newskoseli.Com

चितवनको चुनखानीमा माओवादीको आक्रमण, कार्यालय र डोजर ध्वस्त

नेत्रविक्रम चन्द नेतृत्वकाे नेकपा माओवादीले चितवनको शक्तिखोरमा रहेको कोलार चुनखानीमाथि आक्रमण गरेको छ । बुधबार दिउँसोको आक्रमणबाट चुनखानीको कार्यालय र डोजर ध्वस्त भएको त्यहाँबाट प्राप्त खबरमा उल्लेख छ ।

चुनखानीका कारण पूर्वी चितवनको चेपाङबस्ती नै संकटमा परेको, जनताको स्वास्थ्यमा प्रतिकूल असर परेको, जिल्लाका ३ वटा नगरपालिकाको खेतीयोग्य जमिनकाे उर्वरा क्षमतामा समेत ह्रास आउन थालेको भन्दै त्यहाँका जनताले पटक-पटक चुनखानी बन्द गर्न माग गर्दै आएका थिए ।

स्थानीयको विरोधका बाबजुद पनि चुनाखानी सञ्चालक रघुनन्दन मारुले जनताको मागलाई बेवास्ता गर्दै आएपछि उनीहरुले नेकपा माओवादी पार्टीमा उजुरी दिएका थिए ।

लाखौं जनताको स्वास्थ्यमा असर पर्ने काम गर्दै र जनजीवनलार्इ धरापमा पार्दै लागेकाले जनताको मागअनुसार आफ्नो पार्टीले चुनखानीमाथि कारबाही गरेको नेकपा माओवादीले जनाएको छ ।

चुनखानीका कारण पूर्वी चितवनका रत्ननगर, कालिका र खैरेनी नगरपालिकाको खेतीयोग्य जमिन जोखिममा परेको बताइएकाे छ । उक्त खानी बन्द गर्न माग गर्दै त्यहाँका स्थानीयवासी पटक-पटक धर्ना बस्दै आएका थिए ।

माओवादीले बुधबार चुनखानीमाथि कारबाही गरेपछि आफूहरु हर्षित भएको स्थानीयले बताएका छन् । उनीहरुले पुनः उक्त खानी सञ्चालन हुन नदिन समेत अाफूहरूसँग आग्रह गरेको नेकपा माओवादीकाे दाबी छ ।

यसघि चुनखानी उत्खननले ऐतिहासिक उपरदाङगढी किल्ला र बस्ती जोखिममा पारेको भन्दै नेकपा माओवादीले उत्खनन रोक्न माग गर्दै जिल्ला प्रशासन कार्यालयमा ज्ञापनपत्र समेत बुझाएको थियो।

स्टारलाइन प्रालिले खानी रहेको कोलार पहाडमा किल्लाभन्दा ५ सय मिटर नजिक उत्खनन गरिरहेको छ। उत्खननस्थल नजिकै विद्यालय र शक्तिखोर, पिठुवा तथा जुटपानी क्षेत्रको खानेपानीकाे स्रोत कयरखोलाको मुहान पनि छ।

संक्रमणकालीन समयमा खानीलगायतका प्राकृतिक स्रोत उत्खननको जिम्मा कसैलाई दिनु नहुने माओवादीको तर्क छ । भूगर्भ विभागबाट दैनिक १ सय ६५ टन चुनढुंगा निकाल्न पाउने स्वीकृति स्टारलाइनलाई छ।

०५८/५९ सालमा १५ सय मेट्रिक टन चुनढुंगा निकालेपछि तत्कालीन राजनीतिक परिस्थितिका कारण रोकिएको कामलाई अहिले निरन्तरता दिइएको हो। एक टन चुनढुंगाको विभागलाई १२ रुपैयाँ राजस्व र जिविसलाई मूल्यकाे १० प्रतिशत विकास शुल्क तिर्नुपर्छ। प्रालिले जेठदेखि उत्खनन सुरु गरेको थियो। अहिलेसम्म लगभग १ हजार ५ सय टन चुनढुंगा निकालिसकेको स्थानीयको अनुमान छ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर