newskoseli.Com

८६ वर्षीय मैनालीको विश्वास : ‘परिवर्तन त माओवादीबाटै मात्र सम्भव छ’

कमलादीस्थित प्रज्ञा भवनको परिसर । हातमा क्लियर ब्याग, गलामा गलबन्दी र शिरमा ढाका टोपी । घाँटीमा महाधिवेशन प्रतिनिधिको कार्ड । उमेर नौ दशक उक्लने तयारी अर्थात् ८६ वर्ष ।

तादी गाउँपालिका– ७, नुवाकोटका फत्तप्रसाद मैनालीको सामान्य हुलिया हो यो । नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनमा सहभागी हुन नुवाकोटको सुन्दरादेवीबाट काठमाडौं आएका मैनाली एकै क्षण महाधिवेशनस्थलमा राखिएका जनयुद्धकालीन तस्बिरमा टक्क अडिए । जनयुद्धकालका नेता तथा माओवादी लडाकुका तस्बिर हेरे ।

‘हाम्रो इतिहास है यो, नेपालको राजनीतिक परिवर्तनको इतिहास’– मैनालीले आफ्नै सुरमा प्रतिक्रिया जनाए । अनि, महाधिवेशनको फ्लेक्स अगाडि उभिएर हल्का मुस्कुराए । यो दृश्य नियालिरहेकाे याे सञ्चारकर्मी उनका अगाडि पुगेर नमस्कार गर्‍याे र सोध्यो– ‘बुबा, तपाईं पनि महाधिवेशन प्रतिनिधि हो ?’ गलामा झुण्ड्याएको कार्ड देखाउँदै उनले भने– ‘हो, म ज्येष्ठ कम्युनिस्ट मञ्चका तर्फबाट महाधिवेशन प्रतिनिधि ।’

असाध्यै फूर्तिका साथ उनी कुराकानी गर्न तयार भए । ‘युवानेताको जस्तै युवाजोश र जाँगर छ मसँग, देशमा ठोस परिवर्तन होस् र राजनीतिक स्थायित्व होस् भन्ने कामना छ,’ उनले भने– ‘कम्युनिस्ट आन्दोलनलाई अझै नयाँ उचाइमा पुर्‍याेउने धोको पनि छ ।’ त्यही धोको बोकेर नेकपा (माओवादी केन्द्र) को आठौं महाधिवेशनमा सहभागी हुन आएको उनले सुनाए ।

माओवादी केन्द्रको महाधिवेशनमा सहभागी ८६ वर्षीय प्रतिनिधि फत्तप्रसाद मैनाली । तस्बिरः रासस ।

महाधिवेशनबाट के अपेक्षा गर्नुभएकाे छ त भन्ने प्रश्नमा मैनालीले भने– ‘देशमा हालसम्म भएका सबै राजनीतिक परिवर्तनको नेतृत्वकर्ता माओवादी पार्टी हो, यो पार्टीलाई अझै समृद्ध बनाउने धोको राखेर महाधिवेशमा सहभागी हुन आएको हुँ ।’ माओवादीले पार्टीमा युवा, वयस्क र ज्येष्ठ उमेरसमूहको सम्मिश्रण गर्ने लक्ष्य राखेको छ । वृद्धको अनुभव र ज्ञान, युवाको जोस अनि वयस्कको सुझबुझपूर्ण नेतृत्वलाई एकैसाथ अगाडि बढाउने लक्ष्य राखिएको छ । पार्टीमा पहिलो पटक २० प्रतिशत युवालाई सहभागी गराउने लक्ष्य राखेको माओवादीमा अरु युवाजस्तै काम गर्न सक्छु भन्ने जोस आफूमा रहेको मैनालीको भनाइ छ ।

पुसको चिसोमा पनि उस्तै जाँगरका साथ कमलादीमा महाधिवेशनको फ्लेक्स अगाडि उभिएर मैनाली भन्छन्– ‘मुलुकको मुक्ति माओवादीबाटै मात्र सम्भव छ ।’ कता–कता रुमल्लिँदा माओवादीले बाटो बिराएजस्तो, एजेन्डा हराएजस्तो लागेको टिप्पणी गर्दै याे महाधिवेशनबाट भने पार्टीमा सुधार आउने विश्वास मैनालीले व्यक्त गरे । सहमतिबाट नै नेतृत्व चयन होस् भन्ने उनका चाहना छ ।

नेपालमा २००७ मा राणाशासनको अन्त्य भए पनि त्यसको प्रभाव लामो समयसम्म रहेको र त्यसलाई माओवादी जनयुद्धले समूल अन्त्य गरिदिएको मैनालीको भनाइ छ । गाउँ–गाउँबाट राजनीतिक चेत र जागरण ल्याउने काम माओवादी जनयुद्धले गरेको बताउने मैनालीले महाधिवेशनपछि माओवादी अझै इस्पातिलो भएर आउने विश्वास व्यक्त गरे । जनयुद्धमा भएको बलिदानको मूल्य स्थापित गराउन माओवादी नेतृत्वले दृढताका साथ पहल गर्नुपर्ने उनकाे सुझाव छ ।

राष्ट्रियताको मुद्दामा स्पष्ट भएर अगाडि बढ्न पार्टी नेतृत्वलाई सुझाव दिए मैनालीले । जनताको विश्वास तथा साथलाई भने नङ र मासुजस्तै कायम राख्नुपर्ने बताउँदै उनले भने– ‘जनता माओवादीको पक्षमा छ, केही मानिसले गलत गर्ने प्रयास गरे, त्यसलाई सच्याएर अगाडि जानुपर्छ ।’ जनताको परिवर्तनका एजेन्डालाई अगाडि बढाउने तागत माओवादी पार्टीमा नै रहेको भन्दै पार्टी छाडेर गएकालाई समेत मूल घरमा फर्कन उनले आग्रह गरे ।

ऐतिहासिक सन्दर्भ जोड्दै मैनालीले भने– ‘नेपालमा राजतन्त्रको अन्त्य गर्ने माओवादी हो, जनताको मुक्तिका लागि लड्ने पनि माओवादी नै हो, अब थप स्पष्ट एजेन्डाका साथ अगाडि बढेर विकास र समृद्धिको नेतृत्व समेत माओवादीले नै गर्नुपर्छ ।’ कसैले के भन्ला भन्ने नहेरीकन माओवादी अगाडि बढ्नुपर्ने उनले बताए ।

देशका समग्र एजेन्डा माओवादीकै भए पनि खासरुपमा नेतृत्व गर्न नपाउँदा कता–कता हराएजस्तो भए पनि पार्टीले आफ्नो धरातल सम्झिए अझै पनि केही बिग्रिइनसकेको उनको भनाइ छ । नेताहरुलाई जनताका बीचमा जान, सहिद, बेपत्ता, घाइतेको अवस्था बुझ्न तथा गरिखाने तल्ला वर्गको पक्षमा उभिन मैनालीले सुझाव दिए । ‘म यो उमेरमा त केही हुन्छ भनेर लागेको छु भने नेताहरुले यसमा ध्यान दिनु पर्दैन ?’ उनले भने– ‘नीति, कार्यक्रम र स्पष्ट एजेन्डाका साथ अगाडि बढे असफलता भन्ने शब्द नै शब्दकोषमा भेटिन्न ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर