newskoseli.Com

ऐतिहासिक धरहराको पुनर्जीवन (फोटोकथा)

१२ वैशाख, २०७२ मा आएको ७.८ रेक्टर स्केलको विनाशकारी भूकम्पले ढालिदिएको धरहरा फेरि ठडिएर ११ वैशाख, २०७८ मा उद्घाटन हुने अवस्थामा आइपुगेको छ । ढल्दा ९ तले रहेको धरहरा अब २२ तले भएर ठडिएको छ । निर्माण सामग्री, प्रविधि र आकार पुरानो छैन, सबथो नयाँ नै छन् ।

वि.सं. १८८२ सालमा तत्कालीन प्रधानमन्त्री भीमसेन थापाले निर्माण गर्न लगाएको नेपालको राजधानी काठमाडौंको सुन्धारामा अवस्थित धरहरा मुगल शैलीको वास्तुकलामा निर्मित थियो । यसको निर्माण शैलीलाई सैद्धान्तिकरुपमा ‘नियोक्लासिकल शैली’ मानिएको छ । ९ तले यो स्तम्भ वि.सं. १९९० को भूकम्पअघि ११ तले थियो । २ माघ, १९९० मा आएको महाभूकम्पले यसको नवौं तलामा रहेको बार्दलीभन्दा माथिका दसौं र एघारौं तला भत्काइदिएको थियो । त्यसपछि धरहरा ९ तले कायम हुन पुगेको थियो ।

१२ वैशाख, २०७२ को भूकम्पले भत्कनुअघि र भत्किसकेपछिको धरहरा

रानी (भीमसेन थापाकी श्रीमती) ललितत्रिपुरासुन्दरीको रहर र अनुरोधवमोजिम थापाले धरहरा बनाउन लगाएका थिए । उनी प्रधानमन्त्री भएका बेला निर्माण गरिएकाले धरहरालाई ‘भीमसेन स्तम्भ’ पनि भन्ने गरिएको पाइन्छ । तत्कालीन समयमा सामाजिक तथा प्रशासनिक सूचना र जानकारी दिन तथा भेला आह्वान गर्न धरहराको टुप्पोबाट बिगुल बजाउने गरिन्थ्यो । धरहराको शिखरबाट बिगुल बजेको सुनेपछि जंगी र निजामती कर्मचारी कोत वा टुँडिखेलमा अनिवार्यतः जम्मा हुन्थे ।

पुरानो धरहराको उचाइ ६१.८८ मिटर (अर्थात २०३ फिट) थियो । धरहराभित्र २१३ वटा र बाहिर २५ वटा गरी २३८ वटा सिँढी थिए । १८८ सिँढी उक्लिएपछि बार्दलीमा पुगिन्थ्यो । उक्त बार्दलीबाटी काठमाडौं उपत्यकाका अधिकांश भाग सजिलैसँग देखिन्थ्यो । पुरानो धरहराको सबैभन्दा माथिल्लो तलामा शिवलिङ्ग र टुप्पोमा गजुर थियो । पुरानो धरहरा इँट्टा र बज्र (सुर्की, चुन, मास र चाकुको मिश्रण) बाट निर्माण गरिएको थियो ।

पुरानो धरहराको भग्नावशेष अझै सुरक्षित छ र त्यसको छेवैमा छड, कंक्रिट र सिमेन्टको ढलान गरी आधुनिक सामग्री र प्रविधिमा २२ तले नयाँ धरहरा निर्माण गरिएको छ । बाहिरबाट झलक्क हेर्दा पुरानै धरहराजस्तो देखिए तापनि यसको निर्माण सामग्री र प्रविधि मात्र आधुनिक छैन, यो अनेकौं सुविधाबाट समेत सुसज्जित हुने भएको छ । नयाँ धरहरा बाहिरबाट ११ तले देखिए तापनि भित्री भागबाट २२ तले छ ।

२४५ फिट अग्लो यो नयाँ संरचनाको १८औं तलामा मिनी प्रदर्शनी थियटर समेत हुने बताइएको छ । यसको वरिपरि टक्साल संग्रहालय, ग्रीन पार्क, म्युजिकल फाउन्टेन, गाडी पार्किङ क्षेत्र, स्मारिका पसल र खाना कोर्टलगायतका आकर्षण समेत रहने तयारी छ । नयाँ धरहरालाई ‘याे त धरहरा नै होइन, टावर मात्रै हो’ भन्नेहरु पनि छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर