newskoseli.Com

ओली समूह बढारियो देशैभरबाट : केन्द्रसहित सबै प्रदेशबाट सत्ताच्युत !

नयाँ संविधान लागू भएपछिको पहिलो प्रतिनिधिसभा एवम् प्रदेशसभा चुनावमा नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) बीचको गठबन्धनका आधारमा झण्डै दुईतिहाइ बहुमत हासिल गरी नेकपाको नेतृत्वमा संघीय (केन्द्रीय) सहित सातमध्ये छ प्रदेशमा शक्तिशाली सरकार बनेका थिए । तर, विडम्बना ! त्यो शक्ति र सत्ता नेकपाभित्र एमाले र एमालेभित्रको ओली समूहले एकलौटी हात पारेको थियो । सातमध्येका चार प्रदेश र केन्द्रसहितको नेतृत्व एकलौटी हड्पेको ओली समूह आजका मितिसम्म आइपुग्दा भने सबैतिरबाट सत्ताच्युत भइसकेको छ ।

एमाले अध्यक्ष खड्ग ओली नेतृत्वको संघीय (केन्द्रीय) सरकार अपदस्थ भएर कांग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनेको करिव डेढ महिना भइसकेको छ । सबैभन्दा पहिले ओली समूहकै नेता पृथ्वीसुब्बा गुरुङ नेतृत्वको गण्डकी प्रदेश सरकार गिरेर त्यहाँ पनि कांग्रेस नेतृत्वकै प्रदेश सरकार बन्यो । त्यसपछि मुख्यमन्त्री रहेका ओली समूहकै नेता शंकर पोखरेल लुम्बिनी प्रदेश सरकारबाट लज्जास्पद किसिमले अपदस्थ भए । त्यहाँ माओवादी केन्द्रका नेता कुलप्रसाद केसी मुख्यमन्त्री बनेका छन् ।

गतसाता वागमती प्रदेश सरकारका मुख्यमन्त्री डोरमणि पौडेल हटे र झलनाथ खनाल–माधवकुमार नेपाल नेतृत्वको एमाले ‘विद्रोही’ पक्षकी नेता अष्टलक्ष्मी शाक्य मुख्यमन्त्री बनिन् । अन्ततः बिहीबार मात्र पनि ओली समूहकै नेता शेरधन राई प्रदेश– १ को मुख्यमन्त्री बनेका छन् । र, त्यहाँ पनि एमाले ‘विद्रोही’ पक्षकै नेता भीम आचार्य मुख्यमन्त्री बनेका छन् ।

प्रदेश– २ मा सुरुदेखि नै जसपाको सरकार छ भने कर्णाली र सुदूरपश्चिम प्रदेशमा सुरुदेखि नै माओवादी केन्द्रको नेतृत्वमा प्रदेश सरकार क्रियाशील छन् । यसरी केन्द्रीय सरकार र चारवटा प्रदेश सरकारमा कब्जा जमाएको ओली समूह केन्द्रसहित सबै प्रदेशबाट बढारिन पुगेको छ ।

यद्यपि, वागमती र प्रदेश– १ मा मुख्यमन्त्री बनेका अष्टलक्ष्मी र भीम आचार्य ‘विद्रोही’ एमालेले माधवकुमार नेपालको नेतृत्वमा दर्ता गराएको नयाँ पार्टी ‘नेकपा (एकीकृत समाजवादी)’ मा समाहित भने भइसकेका छैनन् । पछिल्लो समय ओली समूहमा लागेका भनी प्रचार गरिएका उनीहरु हालसम्म एमालेमै रहे तापनि उनीहरु ओली समूहका भने होइनन् र हुने छैनन् । एमालेभित्रै रहे तापनि उनीहरुको बेग्लै समूह, विचार र योजना रहेको सो समूहको दावी छ ।

विगतदेखि नै क्रमशः माधवकुमार नेपाल र झलनाथ खनालका ‘अत्यन्तै निकटस्थ’ नेताका रुपमा चिनिएका अष्टलक्ष्मी शाक्य र भीम आचार्य अन्ततः नयाँ पार्टीमै आबद्ध हुने स्रोतहरुको दावी छ । प्रदेश र स्थानीय तहका जनप्रतिनिधिहरुले नयाँ दल दर्ता भएको २१ दिनसम्म नयाँ पार्टी रोज्न पाउने कानुनी व्यवस्था हालै जारी अध्यादेशले गरेको छ । सो अवधिभित्र शाक्य र आचार्य नेपाल–खनाल नेतृत्वकै पार्टीमा लागिसक्ने अड्कलबाजी धेरैले गरेका छन् । उनीहरु यदि त्यता लागेनन् र एमालेमै रहिरहे भने पनि ओली समूहचाहिँ देशभर सबैतिरबाट सत्ताच्युत भई नै सकेको छस अन्तिममा बाँकी दुई वटा प्रदेश सरकारको नेतृत्व समेत पार्टीभित्रकै ‘विपक्षी’ खेमाको हातमा पुगिसकेको छ र ओली समूह सबैतिर गुमाएर हात धुन अभिशप्त भइसकेको छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर