newskoseli.Com

निर्विरोध सभामुख सापकोटाका के–कस्ता छन् चुनाैती ?

अरु कसैको पनि उम्मेदवारी नपरेपछि सत्ताधारी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का नेता अग्निप्रसाद सापकोटा प्रतिनिधिसभाको सभामुखमा निर्विरोध भएका छन् । सभामुख निर्वाचनका लागि सार्वजनिक निर्वाचन कार्यतालिकाअनुसार सापकोटाले मंगलबार बिहान ११ बजेर ५० मिनेटमा उम्मेदवारी दर्ता गराएका थिए ।

उनको साथमा नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङसहितका नेता थिए । नेम्बाङ सापकोटाको प्रस्तावक बसेका छन् भने समर्थकमा नेकपाकै प्रमुख सचेतक देवप्रसाद गुरुङ, नेतृ ओनसरी घर्तीका साथै राष्ट्रिय जनता पार्टी नेपालका लक्ष्मणलाल कर्ण छन् । तोकिएको समय २ बजेसम्ममा अरु कसैको पनि उम्मेदवारी नपरेपछि सापकोटा निर्विरोध निर्वाचित हुने भएका हुन् ।

यसरी बन्दैछन् सभामुख

माघ १२ मा बस्ने प्रतिनिधिसभाको बैठकले सभामुख निर्वाचित गर्ने कार्यक्रम छ । सभामुखको निर्वाचनका लागि माघ १२ गते ३ बजे बैठक बोलाइएको छ । एउटा मात्र उम्मेदवारी परेकाले प्रतिनिधिसभा नियमावलीबमोजिम १२ गतेको बैठकमा प्रस्तावक र समर्थकले बोलिसकेपछि सभाको अध्यक्षता गर्ने ज्येष्ठ सदस्यले प्रस्तावित व्यक्ति निर्विरोध निर्वाचित भएको घोषणा गर्नेछन् ।

तत्काल कायम रहेका सम्पूर्ण सदस्य संख्याको बहुमतबाट सभामुख निर्वाचित हुने व्यवस्था भए पनि एक मात्र उम्मेदवारी परेका कारण अब संसद्मा बहुमत देखाइरहनु नपर्ने संसद् सचिवालयका एक अधिकारीले जानकारी दिए । कांग्रेस संसदीय दल कार्यसमितिको मंगलबार बिहान बसेको बैठकले सभामुखमा पार्टीले उम्मेदवारी नदिने निर्णय गरेको थियो ।

‘सभामुखमा सत्तापक्षले आफ्नो उम्मेदवार तय गरेकाले तथा सभामुख पद आफैंमा तटस्थ रहनुपर्ने पद भएको कुरालाई ध्यानमा राख्दै पार्टी सभामुख पदमा उम्मेदवारी नदिने निर्णय गर्छ’– कांग्रेसकी सचेतक पुष्पा भुसालद्वारा जारी विज्ञप्तिमा भनिएको छ । सापकोटाले नेपालको आठौं सभामुखका रुपमा जिम्मेवारी सम्हाल्नेछन् । तर, उनका लागि संसदको बैठक सन्तुलित ढंगले सञ्चालन गर्नु निकै चुनौतीपूर्ण छ ।

के–कस्ता छन् चुनाैती ?

तत्कालीन नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) बीचको एकीकरण प्रक्रिया अझै टुंगो लाग्न बाँकी रहेको सन्दर्भमा आन्तरिक सन्तुलन मिलाएर संसद् बैठक सञ्चालन गर्नु उनका लागि चुनौतीपूर्ण छ । साथै, प्रमुख प्रतिपक्षी कांग्रेसलाई पनि विश्वासमा लिएर अघि बढ्नु उनका लागि अझ कठिन छ । संसदमा पेस भएका कतिपय विधेयक विवादमा परेका बेला तिनलाई सुझबुझका साथ अघि बढाउने जिम्मेवारी पनि उनले पूरा गर्नुपर्ने छ । त्यस्तै, राष्ट्रिय–अन्तर्राष्ट्रिय चासोलाई पनि छिचोल्दै उनले अघि बढ्नुपर्ने अवस्था छ ।

पटक–पटक मन्त्रीको जिम्मेवारी सम्हाले पनि सभामुखजस्तो तटस्थ भूमिकामा रहनुपर्ने पदमा भने उनी पहिलो पटक आउँदै गरेको खबर ईश्वरी सुवेदीको बाइलाइनमा बुधबारको नागरिक दैनिकमा प्रकाशित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर