newskoseli.Com

लकडाउन के हुन्छ ? हट्छ कि बढ्छ ?

चैत ११ देखि जारी लकडाउनले महिना पार गरिसकेको छ । सुरुमा एक साताका लागि सरकारले आह्वान गरेको लकडाउन दुई पटक एक–एक साता लम्बियो । त्यसपछि एकैसाथ १५ दिनका लागि तन्काइयो । पाँच साता लामो लकडाउन वैशाख १५ मा सकिँदैछ । १६ गतेदेखि लकडाउन हट्छ कि फेरि बढ्छ त भन्ने जिज्ञासा सर्वत्र छाएको छ ।

शनिबार बसेको कोरोना रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बैठकले लकडाउनको समीक्षा गर्दै यसैका कारण नेपालमा कोरोना प्रकोपको महामारी रोक्न सकिएको निष्कर्ष निकालेको छ । यसअघि अप्रिल ३० सम्म अन्तर्राष्ट्रिय उडान रोक्ने निर्णय भएकामा उच्चस्तरीय समितिले त्यसको अवधि बढाएर मे १५ सम्म पुर्‍याएको छ । लकडाउन बढाउने–नबढाउनेबारे यो समिति केही बोलेन ।

उच्चस्तरीय समन्वय समितिका एक सदस्यले नाम उल्लेख नगर्ने सर्तमा न्युजकोसेलीसँग भने– ‘थप निर्णय त मन्त्रिपरिषदले नै गर्ला तर हामीले चाहिँ अब एक साता लकडाउन लम्ब्याउने अनि त्यसपछि क्षेत्रगत रुपमा खोल्दै प्रभावित क्षेत्रमा कायम राखेर क्रमशः खुकुलो पार्दै अर्को एक महिनापछि पूरा खुला गर्ने गरी जानुपर्ने निष्कर्ष निकाल्यौं, अब प्रधानमन्त्रीकहाँ समितिको यही सुझाव जान्छ ।’

उच्चस्तरीय समितिको यो निष्कर्ष हेर्दा कम्तिमा पनि फेरि एक साता देशव्यापी लकडाउन कायम रहने देखिन्छ । त्यसपछि पनि एक महिना प्रभावित क्षेत्रमा लकडाउन कायम रहने र छिमेकी राष्ट्रहरुसँगका सीमा बन्द नै रहने देखिन्छ । यसअनुसार अन्तर्राष्ट्रिय हवाई उडान पनि मे १५ पछि समेत अर्को १५ दिन बन्द रहने देखिन्छ ।

नागरिक समाज, उद्यमी–व्यवसायी, सञ्चारजगत र आमजनताले भने अब लकडाउन लम्ब्याउनु नहुने मत प्रकट गर्न थालेका छन् । अहिलेको लकडाउन अवधि सकिएपछि मुख्य प्रभावित क्षेत्रहरुमा मात्र लकडाउन कायम गरेर क्षेत्रगत खुला गर्नुपर्ने उनीहरुको मत छ । सुरक्षा र स्वास्थ्यका प्रोटोकल कायम गर्दै व्यापक जनसचेनतासहित जनजीवनलाई क्रमशः खुला गरेर बिस्तारै सामान्य अवस्थामा फर्काउनुपर्ने उनीहरुको मत छ ।

के भन्छन्  ईश्वर पोखरेल ?

‘संक्रमणको विस्तार गम्भीर रूपले बढ्यो भने हामीले त्यसैअनुसार निर्णय गर्नुपर्ने हुन्छ । अब संक्रमण कुन ढंगले प्रकट हुन्छ, त्यही किसिमले निर्णय हुन्छ,’ वैशाख १६ देखि लकडाउन केहुन्छ भन्ने प्रश्नमा उच्चस्तरीय समितिका संयोजक एवं उपप्रधानमन्त्री ईश्वर पोखरेल भन्छन्– ‘१५ गतेपछि के हुन्छ भन्ने विषय कुनै राजनीतिक विश्लेषण गरेर दिने फैसला र निर्णय होइन, संक्रमणले निर्धारण गरेको गम्भीरता कुन मात्रामा देखापर्छ, कसरी देखापर्छ त्यसकै आधारमा लकडाउनको टुंगो लाग्छ ।’

उनी अगाडि भन्छन्– ‘हामी कोरोना संक्रमणको दोस्राे चरणमा छौं । ट्रान्समिसन भएर मात्र होइन, यहाँका व्यक्तिमा प्रवेश गरेपछि हामीले त्यसो भनेका हौं । अहिले जति पनि देखिएका छन्, आमरूपमा बाहिरबाट आएका व्यक्तिमा संक्रमण देखिने अवस्था छ । त्यसकारण हामीले ट्रेसिङमा ध्यान केन्द्रित गरेका छौं । जसरी बाहिरबाट आएका मान्छे घुमफिर गरे उनीहरूले सोसल डिस्टेन्स पालना गरेनन्, त्यसकारण संक्रमण फैलने अवस्थामा पुग्यो भन्ने हाम्रो बुझाइ छ । त्यसकारण अहिले ट्रेसिङमा जोड दिने, त्यसपछि यथोचित उपचारमा जाने भनेको हो ।’

समितिको शनिबारको निर्णय र केही दिनअघि पोखरेलले बताएका उपरोक्त कुरा हेर्दा कम्तिमा अर्को एक साता लकडाउन लम्बिने नै संकेत मिल्छ । यद्यपि उपत्याकामा अब कोही पनि संक्रमित र उपचाररत नरहेको सन्दर्भमा क्षेत्रगत लकडाउन कायम गरेर १६ गतेदेखि आंशिक खुल्ने सम्भावनालाई पनि नकार्न सकिँदैन ।

यो पनि पढ्नुहोस्–
लकडाउनमा कसरी गर्ने मनको स्याहार ? हुन सक्छन् यस्ता समस्या

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर