newskoseli.Com

खादा ओढ्न होइन, मुलुक बदल्न मर्‍यौं : सहिद दाजु बालक– लालसलाम !

‘मेरो कारण यदि कसैको चित्त दुख्छ भने म यति भन्न सक्छु– मबाट एक पाइला टाढा बसिदिनुहोला किनकि न म तपाईंको लागि बदलिन सक्छु न त बदलिन नै चाहन्छु; मेरो त्याग देश र जनताको मुक्तिका लागि हो ।’

लेखक राजकुमार

मेरा आदरणीय जेठा दाजु पद्मप्रसाद चौलागाईं (कमरेड बालक) ले एउटा खेस्रोमा लेख्नुभएका यी पंक्ति मैले पछि भेटें । दाजु आज हामीमाझ नभए तापनि उहाँका यी उद्गारले उहाँ अझै पनि जीवित नै हुनुहुन्छ । दाजु अहिले पनि यही धर्तीकै कुना–कुनामा हुनुहुन्छ भन्ने आभाष गरिरहेको छु ।

महान् इतिहासको निर्माणका लागि आफूलाई बलीवेदीमा चढाएर आम जनताको मुक्तिका निम्ति लड्नुभएका मेरा दाजु पद्मप्रसाद र उहाँजस्ता हजारौं सहिदहरु केवल हाम्रो र आ–आफ्नो परिवारको एक सदस्यका रुपमा मात्रै जन्मनुभएन । त्यसैले उहाँहरु तीन करोड नेपाली जनताको सपनाको प्रतीक बन्दै आज पनि जीवन्त हुनुहुन्छ ।

भौतिक शरीर हामीबाट सदाका निम्ति बिदा भए तापनि इतिहासमा उहाँहरुको नाम कहिल्यै नमर्ने गरी रहला भन्ने हाम्रो अपेक्षा थियो । तर, आज आएर जनताको मुक्ति ‘एकादेशको कथा र दलालहरुको सुदिन एवं सत्यकथा’ बनेको विडम्बना देख्दा दाजुको वलिदान सम्झेर कहिलेकहीं एकान्तमा मन लागुन्जेल रुन्छु अनि आकाशतिर मडारिइरहेको बादललाई हेर्दै दाजुको आकृति खोज्ने गर्छु । जुगल हिमालको शिरबाट चियाउँदै दाजुले हामीलाई हेरिरहनुभएको भान हुन्छ ।

तर, स्मृतिमा सधैं बाँचिरहनु भएका साहसिक योद्धा दाजुको बलिदानको हिसाब इतिहासले एक दिन जरुर फत्ते गर्नेछ । लुटको स्वर्ग सदाका लागि ध्वस्त हुनेछ भन्ने अपेक्षा छ । तर, आज हामीले केवल आशा र अपेक्षामा सीमित रहन विवश हुनुपरेको छ । यिनै विवशताहरुमाझ जेठा दाजु मद्म र साहिँला दाजु स्वतन्त्रको अभावमा, आमाको रित्तिएको काख र बुबाको टेक्ने लठ्ठीको सहारा अब बाँकी रहेका हामी दुई भाइ र तीन दिदी–बहिनी मात्र छौं ।

नेपाली राजनीतिका साहुजीहरुले बेलाबखत २५ रुपैयाँको खादा ओढाएर हाम्रा दाजुहरूको बलिदान सम्झन्छन् । त्यो देख्दा उनीहरूले खिल्ली उडाएको महशुस हुन्छ हामीलाई । हामी खादा ओढ्ने रहरले होइन, मुलुक र जनतालाई मुक्ति दिलाउने गरी इतिहास पल्टाइदिन लडेका र वलिवेदीमा चढेका हौं । त्यो महाअभियान अगाडि बढाउन आज सच्चा र साहसी नेतृत्वको अभाव हामीलाई महशुस भएको छ ।

दाजुको स्मृति दिवस हाम्रो चुल्होचौकोसम्म आएर निन्याउरो मुख लगाउँदै फर्किएको यतिबेला एक्काईस वर्ष भैसकेको छ । २० फागुन, २०५५ मा दाजु पद्मप्रसादले शहादत प्राप्त गर्नुभएको हो । उहाँको वलिदानको एक्काईसौं स्मृतिका अवसरमा उहाँलगायत सम्पूर्ण महान् सहिदहरुप्रति हार्दिक श्रद्धासुमन ! महान् सहिदहरु– लालसलाम !

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर