newskoseli.Com

खेतदेखि पेटसम्म जताततै विषैविष

स्वच्छता तथा वनस्पतिजन्य स्वच्छतासम्बन्धी कानुनको प्रभावकारी कार्यान्वयन नहुँदा खेतदेखि पेटसम्म विषादीयुक्त खाने कुरा पुग्ने गरेको पाइएको छ ।

सीमा क्षेत्रमा रहेका कानुन कार्यान्वयन गर्ने निकायहरूले कडाइ नगर्दा उत्पादनस्थलदेखि पेटसम्म विषादीयुक्त खाने कुरा पुगेको जनाइएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभाग (एसपीएस) नेसनल इन्क्वाइरी प्वाइन्ट बबरमहल, काठमाडौंद्वारा आइतबार आयोजित अन्तर्क्रिया कार्यक्रमका सहभागीले नेपाल–भारत सीमा क्षेत्रमा स्वच्छतासम्बन्धी कानुन कार्यान्वयनमा जोड दिए ।

कार्यक्रममा बोल्दै वरिष्ठ खाद्य अनुसन्धान अधिकृत मोहनकृष्ण महर्जनले स्वच्छता तथा वनस्पतिजन्य स्वच्छता, डब्ल्युटीओ र एसपीयस सम्झौताको मुख्य प्रावधानका बारेमा जानकारी गराए । सोही कार्यक्रममा बोल्दै खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागका महानिर्देशक डा. मतिना जोशी वैद्यले नेपालले विश्व व्यापार सङ्गठनको सदस्यता प्राप्त गरेपछि खाद्य सुरक्षा, उपभोक्ताको स्वास्थ, उत्पादित वस्तुको मापदण्डलगायत कानुनको प्रभावकारी कार्यान्वयनमा जोड दिएको बताइन् ।

खाद्य आयात–निर्यात गुणस्तर प्रमाणीकरण कार्यालय वीरगञ्जका प्रमुख हस्तबहादुर राईको सभापतित्वमा भएको सो कार्यक्रममा वीरगञ्ज उद्योग वाणिज्य सङ्घका अध्यक्ष गोपाल केडियाले भारतबाट आउने खाद्य सामग्रीको स्वच्छतासम्बन्धी चेकजाँच नहुँदा उपभोक्ताको स्वास्थ्यमा प्रतिकूल असर पर्नेतर्फ सम्बन्धित निकाय गम्भीर हुनुपर्ने बताए ।

नेपाल विश्व व्यापार सङ्गठन (डब्ल्युटीओ) को १४६औं सदस्य राष्ट्र हो । खाद्य पदार्थको व्यापार विस्तार भएसँगै स्वच्छतासम्बन्धी त्रुटिहरू बढ्न गएको र यसले उपभोक्ताको स्वास्थ्यमाथि खेलबाड गरिरहेको जानकारी कार्यक्रममा दिइएको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर