newskoseli.Com

अण्डा बेचेर महिनामै ४ लाख आम्दानी

बागलुङ नगरपालिका– १३, पैयुँपाटा, डाँडाथरस्थित ‘बलेवा बहुउद्देश्यीय व्यावसायिक कृषि एन्ड पोल्ट्री फार्म उद्योग’ मा अहिले ४ हजार ६ सय ‘लेयर्स’ जातका कुखुरा छन् । ती कुखुराले दैनिक ४ हजार वटा अण्डा दिन्छन् । अण्डा बेच्दा मासिक १२ लाख रुपैयाँको कारोबार हुन्छ ।

एउटा अण्डाको मुल्य १० रुपैयाँ पर्छ । एक पेटी अण्डा २ हजार १ सय रुपैयाँमा बिक्री हुन्छ । ‘महिनामा चार लाखभन्दा बढी कमाइ छ, लगानीअनुसार त यो थोरै हो’– फार्मका सञ्चालक प्रकाश सुवेदी रखालले भने । उक्त आम्दानीको झण्डै ८ लाख रुपैयाँ दाना र कर्मचारीको तलबमा जान्छ । फार्ममा ४ कर्मचारी काम गर्छन् ।

रखालले पोल्ट्री फार्म व्यवसाय सुरु गरेको तीन वर्ष बित्यो । उनका अनुसार हाल लगानी बढेर १ करोड ८० लाख रुपैयाँ पुगेको छ । रखालले फार्मकै लागि १२ रोपनी जग्गा समेत जोडेका छन् । सुरुमा उनले १ हजार कुखुराबाट व्यवसाय सुरु गरेका थिए, दोस्रो वर्ष २ हजार २ सय कुखुरा थपे ।

यो वर्ष गण्डकी प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयबाट प्राप्त ९ लाख रुपैयाँ अनुदानबाट १ हजार ५ सय कुखुरा थपेको रखालको भनाइ छ । फार्ममा उत्पादित अण्डा धवलागिरि क्षेत्रको बजारमा पुग्छ । ‘मुस्ताङसम्म हाम्रो अण्डा जान्छ,’ रखालले भने– ‘कहिलेकहीं बजार खोज्दै हिँड्नुपर्ने अवस्था आउँछ ।’

यस्ताे छ व्यवसाय विस्तारकाे याेजना

फार्मको लक्ष्य वार्षिक ९ लाख वटा अण्डा उत्पादन गर्नु हो । उत्पादन बढ्दा वार्षिक ४१ लाख रुपैयाँ आम्दानी पुग्ने देखिन्छ । ‘व्यवसायलाई बिस्तार गर्ने सोचमा छौं, थप अनुदानलगायत प्राविधिक सहयोगको खाँचो छ’– रखालले भने । पोल्ट्री फार्मले चर्चेको ५ रोपनी बाहेकको जग्गामा व्यावसायिक तरकारी खेती सुरु गरिएको छ ।

तरकारी खेतीका लागि सिँचाइको अभाव झेल्नुपरेको प्रकाशका दाजु कृष्णप्रसादले बताए । ‘५ वटा टनेलमा गोलभेंडा, आलु लगाएका छौं,’ उनले भने– ‘जग्गा, मल जति पनि छ, बरु पानीकै समस्या छ ।’ सिँचाइका लागि कतैबाट अनुदान पाए ट्याङ्की बनाउने योजना रहेको उनको भनाइ छ । रखाल दाजुभाइ नै सोही व्यवसायमा आबद्ध छन्, परिवारका सदस्यले पनि उत्तिकै सघाउँछन् ।

बागलुङ सदरमुकाममा सौर्य ऊर्जासम्बन्धी व्यवसाय गर्दै आएका कृष्णप्रसाद गाउँ फर्केर कृषि उद्यममा लागेका हुन् । उनका भाइ प्रकाशले पनि १२ वर्षदेखि पैयुँपाटामै व्यवसाय गर्दै आएका हुन् । ‘पहिले म भिडियो र फोटोग्राफीको काम गर्थें, अहिले यता छु, रेमिट्यान्स व्यवसाय पनि छ’– प्रकाशले भने ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर