newskoseli.Com

वुहानबाट ल्याइएका १७५ जना पुगे खरिपाटी क्वारेन्टाइन

चीनको वुहानबाट फर्काएर नेपाल ल्याइएका १७५ जनालाई भक्तपुरको खरिपाटीस्थित नेपाल विद्युत् प्राधिकरणको तालिम केन्द्रमा निर्माण गरिएको क्वारेन्टाइनमा ल्याइएको छ । उनीहरुलाई विमानस्थलबाट आइतबार बिहान बसमा सल्लाघारी, जगाती, च्याम्हसिंह, कमलविनायक हुँदै खरिपाटीस्थित क्वारेन्टाइनमा पुर्‍याइएको हो ।

एक एम्बुलेन्स, नेपाली सेना, नेपाल प्रहरी र सशस्त्र प्रहरीको सुरक्षा भ्यानको स्कर्टिङसहित १७५ जनालाई ४ वटा बसमा खरिपाटीको क्वारेन्टाइनसम्म ल्याइयो । उनीहरूलाई लिन गएको विमानका पाइलट, को–पाइलट, परिचारिका तथा स्वीपर सहित १७ जनालाई एउटा बसमा प्रहरीको स्कर्टिङसहित बिहान चाँगुनारायण नगरपालिका– ६, नगरकोटस्थित खानेपानी तालिम केन्द्रमा बनाइएको क्वारेन्टाइनमा पुर्‍याइएको छ ।

खरिपाटीको क्वारेन्टाइनमा नेपाली सेनाका डा. नवीन फुयाँलको नेतृत्वमा नर्स समेत रहने स्वास्थ्य टोली प्रवेश गरेको छ । सो टोलीले क्वारेन्टाइनमा आइतबार बिहान उनीहरुको शरीरको तामक्रम नापेको छ । फर्काइएका ती १७५ जनाको रगत सङ्कलन गरी परीक्षणका लागि आइतबारै पठाइने भएको छ ।

नेपाल एयरलाइन्सको ए ३३० वाइडबडी विमानमा २ चिकित्सक, २ नर्स, ३ पाइलट, ७ क्रुमेकर, १ इन्जिनियर, १ प्राविधिक, १ डिस्पास्चर गरी १७ जनासहितको टोली शनिबार साँझ चीनको वुहान गएको थियो । सो स्थानबाट १७० विद्यार्थी, १ बालबालिका, २ पर्यटक र १ कामदारसहित १७५ जनालाई लिएर विमान आइतबार बिहान ३ः३६ मा त्रिभुवन विमानस्थलमा अवतरण गरेको थियो ।

नेपाल आउन तयारी अवस्थानमा चीनको वुहान एयरपोर्टमा आएकामध्ये ६ जनाको शरीरमा ३७.३ डिग्री सेल्सियसभन्दा माथि तापक्रम देखिएपछि उनीहरुलाई चीन सरकारले नै नेपाल फिर्ता पठाएन । अरु ४ जनाले त्यहीं बस्ने इच्छा देखाएर नेपाल आएनन् । वुहानका ५५ , झिङझाओका ४८, सियनका २९ , इन्सीका २६ , जिङमेनका ९ र यिचाङका ८ जना गरी १३४ पुरुष र ४१ महिलासहित १७५ जनालाई नेपाल ल्याइएको हो ।

चीनबाट विमान चढ्नुअघि र काठमाडौंको अन्तर्राष्ट्रिय त्रिभुवन विमानस्थलमा अवतरण भएपछि पुनः स्वास्थ्य जाँच गर्दा उनीहरुको स्वास्थ्यमा समस्या नदेखिएपछि सबैलाई खरिपाटी क्वारेन्टाइनमा पुर्‍याइएको हो । कोरोनाभाइरस सङ्क्रमति क्षेत्रबाट ल्याउन लागिएका नेपालीलाई खरिपाटी र नगरकोटमा राख्नु हुँदैन भन्दै दैनिक आन्दोलन भए पनि आइतबार भने कसैले अवरोध गरेनन् । सरकारले विश्व स्वास्थ्य सङ्गठनको मापदण्डअनुसार क्वारेन्टाइन निर्माण गरेको छ ।

यस्तो छ क्वारेन्टाइनको अवस्था

क्वारेन्टाइनलाई ब्लक– ए, बी र सी गरी ३ भागमा विभाजन गरिएको छ । ठूला दुई भवनमा पुरुष र परिवारसहित आउने टोली, रातो भवनमा महिला र अर्को सानो क्वार्टर भवनमा चिकित्सकसहितका स्वास्थ्यकर्मीलाई राखिएको छ । क्वारेन्टाइनका सबै भवनमा गरी १८ वटा सीसी क्यामेरा, ८ वटा टेलिभिजन र सबै ब्लकमा स्पिकर जडान गर्नुका साथै ३ वटा वासिङ मेसिन, ओछ्यान, तावेल, चप्पल, साबुन, मन्जन, ब्रस, मास्क, औषधिलगायत दैनिकरुपमा आवश्यक सबै सामग्री प्रत्येक बेडमा पुर्‍याइएको छ ।

एक कोठामा कम्तिमा एक मिटरको फरकमा दुईदेखि तीनवटा बेड रहने गरी कोठाको व्यवस्थापन गरिएको छ । शौचालय मर्मत, तातो पानी, पिउनका लागि शुद्ध पानी, इन्टरकम टेलिफोन राखिएको छ । मनोरञ्जनका लागि दुईवटा ब्याडमिन्टन कोर्ट निर्माण गरिएका छन् भने क्यारेमबोर्ड, लुँडो, बच्चाका लागि बललगायतका खेल खेल्ने व्यवस्था गरिएको छ । त्यहाँ बस्नेहरुले कोठाभित्रै मात्र बसिरहनु पर्दैन, बाहिर निस्केर क्वारेन्टाइनभित्रको निश्चित क्षेत्रमा हिँडडुल गर्न पाइनेछ ।

क्वारेन्टाइनमा १४औं दिनमा पनि स्वास्थ्य जाँच एवं रगत सङ्कलन गरिनेछ । अरू दिन व्यक्ति स्वयंले स्व–जाँच गर्न मिल्ने थर्मामिटरको माध्यमबाट प्रत्येक व्यक्तिले दिनको दुई पटक तापक्रम जाँच गरी तोकिएको ढाँचामा अभिलेख राख्नु पर्नेछ । कुनै कुरा आवश्यक परेमा कन्ट्रोल रुम र रोगको लक्षण देखिएमा सिधै डाक्टरलाई फोन सम्पर्क गरी स्वास्थ्य जाँच गरिनेछ । जाँचमा शङ्कास्पद देखिए क्वारेन्टाइन अगाडि तयारी अवस्थामा रहेका एम्बुलेन्सले अविलम्ब शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल वा पाटन अस्पताल वा सशस्त्र प्रहरी अस्पतालमा स्थानान्तरण गर्नेछन् । सरकारले विभिन्न अस्पतालमा १४७ वटा आइसोलेसन वार्ड समेत तयार पारेको छ ।

क्वारेन्टाइनमा रहँदा अभिभावकहरुसँग प्रत्यक्षरुपमा भेटघाट गर्न पाइने छैन भने क्वारेनटाइन अगाडि आगन्तुक कक्षमा यहाँको अवस्थाबारे जानकारी गराइनेछ । प्रत्येक दिन बिहान खाजा, ११ बजे खाना, ३ बजे खाजा र साँझ ७ बजे खानाको व्यवस्था गरिएको छ । पत्रकारका लागि क्वारेन्टाइनबाहिर सञ्चारकर्मी कक्ष व्यवस्था गरिएको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर