newskoseli.Com

९ मुलुकलाई छोएन कोरोनाले : कुन–कुन देश हुन् त ?

कोरोनाभाइरसले विश्वका २ सय ८ मुलुकमा महामारी फैलाइरहेको छ । हालसम्म केही मुलुक भने यो महामारीको संक्रमणबाट मुक्त छन् । कोरोनाभाइरस संक्रमणका सम्बन्धमा अमेरिकास्थित जोन हप्किन्स विश्वविद्यालयले तयार पारेको तथ्यांकअनुसार विश्वका ९ देश अहिलेसम्म कोरोनामुक्त छन् ।

तुर्कमेनिस्तान, ताजिकिस्तान, उत्तर कोरिया, दक्षिणी सुडान, यमन, बुरुन्डी, मलावी, लिसोथो र कोमोरोस मुलुकहरु कोरोनाभाइरसको प्रकोपबाट मुक्त मुलुकहरु हुन् । मध्य एसियाली मुलुक तुर्कमेनिस्तानमा ‘कोरोना’ शब्दको प्रयोगमा समेत कडा प्रतिबन्ध लगाइएको छ । त्यहाँ यो शब्द उच्चारण गर्नै पाइँदैन । मास्क लगाएर घुम्ने र कोरोना महामारीको कुरा गर्नेलाई तुर्कमेनिस्तान प्रहरीले पक्राउ गरी जेल चलान गरिरहेको छ । सामाजिक सञ्जाल र सार्वजनिक स्थलका भित्ताहरुमा कोरोना रोकथामका सम्बन्धमा टाँसिएका प्रचार सामग्रीहरु समेत हटाइएका छन् ।

मध्य एसियाकै अर्को देश ताजिकिस्तान पनि अहिलेसम्म कोरोनाबाट मुक्त छ । यो मुलुक ट्रेकिङ र क्लाइम्बिङका लागि विश्वमै प्रख्यात छ । ट्रेकिङ र क्लाइम्बिङका लागि यहाँ विश्वभरका हजारौं मानिस आउने गर्छन् । तर, अरू मुलुकमा कोरोनाभाइरसको महामारी सुरु भएपछि अन्य मुलुकबाट यहाँ आउन र यहाँबाट अन्यत्र जान मार्चदेखि नै प्रतिबन्ध लगाइएको छ ।

चीनसँग सीमाना जोडिएको उत्तर कोरिया पनि कोरोनाभाइरसले नछोएको मुलुक हो । विश्वमै ‘रहस्यमयी मुलुक’ का रुपमा चिनिएको उत्तर कोरियाले चीनमा कोरोना फैलनासाथ आफ्ना सबै सीमा नाकाहरु बन्द गरेको थियो । त्यसैगरी, उत्तर अफ्रिकी मुलुक दक्षिणी सुडानमा पनि हालसम्म कोरोना पुगेको छैन । १ करोड ११ लाख जनसंख्या रहेको यो मुलुकले पनि आफ्ना सबै सीमा नाकाहरु बन्द गरेको छ । यहाँको जनजीवन सामान्य छ ।

मध्यपूर्वी देश यमन पनि अहिलेसम्म कोरोनाभाइरसबाट मुक्त छ । ३ करोड जनसंख्या रहेको यमन वर्षौंदेखि गृहयुद्धको चपेटामा छ । यहाँ भोकमरी र गरिबीका कारण धेरैको ज्यान गैसकेको छ । त्यस्तै, दक्षिण अफ्रिकी मुलुक बुरुन्डी, पूर्वी अफ्रिकी देशहरू मलावी, लिसोथो र कोमोरोसलाई पनि कोरोनाभाइरसको संक्रमणले छुन सकेको छैन ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर