newskoseli.Com

काे हुन् कम्युनिस्ट नेता अनिल शर्मा ? प्रहरी नियन्त्रणमा यसरी हुँदैछ उपचार

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वकाे नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय नेता अनिल शर्मा ‘विरही’ को भरतपुर, चितवनस्थित अस्पतालमा क्याबिनमा राखेर उपचार भइरहेको छ । उनी लिस्नुबाट लडेपछि ढाडको उपचार गर्ने क्रममा मंगलबार कलेज अफ मेडिकल साइन्सेसमा आइपुगेका थिए ।

प्रहरीको निगरानीमा रहेका उनलाई सोही साँझ भरतपुर अस्पतालमा भर्ना गरी क्याबिन नं. ३०२ मा राखिएको छ । वरिष्ठ फिजिसियन डा. भोजराज अधिकारीका अनुसार भरतपुर अस्पतालमा पाउने सबै विशिष्ट सुविधा दिएर उनको उपचार गर्ने काम जारी छ ।  विरहीको भरतपुर अस्पतालमा उपचार भइरहेको भन्दै उनकाे उपचारमा कुनै  कमी हुन नदिने चितवनका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद भट्टराईले बताए । उनको रोगअनुसार विशेषज्ञ चिकित्सकले स्वास्थ्य परीक्षण गर्ने काम गरिरहेको र मधुमेह, मिर्गौला, थाइराइड र उच्च रक्तचापको समेत उपचार भइरहेको अस्पताल विकास समितिका अध्यक्ष एवं वरिष्ठ फिजिसियन डा. अधिकारीले जानकारी दिए । डा. अधिकारीका अनुसार विरहीलाई पहिलेदेखि नै ती रोगको समस्या थियो । लिस्नुबाट लडेपछि उच्च रक्तचापको समेत समस्या थपिएको छ । उच्च रक्तचाप नियन्त्रणका लागि बुधबारैदेखि औषधि प्रयोग गरिएको छ ।

अस्पतालका हाडजोर्नी तथा नशा रोग विभागका प्रमुख डा . श्रवणकुमार थापाका अनुसार विरहीको मेरुदण्डको हाड थोरै मात्र धसिएको छ । अहिले विरहीलाई आरामको आवश्यकता रहेको बताउँदैै नदुख्ने औषधि मात्रै दिइएको र पछि फिजियोथेरापी समेत गरिने जानकारी उनले दिए । अध्यक्ष डा. अधिकारीसहित फिजिसियनको समूहले पनि विरहीको स्वास्थ्य परीक्षण गरिरहेको छ । अस्पतालले उनको स्वास्थ्य समस्यानुसार विशेषज्ञ चिकित्सकको पालो मिलाएर परीक्षण गरिएकोे अवगत गराएको छ । विरहीको परिवारले पनि अस्पतालमा उनको आवश्यक सम्पूर्ण उपचार भइरहेको जनाएको छ ।

विप्लव नेतृत्वकाे पार्टीको मर्यादाक्रममा छैटौं तहका नेता रहेका विरही हाल प्रचार तथा प्रकाशन विभागका प्रमुख हुन् । भूमिगत अवस्थामा चितवनको राप्ती नगरपालिका– १०, समिटारमा रहेको अवस्थामा घरको लिस्नुबाट झर्ने क्रममा लडेर उनको ढाडमा समस्या आएको हो । उक्त समस्यापछि उपचारका लागि कलेज अफ मेडिकल साइन्सेसमा आएका समयमा प्रहरीले उनलाई निगरानीमा राखेको हो । प्रहरीले नै साँझ उनलाई भरतपुर अस्पताल ल्याएको हो ।

रत्ननगर नगरपालिका वडा नंं. ५ निवासी ५० वर्षीय विरही बाल्यकालदेखि नै कम्युनिष्ट राजनीतिमा सक्रिय रही लामो समयदेखि भूमिगत रहँदै आएका थिए । सर्वहारा श्रमिक संगठनबाट राजनीति शुरु गरेका उनी नेकपा (एकता–केन्द्र), नेकपा (माओवादी) हुँदै अहिले विप्लव नेतृत्वकाे नेकपाकाे राजनीतिमा सक्रिय रहेकाे खबर राससले प्रेषित गरेकाे छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर