागेका दुई युवालाई ट्राफिक प्रहरीले रोक्यो । उनीहरु प्रहरीसँग भनाभनमा लागे । ‘ती दाइ गए अनि मिल्ने रहेछ भनेर हामी पनि गएको’– प्रहरीसँग उनले भने । त्यही ठाउँमा बाटो काट्न पर्खिरहेका एक हुल मानिसबारे उनीहरुले ख्यालै गरेनन् ।

बुधबार बिहान ११ बजेको समयमा सुन्धारा, त्रिपुरेश्वर, थापाथली, पुतलीसडक, रत्नपार्कलगायतका क्षेत्रमा घुम्दा स्वयंसेवकहरु ट्राफिक व्यवस्थापनमा प्रहरीलाई सघाइरहेका देखिए । उनीहरुलाई अटेर गरेर कतिपय नियम उल्लङ्घनमा लागेको पनि देखियो । तर, जहाँ–जहाँ स्वयंसेवक छन्, त्यहाँ–त्यहाँको अवस्था भने ट्राफिक नियम पालनामा निकै प्रभावकारी भेटियो । स्वयंसेवकहरुका अनुसार बटुवाहरु कानुन मान्नै चाहँदैनन्, हतारोले जहाँ पायो त्यहाँबाट बाटो काट्न आतुर हुन्छन्; गाडीको कुनै मतबल गर्दैन् र गुडिरहेको गाडीको अन्तरबाट बाटो काट्छन् । यस्तो गतिविधि नै दुर्घटनाको कारक बन्न पुग्छ ।

‘जेब्रा क्रसिङ हाम्रो हो, जतिखेर पनि बाटो काट्न पाउनुपर्छ भन्ने सोच हुँदोरहेछ, त्यही बाटोमा गाडी पनि गुड्छ भन्ने जान्दाजान्दै हतार गर्दा रहेछन्’– पुतलीसडकमा स्वयंसेवक खटिएकी समीक्षा पुन मगरले भनिन् । सात दिनको समयमा ट्राफिक नियमबारे उनलाई पनि धेरै सिक्ने मौका मिलेको छ । अर्की स्वयंसेवक सुमिना डङ्गोलले पनि ट्राफिकको काम कति गाह्रो हुँदोरहेछ भनेर नजिकबाट महशुस गरिएको बताइन् । ‘घरी यता कुदद्नुपर्ने, घरी उता कुद्नुपर्ने, यात्रु, चालक, बटुवासँग विवाद नगरी सुखै नहुने, उभिएरै काम गरिरहनुपर्ने, अझ त्यो धुलो, धुवाँ, प्रदूषणले स्वास्थ्यमा कति समस्या होला– त्यसको त लेखाजोखा नै छैन’– उनले थपिन् ।

यात्रुहरुलाई पनि छिटो बाटो काट्नुपर्ने सवारी चालकलाई पनि छिटो जानुपर्ने कारण दुर्घटनाको ठूलो जोखिम छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले विभिन्न कलेजमा कानुन पढ्दै गरेका विद्यार्थीलाई सहभागी गराएर अहिले उपत्यकाका विभिन्न ३५ स्थानमा ३ सय ३५ ट्राफिक स्वयंसेवक खटाएको छ । बिहान र बेलुकाको सवारी चाप हुने कार्यालय समयको तीन–तीन घन्टा स्वयंसेवक खटिन्छन् । न्यून जनशक्तिका कारण जहाँतहीं ट्राफिक प्रहरी पुग्न सक्ने अवस्था नरहेकाले समुदाय–प्रहरी साझेदारीको अवधारणाअनुसार युवा, विद्यार्थी र समुदायसँग सहकार्य थालिएको महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले बताए । स्वयंसेवक अभियान प्रभावकारी देखिएकाले निरन्तरता दिने योजना बनाएको जानकारी उनले दिए ।

ट्राफिक प्रहरीको अभिलेखअनुसार पछिल्लो चार महिनामा उपत्यकामा मात्रै सवारीको ठक्करबाट २३ पैदलयात्रुको मृत्यु भएको छ । झन्डै ७ सय जना घाइते भएका छन् । कतिपय घटना पैदलयात्रुकै कारण हुने भए पनि धेरै घटनामा भने चालकको लापरबाही देखिएको महाशाखाका प्रहरी उपरीक्षक रविराज पौडेलले बताए । नियम उल्लङ्घन गर्नेदेखि बढी दुर्घटना गराउनेसम्ममा सङ्ख्याका हिसाबले मोटरसाइकल छन् । गतवर्ष भएका ४ हजार सवारी दुर्घटनामध्ये ३ हजार ७ सय दुर्घटना चालकको लापरबाहीकै कारण भएको देखिन्छ ।

नियमानुसार गाडी चलाउने हो भने झन्डै ६० प्रतिशत दुर्घटना आफैं रोकिन्छ । त्यसैले स्वयंसेवकलाई ट्राफिक नियमको पालनाका लागि खटाइएको छ । न्यून सङ्ख्यामा रहेका ट्राफिक प्रहरीलाई स्वयंसेवकले ठूलो सहयोग गरिरहेका छन् । उनीहरु जेब्रा क्रसिङबाट जथाभावी बाटो काट्न दिँदैनन्, ‘पिक एन्ड ड्रप’ मा छिटो सवारी पठाउन खटिन्छन् । स्वयंसेवकहरुले स्काई ब्रिजको प्रयोग गर्न र लेनअनुसार सवारी चलाउन प्रोत्साहित गर्दै आएका छन् भने गाडीभित्र आरक्षण सिटको दुरुपयोग रोक्न समेत खटिने गरेका छन् ।

यसअघि राष्ट्रिय युवा परिषदसँगको सहकार्यमा पहिलो चरणका स्वयंसेवक खटिएका थिए । अहिले दोस्रो चरणमा कानुनका विद्यार्थी स्वयंसेवक भएर खटिएका छन् । अर्को चरणका लागि पद्मकन्या क्याम्पस तथा रोटरी क्लबसँग कुरा भइरहेको र त्यसपछि विभिन्न सामाजिक सङ्घ–संस्थासँग सहकार्य गरिने महाशाखाले जनाएको छ । ‘यसरी खटिँदा उनीहरुले ट्राफिक प्रहरीको दुःख देख्ने हुँदा ट्राफिक नियममा गम्भीर हुन सिकाउँछ, घर–परिवारमा उनीहरुमार्फत सन्देश पुग्छ, उनीहरु आफैं पनि सच्चिन्छन्’– महाशाखा प्रमुख ढकालले भने । स्वयंसेवक भएवापत पाइने प्रमाणपत्रको हरेक ठाउँमा प्राथमिकता हुने भन्दै प्रहरीमा भर्ना हुनकै लागि पनि विशेष ग्राह्यता पाउने ढकालले बताए ।

स्वयंसेवकहरुले कसरी काम गरेका छन्, समयमा आए कि आएनन् भनेर फिल्डमा खटिएको ट्राफिक प्रहरी कमान्डरले निगरानी गर्ने गर्छन् । त्यसैको आधारमा स्वयंसेवकको मूल्याङ्कन हुन्छ । कानुनका विद्यार्थी भएकाले उनीहरु आफैंले पनि अनुसन्धान गरेर एउटा प्रतिवेदन तयार पार्ने भएकाले नयाँ रणनीति बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ । बढी सवारी चाप हुने उपत्यकाका ३५ स्थानमा स्वयंसेवक खटिएका छन् ।

यस पटक काठमाडौं स्कुल अफ ल, चक्रवर्ती अवि एजुकेसन एकेडेमी र नेसनल ल कलेजका ३ सय ५५ विद्यार्थी ट्राफिक स्वयंसेवकका रुपमा सहभागी छन् । ट्राफिक प्रहरीले असोज ५ मा पहिलो चरणअन्तर्गत ५ सय युवा परिचालन गरेको थियो । यसलाई देशव्यापी बनाउने योजना गृहमन्त्री रामबहादुर थापाले अघि सारेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर