newskoseli.Com

‘सम्पत्ति हुँदा हाई–हाई, विपत्तिमा कोही नाइँ’ : हरियो मकैले धानेको बुढ्यौली

पोखरा महानगरपालिका– १७ स्थित एक पर्खालमा दुईतिर टेको लगाएर पानीबाट जोगिन प्लास्टिकले बेरेर ओत बनाइएको छ । त्यही ओतमुनि केही हरिया मकै आगोको भुङ्ग्रोमा ओल्टाइपल्टाई गर्दै ग्राहकको पर्खाइमा छिन् एक वृद्धा महिला । विगत १० वर्षदेखिको एउटै दिनचर्यासँगै बितिरहेको छ उनको दैनिकी ।

उमेरले ८२ वर्ष पुगेको बताउने उनले आफू अरुकै सहारामा हुर्के–बढेकाले नाम पनि सहारा क्षेत्री रहेको बताइन् । ‘म जन्मेको एक महिनामा आमा बित्नुभयो रे, जसले भेट्यो उसले पाले । अरुको सहाराबाटै हुर्कंदै गएँ । मलाई सहारा दिने आमाका मामाकी छोरीले १६ वर्षमा घर बनाउने काम गर्ने एउटा मान्छेसँग बिहे गरिदिइन् । उसको घर काठमाडौँको छेउ पर्छ रे तर श्रीमानले कहिल्यै घर लगेनन् । घरमा सौता र छोराछोरी पनि छन् रे । मलाई यता (पोखरा) ल्याए, दशकअघि बूढा पनि मरे, चार छोराछोरीले आफ्नै सुर गरे ।’

आगोको भुङ्ग्रोमा दाउरा झोस्दै क्षेत्रीले भनिन्– ‘भाग्यले ठगेकाहरुलाई सधैं दुःख मात्र लेखेको हुन्छ, कर्म गरेर पनि कहाँ सुख मिल्छ र नानी, पाखुराले साथ दिएसम्म दुःख गरेर खान्छु, नसक्ने दिन ईश्वरको भर ।’ जीवनसँग निराश भए पनि बाँच्नुको विकल्पमा परिश्रमसँग जोडिएकी क्षेत्री छोराछोरीका बारेमा केही बोल्न चाहिनन् । निकै भारी मन गर्दै उनले भनिन्– ‘छोराछोरीको कुरै नगर, जन्माएँ, दुःखले हुर्काएँ, अहिले कसैले हेर्दैनन्, बिरामी भएर अस्पताल भर्ना हुँदा पनि कसैले फोन उठाएनन् । दुई छोरा, दुई छोरी जन्माएँ, कोही नारायणघाट छन् कोही हेटौंडामा होलान् कुन्नि, बिरामी हुँदा वास्ता नगर्ने सन्तानलाई जन्माएकी हुँ भनेर किन सम्झनु !’

‘मनको पीडा कसलाई सुनाउनु, आफ्नो पीडा आफैंसँग छ’ भन्दै उनले एक गाँस खानाका लागि बिहानदेखि बेलुकासम्म तातो भुङ्ग्रोमा पसिना बगाउनुपरेको सुनाइन् । पोखराको घारिपाटन कृष्णमन्दिर छेऊको एक घरमा २ हजार ५ सय रुपैयाँ कोठाभाडा तिरेर बस्दै आएकी क्षेत्रीले अरुले नै मकै र दाउरा ल्याइदिने अनि आफूले एकै ठाउँमा बसेर बेच्ने गरेको बताइन् ।

‘मकै कहिले १३–१४ रुपैयाँमा ल्याइदिन्छन्, पोलेर ४० रुपैयाँमा बेच्छु, दाउरा पनि एउटा बाबुले ल्याइदिन्छ, सबैलाई गुहार माग्दै चलाएकी छु । दिनको २५–३० वटा मकै बेच्छु, कहिले त बिक्दैन, भाडा तिर्न गाह्रो भएको छ ।’ रक्तचापको समस्या भएकाले सरसापट गरेर दुई दिनअघि मात्रै १ हजार ३ सय रुपैयाँको औषधि किनेर खाइरहेको क्षेत्रीले बताइन् । हप्ताको एक दिन चर्चमा गएर दिन बिताउने गरेको सुनाउँदै उनले भनिन्– ‘सम्पत्तिमा सबैको हाई–हाई, विपत्तिमा कोही छैन दाजुभाइ ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर