newskoseli.Com

पृथ्वीको अन्त्य विज्ञानबाट नै हुनेछ : हकिन्स्

महान वैज्ञानिक स्टेफन हकिन्सले भनेका छन्, ‘विज्ञान र प्रविधि नै आधुनिक मानव सभ्यताका लागि सबैभन्दा ठूलो खतरा हो ।’ यानिकी जुन विज्ञानलाई हामी मानवताको रक्षक मान्छौं, त्यही विज्ञानले मानव सभ्यताको अन्त्य गर्ने खतरा छ ।

यो दावी त्यस्तो व्यक्तिले गरेका हुन्, जसलाई आधुनिक आइन्स्टाइन मानिन्छ ।

ब्ल्याक होल्सको प्रकृतिबारे लेक्चरका दौरान हकिन्सलाई सोधिएको थियो, ‘संसारको अन्त्य कसरी होला ? प्रकृति या मानिसकै कारण ?’ जवाफमा हकिन्सले भने, ‘मानव सभ्यताका लागि ज्यादातर खतरा विज्ञान र प्रविधिको विकासले नै निम्त्याउनेछ । यसमा परमाणु युद्ध, प्रलयकारी ग्लोबल वार्मिङ तथा जेनेटिकली इञ्जिनियर्ड भाइरसजस्ता खतरा सामेल छन् ।’

अबको हजारदेखि १० हजार वर्षभित्रमा प्रलय निश्चित रहेको दावी गर्दै उनले सो प्रलयले मानवताको नै अन्त्य भने नगर्ने विश्वास व्यक्त गरेका छन् । त्यतिबेलासम्म अन्य ग्रहमा केही मानिस पुगिसकेको हुने उनको दावी छ । अन्य ग्रहमा पुगेका मानिस बच्नेछन् ।

हकिन्सले रमाइलो मुडमा भने, ‘यद्यपी हामीले कम्तिमा पनि आउँदो १०० वर्षभित्र अन्तरिक्षमा आफ्ना लागि अपार्टमेन्ट बनाइसकेका हुनेछैनौं । त्यसैले यस अबधीमा हामी सावधान रहनु जरुरी छ ।’

साथै उनले यो पनि भनेका छन्, ‘प्रलयको डरले प्रविधिको विकासलाई रोक्न सक्दैनौं, न त यसबाट पछि फर्किन नै । त्यसैले खतरा पहिचान गरेर त्यसलाई न्युनिकरण गर्नु जरुरी छ । म आशावादी मान्छे हुँ । मलाई विश्वास छ, हामी त्यो गर्नसक्छौं ।’

‘एआई’प्रति चिन्तित

हाल प्रचलनमा रहेका कम्युटर तथा स्मार्टफोनजस्ता प्रविधिलाई विस्तापित गर्न आर्टिफिसियल इन्टेलिजेन्स (एआई) आउने चर्चा छ । जुन मानिसले जस्तै दिमागको प्रयोग पनि गर्न सक्षम हुनेछ । अहिलेको प्रविधिलाई त मानिसको दिमागले प्रयोग गर्छ । तर, एआई आफैंमा जडित कृतिम दिमागको प्रयोग गरेर मानिसले जस्तै कैयन काम गर्न सक्षम हुनेछ ।

तर, हकिन्स भने यसप्रति चिन्तित छन् । खासमा उनी एआईको विकासका पक्षधर हुन्, तै पनि यसले मानव सभ्यतामा संकट पैदा गर्ने उनको चिन्ता छ । त्यसैले उनी भन्छन्, ‘हामीले एआईलाई मानिसको निर्देशनविना नै काम गर्न सक्ने बनाउनुको साटो कतै न कतै मानवीय सहयोगमा परिचालित हुने लाभकारी इन्टिलिजेन्स बनाउनेतर्फ सोच्नु जरुरी छ ।’

कुनै ‘शैतान’ (गलत मनसाय भएको) वैज्ञानिकले आफ्नो ल्याबमा खतरनाक र अनैतिक एआई निर्माण गर्छ भन्ने उनको चिन्ता होइन । उनी त सही उद्देश्यका लागि नै बनाइएको एआईमा कुनै खराबी आउँदा मानवतालाई नोक्सान पुर्‍याउँछ कि भन्ने कुराले चिन्तित छन् ।

उनी भन्छन्, ‘एआईबाट वास्तविक खतरा द्वेषको होइन, सामर्थ्यको हो । एक सुपरइन्टेलिजेन्स एआई तपाईंको लक्ष्य पूरा गर्नका लागि निकै उपयोगी होला, तर यसले तपाईंको लक्षप्रति इमान्दार भइदिएन भने मुस्किलमा पनि पर्न सक्नुहुन्छ ।’

हकिन्सले लेखे, ‘तपाईं सायद कमिलाहरु प्रति घृणा गर्ने खराब व्यक्ति नहुनुहोला, जसले उनीहरुलाई जानी-जानी कुल्चियोस् । तर प्रविधिलाई धेरै बुद्धिमान बनाएर हामी आफू कमिलाको स्थितिमा नपुगौं ।’

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर