newskoseli.Com

ट्रिपरआतंक कहिलेसम्म ? अझै कतिले ज्यान गुमाउनुपर्ने ?

दूध बेच्न शुक्रबार बिहानै घरबाट निस्किएकी मनमाया तामाङ अब कहिल्यै घर फर्किने छैनन् । गोरखा नगरपालिका– १०, अमलापानीकी ५२ वर्षीया मनमायालाई ट्रिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भयो ।

दूध बोकेर हिँडेकी उनलाई ग १ ख ८०२७ नम्बरको ट्रिपरले ठक्कर दिएपछि ब्याक गरेर हत्या गरेको स्थानीयको भनाइ छ । ‘ट्रिपरको ठक्करबाट भुँइमा लडेकी मनमायालाई ब्याक गरेर मारेको हो’– स्थानीयले आक्रोशपूर्ण भाषामा बोले । आक्रोशित स्थानीयको भीडले सोही रुटमा चल्ने दुई दर्जनभन्दा बढी ट्रिपरमा तोडफोड गरे ।

घटनास्थलमा व्यापक मात्रामा प्रहरी परिचालन गरियाे । आक्रोशित भीडले भने ‘ज्यानमारा टिपर’ भन्दै रोकि राखेको टिपरमाथि ढुंगामुडा गरे । शुक्रबार मात्रै आक्रोशित भीडले २० वटा ट्रिपरसहित ६ वटा स्काभेटरमाथि पूर्ण क्षति गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका डीएसपी बासुदेव खतिवडाले बताए ।

पुष्पा महरा

छेपेटार नजिकै रहेको गोरखकाली क्रसर परिसरबाट हिँडेकी मनमायालाई ट्रिपरले ठक्कर दिएको थियो । बाक्लो कुहिरोका कारण ट्रिपरले सडकमा यात्रु नदेखेको हुन सक्ने प्रहरीकाे अनुमान छ । ट्रिपर चालक प्रहरीको नियन्त्रणमा छन् । स्थानीयले क्रसर उद्योग समेत बन्द गर्नुपर्ने माग गरेका छन् ।

शुक्रबारको यो घटना एउटा उदाहरण मात्रै हो । लामो समयदेखि नै ट्रिपरआतंक रोकिएको छैन । ट्रिपरले मान्छेलाई ठक्कर दिने अनि ब्याक गरेर मार्ने प्रवृत्ति बढ्दो छ । साँघुरो सडक अनि तीव्र गतिमा गुड्ने ट्रिपर । ट्रिपरको बढ्दो आतंकका कारण याे कहीं देख्नेवित्तिकै ‘यमराज’ काे नामले चिनिन थालेको छ ।

ट्रिपर नजिक आउनेवित्तिकै साँच्चै नै यमराज आएको हो कि भन्ने भान हुन्छ । अझ गुडिरहेको स्कुटर, बाटोमा हिँडिरहेका यात्रु देखेपछि छेउमै आएर हर्न बनाउने ट्रिपर चालकको प्रवृत्ति हुन्छ । अरुलाई तर्साएर आफू हाँस्ने उनीहरूकाे प्रवृत्तिका कारण झन् साँच्चै नै ‘यमराज’ आएकाे झैं लाग्छ ।

ट्रिपर ‘कसैलाई नभई नहुने, कसैलाई भएर काम नलाग्ने’ वस्तु हो । आकार ठूलो हुन्छ । त्यसले धेरै सामान लोड गरेर गुड्न सक्छ । त्यसैले क्रसर उद्योगीहरुले यसको प्रयोग गर्छन् भने माटो बोक्न, बालुवा सिमेन्ट लामो दूरिमा बोक्न यसको प्रयोग हुन्छ । त्यस्तै काठमाडौंको फोहोर बोकेर नुवाकोटको सिसडोल पुर्‍याउन पनि यसको प्रयोग गरिन्छ ।

बढ्दो शहरीकरणसँग साँघुरिँदै गएको यो बाटोमा टिपर विस्थापित हुने अवस्थामा छ । सरकारले टिपर आतंक बढ्दै गएपछि साँझ ८ बजेपछि र विहान ६ बजेसम्म मात्रै टिपर चलाउन पाउने नियम पनि ल्याएको छ । यसको आतंक कम गर्न ट्राफिक प्रहरीले यसको स्पीडमा पनि चेक गर्छ । कम स्पीडमा मात्रै चलाउन पाउने नियम पनि छ । तर नियमको पालना गर्दा गर्दै पनि ट्रिपरले मान्छे मार्न भने कमी भएको छैन ।
एउटा ट्रिपरले मान्छे मार्छ, त्यसपछि स्थानीयहरु उर्लिन्छन् ।

सडक जाम, आन्दोलन, हत्यारालाई कारवाहीको माग गर्छन्, अझ रोकिराखेका तथा त्यस क्षेत्रमा गुड्ने ट्रिपरहरु समेत आक्रोशित स्थानीयबाट बच्न सक्दैनन । सहरमा आगो बल्छ, त्यो पनि ट्रिपरमा लगाएर । लाग्छ कि अब आइन्दा कहिल्यै ट्रिपर नै चाहिँदैन । अन्ततः ट्रिपर मालिक र मृतकको परिवारबीच केही रकम दिनेलिनेमा सहमति हुन्छ र त्यहाँको घटना सेलाउँछ अनि पहिलाजस्तै निरन्तर ट्रिपरआतंक सुरु हुन्छ । फेरि अर्काे स्थानमा पनि दुर्घटना हुन्छ, कोही मर्छ अनि स्थानीयले त्यस्तै गर्छन् अन्ततः कुरो पैसाको मोलमोलाइमा गएर टुंगिन्छ । यसरी मानव शरीरलाई पैसासँग मोलतोल गर्नु कतिसम्म उचित होला भन्ने कुरा बुझ्नु जरुरी छ ।

घटना वा दुर्घटना भनेको भवितव्य हो, त्यो चाहेर हुँदैन । तर एउटै घटना दोहोरिनु भनेको लापर्वाही हो । त्यसैले यसको रोकथाम हुन जरुरी छ । सरकारले त्यस्ता मान्छे मार्ने चालकको लाइसेन्स खारेज गरिदिनुपर्छ । ड्राइभरहरुलाई रिस उठेको बेलामा ‘मर्लास्, पाँच वर्ष जेल त हो नि !’ भन्दै गर्दा ज्यानमा काँडा उर्मिन्छ । त्यसैले चालकको दिमागमा यस्तो मानव जीवनको सस्तो मोल नपरोस् । चालकमा कसैलाई मार्नु हुँदैन । संयमता अपनाउनु पर्छ भन्ने कुरा हुन जरुरी छ ।

नीति नियम बनाउने सरकारको काम हो । मान्ने हाम्रो । त्यसलाई मान्न बाध्य बनाउने प्रशासनको काम हो । त्यसैले सबैले आ–आफ्नो स्थानबाट नियम र कानुनको पालना गरे दुर्घटना वा टिपर आतंक कम हुने निश्चित छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर