newskoseli.Com

‘महिनावारी, महिलालाई भारी’ किन ?

बालिका किशोरावस्थामा प्रदेश गरेदेखि सुरु हुने स्वभाविक जैविक प्रक्रिया हो ‘महिनावारी’ । महिलाको गर्भाशयको भित्री अस्तर रगत र ऊतक योनीबाट निष्कासन हुने प्रक्रियालाई महिनावारी बार्ने, छुई, परसर्ने तथा छाउ प्रथा जस्ता विभिन्न नाम दिइएको छ । साधारणतया १२ देखि १५ वर्षको उमेरदेखि सुरू हुने महिनावारी ४५ देखि ५५ भित्रमा सकिन्छ ।

शरीरमा भएका रागरसहरू (Hormones) को मात्रामा हुने परिवर्तनले महिनावारी हुन्छ । यो प्राकृतिक सरसफाइ प्रक्रिया पनि हो । एउटी केटी हरेक महिना गर्भवती हुन तयार हुने सङ्केत पनि हो महिनावारी । नेपाली समाजमा महिनावारी हुनुलाई ‘पाप’को रुपमा मानिन्छ । हाम्रै घर समाजमा हेर्न सक्छौं, किशोरी पहिलो पटक महिनावारी हुँदा उसलाई लुकाउने चलन छ । हरेक महिना महिनावारी हुँदै गर्दा उनी अछुत हुन्छिन् । घरमा पालिएको कुकुर जान मिल्ने स्थानमा महिनावारी भएकी महिला जान पाउँदिनन् । हिजोसम्म चोखो र पवित्र मानिएकी एउटी किशोरी महिनावारी भएपछि अछुत बन्न पुग्छिन् । उनले छोएको पानी चल्दैन, पूजा कोठा त परको कुरा भान्छा चल्दैन । महिनावारी भएपछि ४ दिन अलग्गै कोठामा राखिन्छ र खाना पु¥याईन्छ । पुरुषहरु दाजु–भाई, श्रीमान्–ससुरालाई छुनु हुँदैन भन्ने चलन छ ।

हिजोसम्म कन्या देवीको रुपमा पुजिने मानिने किशोरीलाई महिनावारी भएका बेला ‘भगवानले सरापे’ भन्दै छिःछि र दुरदूर गरिन्छ । महिनावारी भएका बेला आवश्यक सरसफाई र आराम हो । पोषिलो खाने कुरा हो, अझ पीडा भए औषधि पनि हो । तर हाम्रो समाजमा महिनावारी भएपछि यो छुन हुन्छ र त्यो छुन हुँदैन भन्दै भनेको नमाने पाप लाग्छ भन्ने मनोविज्ञान भरिन्छ । किशोरीदेखि दिगामामा महिनावारीमा पाप र धर्मको कुरामात्रै भरिदिएपछि ती महिना पछि पनि पाप र धर्ममै अल्झिन पुग्छिन् ।

एउटी पढेलेखेकी शिक्षित बुहारीलाई महिनावारी किन बार्ने ? भन्ने प्रश्नको जवाफमा भन्छिन्, ‘कम्तिमा चार दिन त आनन्द हुन्छ, घरको केही काम गर्नु पर्दैन ।’ किनकी उनी महिनावारीका बेला पाउने तिरस्कार सानैदेखि भोग्दै आएकी हुन्छिन् । त्यसैले उनलाई सामान्य लाग्छ ।

कथित मै हुँ भन्ने समाजका बुझेको परिवारमा पनि ‘महिनावारी’ बार्ने प्रचलन छ । आफूलाई बुज्रुक भन्ने पुरुषहरु पनि घरमा छोरी बुहारी र श्रीमतीलाई महिनावारी बार्नु हुँदैन भनेर उभिन सक्दैनन् । अचेलको पढेलेखेका युवा पुस्ताहरु पनि महिनावारीलाई कडाइका साथ नबार्ने अभिव्यक्ति दिइरहँदा उनीहरु विर्सन्छन्, उनीहरु महिनावारी भएकै कारणले विभेदमा परेका छन् । ‘हामी घरमा महिनावारी बार्दैनौ’ भन्नेहरु पनि महिनावारी भएका बेला छुट्टै कोठामा बस्ने, परिवारका अन्य सदस्यहरुसँग खाना खान नपाइने, पुरुष सदस्यहरुलाई नछोई बस्नु, आफूले चलाई पकाई गरेका भान्छाहरु चल्दैन’ भन्ने कुराको हेक्का राख्दैनन् । पहिलाको कडा शासन ‘पन्छिनु’ ४ दिनबाट महिनावारी अहिले धेरै परिवर्तन आएको प्रतिक्रिया दिन्छन् । केहीले त महिनावारी बार्नु भनेको पश्चिम जिल्लाहरुमा ‘छाउ प्रथा’ मात्रै भएको पनि बताउँछन् । भन्छन्, ‘त्यस्तो धेरै बार्दैनौ, घरमा बुढी आमा हुनुहुन्छ, वा बा हुनुहुन्छ, त्यसैले अलिअलि भने उहाँकै लागि बार्ने गर्छौ ।’ अचम्मको कुरा यसको अर्थ के उहाँहरु मर्नुभयो भने बार्दैनौ या उहाँको मृत्यु कुरेर बसेका छौं ?

महिनावारीमा गरिने व्यवहारले केही महिलालाई भने यो प्रक्रिया नभएपनि हुने जस्तो बनाउँछ । तर एक जनाको आवाजलाई उनका वरिपरि भएकाहरुले नै दवाउन भरपूर कोशिस गर्छन् । त्यसैको उदाहरण हुन बौद्ध नयाँ बस्तीकी शोभा केसी (नाम परिवर्तन) विवाहपछि पुडासैनी बनिन् । जमानाका शिक्षक उनका बाबुका कारण उनीहरु ४ जना दिदीबहिनी कसैले पनि महिनावारी बार्नुपरेन । साइली छोरी उनले थाहा पाउने बेलासम्म पनि आमा महिनावारी बार्न खोज्थिन, तर बाबुले सम्झाई बुझाई गर्नुहुन्थ्यो । महिनावारी नबार्दा उनी आफूलाई स्वतन्त्र महशुस गर्थिन् । बीए पढ्दा सँगै पढ्नेसँग प्रेम विवाह गरिन्, विवाहपछि पुडासैनी परिवारले ‘महिनावारी’का विषयमा उनले पाएको स्वतन्त्रतामा अंकुश लगायो । उनले महिनावारी सामान्य हो भन्दै नबार्न खोज्दा ‘माइतीमा आमाले केही नसिकेकी, कुसंस्कारी’ जस्ता उपनाम दिइयो । यस विषयमा श्रीमान्ले पनि उनलाई साथ दिएनन् । अन्तिममा बाबुआमाका लागि पनि महिनावारी बार्नुपर्ने बाध्यतामा उनी परिन् । महिनावारी हुँदा गरिने विभेदले कैयन पटक उनले आफू महिनावारी नभएको भन्दै टार्थिन् । तर महिनापुगेपछि घरमा ‘तिमी महिनावारी भयौं ?’ भन्दै पटक पटक सोधिने प्रश्नले शोभा आजित हुन्थिन् र कहिलेकाँही महिनावारी नहुँदा पनि ‘भए’ भन्ने प्रतिक्रिया दिन्थिन् । उनलाई महिनावारी बार्नका लागि एकोहोरो दवाव दिनेसँग पटक पटक विवाद भएपछि बाध्य भई परिवारको कुरा मान्न थालिन । महिनावारीका बेला गरिने व्यवहार उनका लागि मुटुमा काडा जसरी विझ्छ । तर बाध्यता, त्यसलाई स्वीकार गर्नुपर्छ । उनी आफ्नै ५ वर्षीया छोरीलाई भने के गर्ने, महिनावारीका विषयमा के सम्झाउने अन्यौंलमा छिन् । महिनावारी सामान्य प्रक्रिया हो भन्ने बुझेकी शोभाले छोरीलाई पनि त्यही सिकाउँदा भविष्यमा आफूलाई जस्तो समस्या हुने र महिनावारी बार्नुपर्छ, यो महापापको परिणाम हो भन्न उनको मनले मान्दैन ।

‘छाउ, छुई, पर सर्नु वा महिनावारी जस्ता विभिन्न नाम दिइएको यस प्राकृतिक प्रक्रियाका बेलामा सरसफाई वा खानपानमा ध्यान दिन सिकाउनुपर्छ । पाप र धर्मको नाममा यो छुन हुन्छ र हुँदैन भन्दै आत्मसम्मानमा ठेस पु¥याउने काम बन्द गर्नुपर्छ ।

शोभा प्रतिनिधि पात्र मात्रै हुन्, महिनावारी मान्नु हुँदैन भन्ने । यस्तै संघर्ष गर्नेहरु अहिले हजारौं छन् । तर उनीहरुको आवाजलाई वरिपरिकाहरुले दवाउने काम गरिरहेका छन् । कोही खुलेर आवाज उठायो भने त्यसलाई विभिन्न लाल्छना लगाईन्छ । ती लाल्छना सावित गर्न सकियोस या नसकियोस, भन्न बाँकी राखिँदैन । यस्तै छ हाम्रो समाज ।

भलिवल खेलाडी एवं पत्रकार प्रकृति नेपाल (तारा) महिनावारीका विषयमा यस्तै धारणा राख्छिन् । सिन्धुपाल्चोक चौतारा साँगाचोकगढी नगरपालि ४ कि ताराले माइतीमा छँदा कहिलै महिनावारी बार्नु परेन । उनका बुबा र दाजुले नै महिनावारी बार्नु हुँदैन भन्दै सँगै खाना खाइदिन थालेपछि उनीहरु कसैले पनि महिनावारी बारेनन् । राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा समेत विभिन्न प्रतियोगिताहरु खेलिसकेकी तारालाई महिनावारीका कारण बाहिरी दुनियामा खासै फरक परेन । महिनावारी हुँदा पनि उनी खेल खेल्थिन् । विवाहपश्चात उनको घरमा पहिले केही नियमहरु पालना गर्नुपर्ने भएपनि विस्तारै विस्तारै उनले जित्दै गईन् । महिनावारी सामान्य प्रक्रिया हो । यो बार्नु हुँदैन भन्दै परिवारलाई बुझाएपछि अहिले उनको घरमा पनि कसैले महिनावारी बार्दैनन् । तारा आजको युगमा ‘छाउ प्रथा’ जस्तो जघन्य प्रथा उन्मुलन गर्नु पर्छ भन्ने मान्यता राख्छिन् । त्यसका लागि पहिला आफैबाट सुरुवात गर्नुपर्ने राय व्यक्त गर्छिन् ।

सी नेपालकी अभियान्ता एवं डा.गरिमा श्रेष्ठ महिनावारी भन्नेवित्तिकै विकाराल सोच्ने हाम्रो समाजको सोच परिवर्तन हुन जरुरी भएको बताउँछिन् । महिनावारीका विषयमा हाम्रो परिवार, समाजमा, दाजु, बुवाहरुसँग खुलेर कुरा गर्न सक्नुपर्ने धारणा राख्छिन् । महिनावारीका विषयमा घरमा सामान्यीकरण नभएसम्म समाज परिवर्तनको झ्याली पिटेर केही उपलब्धी नहुने उनको धारणा छ । काठमाडौंमा बसेर ‘छाउ प्रथा’को विरोध गर्नेहरुलाई उनी भन्छिन्, ‘तपाईहरु पनि छाउ प्रथा मानिरहनु भएको छ । फरक यति हो कि सुदूरपश्चिममा छाउ गोठमा यो मानिन्छ, तपाईहरु काठमाडौंवासी वा शहरवासीहरु घरकै कुनै कोठामा छाउ प्रथा बारिरहनु भएको छ । जबसम्म यो प्रथा गलत हो, भन्ने चेतना मानिसमा आउँदैन, तबसम्म छाउको जरा निकाल्न सकिँदैन ।

अचेलका पढेलेखेका केही बुझेका महिला तथा किशोरीहरु ‘अलि अलि बार्छौ, हजुरआमा, बुवाका लागि बार्छौं, अथवा अन्य कुनै यस्तै बहाना बनाएर महिनावारी बार्नुले सोभा दिन्छ भन्ने प्रश्न बनेको छ । यदि दिन्छ भने त्यस्ताले छाउ प्रथा र छाउ उन्मुलन हुनुपर्छ भन्न जरुरी छैन । काठमाडौं उपत्यकामा बसेर सुदूरपश्चिमको ‘छाउ प्रथा’को विरोध गरिरहेका उनीहरुले ‘महिनावारी सामान्य बार्छु’ भन्नु नै गलत पो हो कि । नेपालका लागि काठमाडौं उपत्यका जस्तो विकसित क्षेत्रमा बसेर, पढेका, बुझेका महिलाहरु घरभित्र महिनावारी अलिअलि बार्ने र घरबाहिर ‘छाउ प्रथा’ अन्त्य हुनुपर्छ भन्दै नारा लगाउनु पनि गलत हो ।

‘छाउ, छुई, पर सर्नु वा महिनावारी जस्ता विभिन्न नाम दिइएको यस प्राकृतिक प्रक्रियाका बेलामा सरसफाई वा खानपानमा ध्यान दिन सिकाउनुपर्छ । पाप र धर्मको नाममा यो छुन हुन्छ र हुँदैन भन्दै आत्मसम्मानमा ठेस पु¥याउने काम बन्द गर्नुपर्छ । त्यसका लागि जनचेतना अभिवृद्धि गराउन जरुरी छ । यदि त्यसरी पनि नमाने कडा कानुन निर्माण तथा कार्यान्वयन गरी विभेद अन्त्य गर्नुपर्छ । महिलालाई महिनावारी ‘भारी’ हुनबाट जोगाउन सकिन्छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर