newskoseli.Com

मन्त्रीले थाले ‘छड्के’ अनुगमन, ‘साताभित्रै पाइन्छ चाहिएजति’ : निगमले बढायो ग्यासको आयात

कोभिड–१९ (कोरोना) भाइरस सङ्क्रमणको त्रास देखाएर बजारमा दैनिक उपभोग्य वस्तुको कृत्रिम अभाव हुने आशङ्का बढेपछि त्यसलाई नियन्त्रण गर्न सरकारले अनुगमनलाई प्रभावकारी तुल्याएको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री लेखराज भट्ट आफैं उपभोक्ताका रुपमा राजधानी काठमाडौं र प्रमुख पर्यटकीय नगरी पोखरामा समेत अनुगमनमा निस्केका छन् ।

विपदको समयमा उपभोग्य वस्तुको अभाव देखाएर उपभोक्ता ठग्ने प्रवृत्ति बढ्न नदिन मन्त्री भट्टले गरेको प्रयासप्रति सर्वत्र सकारात्मक टिप्पणी सुरु भएको छ । वाणिज्य सचिव डा. बैकुण्ठ अर्याल, वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागका महानिर्देशक नेत्रप्रसाद सुवेदीसहितको टोलीलाई लिएर मन्त्री आफैं बजार अनुगमनमा निस्केका हुन् । उनीहरुले फागुन अन्तिमदेखि नै राजधानी काठमाडौंका विभिन्न स्थानको स्थलगत अनुगमन गरी उपभोक्ता तथा बिक्रेताका समस्या तथा बजारमा उपभोग्य वस्तुको अवस्थाबारे जानकारी लिइरहेका छन् ।

कोरोनाको त्रासका कारण आपूर्ति प्रणालीमा समस्या आएको, खाद्यान्न, औषधि तथा इन्धनको अभाव रहेको भन्दै मनोवैज्ञानिक त्रास बढेपछि आपूर्ति व्यवस्थामा कुनै पनि समस्या नरहेको जानकारी दिने लक्ष्यसहित आफूहरु बजार अनुगमनमा परिचालित भएको मन्त्री भट्टको भनाइ छ । बजारलाई सन्तुलित बनाउन राज्यका तर्फबाट चाल्नुपर्ने र गर्ने सबै उपाय अपनाउने लक्ष्यसहित लागिपरेको उनको भनाइ छ ।

कस्ताे छ बजारकाे हालत ?

सामान्य अवस्थामा २० रुपैयाँमा पाइने नुन व्यापारीले मूल्यवृद्धि गरी बजारमा प्रतिप्याकेट २५ देखि ३० रुपैयाँसम्म लिएको पाइएको छ । आपूर्ति प्रणालीमा कुनै समस्या अनाएकाले नआत्तिन र अनावश्यकरुपमा भण्डारण नगर्न समेत उपभोक्तालाई सरकारले आग्रह गरिरहेको छ । बजारमा इन्धनको अभाव नहोस् भनेर सरकारले मागअनुसार नै पेट्रोलियम पदार्थको आयात गर्न नेपाल आयल निगमलाई सहजीकरण गरिरहेको छ ।

एलपी ग्यासको आपूर्तिमा कुनै समस्या नहुने सरकारले दोहोर्‍याइरहँदा अनावश्यक मौज्दात राख्ने उपभोक्ताको चाहनाले ग्यासको उपलब्धतामा केही समस्या देखिएको छ । पछिल्ला केही दिनयता बजारको बढ्दो मागलाई ध्यानमा राखी निगमले ग्यास आयातमा भारी वृद्धि गरेको छ । ग्यासको अभाव हुन नदिन निगमले आयातको परिमाण वृद्धि गरी ४५ हजार मेट्रिक टन पुर्‍याएको छ । अहिले एलपी ग्यासको औसत मासिक खपत ३८ हजार मेट्रिक टन रहेको छ ।

राजधानी काठमाडौंमा बढी गुणस्तरीय मानिएको नेपाल ग्यासमा भने बढी दबाब परेको छ । सहज रुपमा पाइने भएकाले पनि नेपाल ग्यासमा उपभोक्ताको चाप देखिएको हो । उपभोक्ताले भूकम्प र नाकाबन्दीको समयमा जस्तै सङ्कट व्यहोर्नुपर्ने त्रासका कारण दुईभन्दा बढी सिलिण्डर भण्डारण गरेका छन् । कोरोना भाइरसका कारण ग्यासको अभाव हुन सक्ने आशङ्कामा सर्वसाधारणले घर–घरमा भण्डारण गरेका कारण ग्यास वितरणमा असन्तुलन देखिएको नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष गोकुल भण्डारी बताउँछन् ।

‘ग्यास आपूर्तिमा कुनै समस्या छैन, निरन्तर नै ग्यास आइरहेको छ,’ उनी भन्छन्– ‘बजारमा देखिएको हाहाकार एक सातामा समाप्त हुन्छ ।’ नेपालभर दैनिक एक लाख सिलिण्डर खपत हुने गरेको छ । अहिले सोही परिमाणमा ग्यासको आयात भइरहेको छ । फागुपूर्णिमाका कारण नेपाल र भारतका भन्सार लगातार पाँच दिन बन्द हुँदा ग्यास बुलेट भन्सार पास हुन नसक्दा केही अभावजस्तो देखिएको अध्ययक्ष भण्डारीको भनाइ छ । ‘होली पर्वको आसपासमा नेपालमा तीन दिन सार्वजनिक बिदा र भारतमा दुई दिन सार्वजनिक बिदा हुँदा भन्सार जाँचपास हुन नसक्दा समस्या भएको हो’– उनले भने । नेपालमा हाल विभिन्न ५८ ग्यास उद्योग रहेको खबर राससले प्रेषित गरेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर