newskoseli.Com

ओली ‘ओभर स्मार्ट’ बन्दा एमालेलाई घाटैघाटा (कहाँ–कहाँ, के–के क्षति ?)

झन्डै दुईितहाइकाे बहुमत प्राप्त संघीय (केन्द्रीय) सरकारका प्रधानमन्त्री र एकल बहुमत प्राप्त गर्ने हैसियत बनाएको मुलुकको सबैभन्दा ठूलो दलका एक अध्यक्ष समेत रहेका खड्ग ओलीले अराजनीतिक, असामाजिक, अमर्यादित, असभ्य र उत्ताउलो एवं राष्ट्रघाती–जनविरोधी व्यवहार गर्दा एमालेलाई चौतर्फीरूपमा घाटैघाटा भएको छ ।

दुईतिहाइ बहुमत प्राप्त सरकारको नेतृत्व गरेका ओली यतिबेला निचोरेको कागतीजस्तै अनुहार लगाएर प्रतिपक्षको बेन्चमा खुम्चन पुगेका छन् । केन्द्रमा मात्र नभई मुलुकका सातमध्ये ६ वटा प्रदेश सरकारमा समेत दुइतिहाइसहितकै नेतृत्व गरिरहेको तत्कालीन नेकपाका अध्यक्ष ओली यतिबेला नेकपा टुक्रिएर बनेको एमालेको समेत अध्यक्ष रहन सकेका छैनन्, एमालेभित्रको पनि एउटा सानो समूह अर्थात् ओली समूहको मात्रै अध्यक्षका रूपमा खुम्चन पुगेका छन् ।

त्यत्रो ठूलो जनमतले दिएको अवसरलाई दुरूपयोग गरेकै कारणा एमालेले सङ्घीय सरकारको नेतृत्व मात्र गुमाएन, पूरै सरकारबाट समेत हात धुन पुग्यो । तत्कालीन नेकपा विघटित भएर माओवादी केन्द्र–एमाले पुनर्स्थापित भएको केही समयपछि एमाले नेतृत्वको सरकारबाट माओवादी केन्द्रले समर्थन फिर्ता लियो । र ओली सरकार अल्पमतमा पर्‍यो ।

प्रधानमन्त्री पदबाट अपदस्थ भएपछि बालुवाटारस्थित सरकारी निवासबाट भक्तपुरको बालकोटस्थित निजी निवास फर्केलगत्तै आफ्नो घरको बार्दलीबाट पार्टीभित्र र बाहिरका विपक्षीलाई गाली गर्दै एमाले अध्यक्ष ओली ।

तत्कालीन प्रधानमन्त्री ओलीले दुई–दुई पटक प्रतिनिधिसभा विघटन गरेर ‘राजनीतिक क्षति कम गराउने’ प्रयास गरे पनि दुवै पटक सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापित गरिदियो । परिणामतः ओली समूह सङ्घीय सरकारबाट अपदस्थ हुन पुग्यो ।

प्रदेशमा झन् बेहाल

एमालेका तर्फबाट चार र माओवादीका तर्फबाट दुई गरी तत्कालीन नेकपाले छवटा प्रदेशमा सरकारको नेतृत्व गर्दै आएको थियो । नेकपा विघटित भएसँगै एमालेले चार र माओवादी केन्द्रले दुईवटा प्रदेश सरकारको नेतृत्व गर्दै आएकामा ओलीले ती दुईवटाबाट समेत माओवादीलाई हटाउन खोज्दा उल्टै दुईवटा प्रदेशबाट हात धुन एमाले बाध्य भयो । अब ओली समूहको उपस्थिति दुईवटा प्रदेश सरकारमा मात्र बाँकी छ ।

आफ्नै पार्टीभित्रको खनाल–नेपाल पक्षलाई ‘भित्तामा पुर्‍याउने’ हर्कत गर्दा ओली समूह आफ्नै नेतृत्वमा रहेका चारमध्ये दुईवटा प्रदेशबाट बढारिन पुगेको छ । गण्डकी र लुम्बिनी प्रदेश सरकारबाट हात धुन पुगेको ओली समूह अब बागमती र एक नम्बर प्रदेशमा मात्र खुम्चन पुगेको छ ।

एमालेको नेतृत्वसहित उपस्थिति बाँकी रहेका ती दुई प्रदेश सरकारमा पनि ओली समूहको हालत निकै कमजोर छ । एमालेभित्र जारी विवाद बढ्दै गएमा एमाले बाँकी दुई प्रदेश सरकारबाट समेत ओली समूहले हात धुनुपर्ने निश्चितप्रायः छ । एमालेभित्रको विवाद समाधान नभएमा प्रदेश १ र बागमतीमा समेत ओली समूह बढारिने पक्कापक्की देखिन्छ । खनाल–नेपाल पक्षले सहयोग नगरेको अवस्थामा बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेल र प्रदेश– १ का मुख्यमन्त्री शेरधन राईको सरकार पनि गिर्ने यथार्थता प्रदेशसभाको अंकगणितले छर्लंगै देखाइरहेको छ ।

राष्ट्रियसभामा पनि उही हाल

ओलीको उत्ताउलोपनका कारण एमालेले राष्ट्रियसभामा समेत दुई सिट गुमाएको छ । बागमती र लुम्बिनी प्रदेशअन्तर्गत भएको राष्ट्रियसभा सदस्य पदको उपनिर्वाचनमा समेत एमालेकै मतदाताकाे बहुमत हुँदाहुँदै पनि ओली समूहका दुवै उम्मेदवार पराजित भए ।

उपनिर्वाचनमा बागमती प्रदेशअन्तर्गत ओली समूहले उम्मेदवार रामबहादुर थापा ‘बादल’ पराजित भई विपक्षी गठबन्धनका उम्मेदवार खिमलाल देवकोटा विजयी भए । लुम्बिनीमा पनि ओली समूहका उम्मेदवार चन्द्रबहादुर खड्कालाई पराजित गर्दै विपक्षी गठबन्धनका उम्मेदवार दृगनारायण पाण्डे विजयी बने । आफ्नो पार्टीभित्र ओलीले रडाको नमच्चाएका भए राष्ट्रियसभाका ती दुवै सिटमा एमालेले जित्ने निश्चितै थियो ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर