newskoseli.Com

अध्यक्ष खड्ग ओलीलाई झापाबाट खुलापत्र

तपाईंलाई जिताउन हामीले राप्रपाको झन्डा बोकेको बिर्सनुभो ?

कमरेड अध्यक्ष,
नेकपा एमाले, केन्द्रीय कमिटी

विषय : अनुरोध सम्बन्धमा ।

खासै लेख्नैपर्ने त केही थिएन, यद्यपि तपाईंलाई अध्यक्ष मानेर सायदै अन्तिम पत्र लेख्दैछु । कमरेड, लगभग डेढ दशकको जेलजीवनसहितको पाँच दशक लामो तपाईंको राजनितिक इतिहास बालुवाटारको एक थान कुर्सीका लागि लिलाममा बिक्री गर्नुभएकोमा सर्वप्रथम दुःख व्यक्त गर्दछु ।

नाकाबन्दीलाई एउटा कुख्यात टेलीचलचित्रजस्तो बनाएर कमाएको ‘राष्ट्रवादी’ परिचय मोदीको परिकल्पनामा राजेन्द्र महतोजस्ता राष्ट्रघातीसँगको ‘मेलमिलाप’ ले माटोमा नमिलाउनुपर्थ्यो । तर, त्यस्तो भएन । सामन्त–दलाललाई ‘सफाया’ गरेर उदाएको तपाईंको इतिहास सामन्त गोयलको टाङमुनि छिरेर समाप्त हुने बाटोमा छ ।

पार्टी एकताको नाटक मञ्चन गरी प्रधानमन्त्री बन्न त सफल हुनुभयो तर राष्ट्रको प्रमुख कार्यकारीजस्तो पदलाई ‘मदन भण्डारी फाउण्डेसन’ को अध्यक्ष वा सो सरह मान्नुभयो, जुन तपाईंको राजनीतिक जीवन ओरालो लाग्ने पहिलो खुड्किलो बन्यो । दुइतिहाइको जनमत एकतिहाइ हाराहारीमा झरिसक्दा अनि संसद्मा विश्वासको मत गुमाउँदागुमाउँदै पनि श्रीपेच नै लाउन खोज्नु तपाईंको बेइमान राजनीतिको पराकाष्ठा हो भन्ने मेरो ठहर छ ।

जनताको सात दशक लामो संघर्षपछि बनेको संविधानमार्फत बनेको संसद्, आफ्नै बहुमत हुँदा पनि संविधानको मर्मविपरीत भालेझ्वाँक देखाउँदै भङ्ग गर्नुभो । भङ्ग मात्र गर्नुभएन, अदालतले तपाईंको कुकर्मलाई पास हुन नदिएपछि पुनस्र्थापित संसद् पनि अर्को झ्वाँकमा सिध्याइदिनुभयो । जसलाई प्रधानमन्त्री कार्यालयको छाप लाउने खरिदार वा सो सरहकी ‘राष्ट्रपति’ ले छाप नलगाइदिने कुरै भएन । यतिसम्म कि, बालुवाटार र शितलनिवास मात्र होइन, स्वतन्त्र न्यायालयमा पनि ‘सेटिङ’ गरेर ऐतिहासिक वाम एकतालाई समेत गर्भमै तुहाउन ‘सफल’ बन्नुभयो ।

प्रधानमन्त्री बन्न नेकपा (एमाले) र जनताको बहुदलीय जनवाद (जबज) लाई समेत वाग्मतीको किनारमा अन्त्येष्टि गरेर पछि फेरि सेटिङकै आधारमा दुई पार्टीलाई अलग–अलग बनाएर पुनस्र्थापित हुन पुगेको एमालेलाई नै आफूले अंशमा पाएको निजी सम्पत्तीजस्तो मान्नु नै तपाईंको लेन्डुपमार्गको यात्राको सुरुआत थियो । काम नगरेका कारण भारतको पश्चिम बंगालमा वामपन्थी आन्दोलन कसरी विसर्जन भयो ? अनि त्यही भारतको केरलामा काम गरेवापत कसरी वामपन्थीहरुको एकल सरकार बन्यो ? यस विषयमा जानकार नै हुनुहुन्छ होला । यसको मतलव जनता कसैका पेवा हुँदैनन् भन्ने ज्ञान पक्कै भयो होला ।

मनमोहनले नौमहिने अल्पमतको सरकारमा गरेका कामको नारा लगाएर कहिलेसम्म भोट माग्ने ? अब त ओलीको दुइतिहाइको सरकारले गरेका काम देखाएर भोट माग्ने बेला होइन र ?
आफूले गर्दा नै दुईतिहाइ आएको भन्ने एकलकाँटे सोच तपाइको जीवनकै भयङ्गकर भूल हो । यथार्थ त तपाईंलाई जिताउन हामी झापालीले राप्रपाको झण्डा बोकेकोचाहिँ पो हो नि ! म जहिले पनि वामपन्थी एकताको पक्षमा आवाज उठाउने मान्छे हुँ । वाम एक भएकै कारण दुइतिहाइ आएको यथार्थ भुल्नु हुँदैन ।

अध्यक्षका नाताले पार्टीमा भएको बिग्रहको जिम्मा तपाईंले नै लिनुपर्छ । पार्टीभित्रको अन्तर्विरोध हल गर्न नसक्नुले तपाईंको नेतृत्व क्षमतामाथि गम्भीर प्रश्नचिह्न उठ्छ नै । जे भए पनि अन्तमा पार्टी एकताका लागि विभिन्न खुराफातमा नलागी निम्न छ बुँदाको कार्यन्वयन गर्नका लागि अनुरोध गर्दछु–

  1. सत्ता टिकाउनभन्दा पनि पार्टी जोगाउन प्रतिबद्ध हुँदै पार्टीलाई २ जेठ, ०७५ को स्थितिमा पुर्‍याउने ।
  2. संसद विघटन गर्नु गल्ती भएछ भनेर पार्टी पंक्तिसँग माफी माग्ने ।
  3. स्वतन्त्र न्यायपालिकाका सबै अवधारणा मान्ने ।
  4. प्रधानमन्त्री र पार्टी अध्यक्षमध्ये एक पद रोज्ने ।
  5. सबै नेतामाथि गरिएका कथित कारबाही विनासर्त फिर्ता लिने ।
  6. पुरानो पाठ्यक्रमबाट हटाइएको ‘नैतिक शिक्षा’ पुनः सुचारु गरी आफू पनि पढ्ने ।
    धन्यवाद ! क्रान्तिकारी अभिवादनसहित !!

भीष्मराज पौडेल
नेकपा (एमाले) काे संगठित सदस्य, झापा

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर