newskoseli.Com

विप्लवका प्रवक्ता निर्वाचन आयोगमा : केको हुँदैछ तयारी ?

नेकपाका महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड

नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’ को नेतृत्वमा सो पार्टीको एउटा टोली बिहीबार निर्वाचन आयोग पुगेर प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियासँग छलफल गरेको छ । आसन्न स्थानीय तहको चुनाव ‘उपयोग’ कि ‘बहिष्कार’ भन्दै तीव्र बहस र विवादमा फसेर विभाजनोन्मुख भएको नेकपाका शीर्ष नेताहरू आयोग पुगेको घटनाले सो पार्टीवृत्तमा थप तरंग फैलिएको छ ।

केही दिनअघि मात्रै कपिलवस्तुमा बसेको उक्त पार्टीको डेढ साता लामो केन्द्रीय समितिको बैठकमा महासचिव विप्लव र प्रवक्ता प्रकाण्डसहितले प्रस्तुत गरेको स्थानीय तहको निर्वाचन उपयोग गर्नुपर्ने राजनीतिक प्रतिवेदन बहुमतबाट अस्वीकृत भएको थियो । अन्ततः सो बैठकले स्थानीय निर्वाचनको ‘उपयोग’ पनि नगर्ने र ‘बहिष्कार’ पनि नगर्ने, बरू ‘एमसीसीविरोधी’ र ‘देशभक्त’ उम्मेदवारहरूलाई ‘सहयोग गर्ने’ निर्णय गरेको थियो ।

निकै ठूलो अल्पमतमा परिसकेपछि महासचिव विप्लव र प्रवक्ता प्रकाण्ड आफ्नो प्रस्तावबाट पछि हटे तापनि बैठकयता उनीहरूले पार्टी निर्णयविपरीत चुनावी रूझान प्रकट गर्दै जुनकुनै बहाना र तरिकाबाट स्थानीय तहको चुनावमा सहभागी हुने प्रयास गर्दै आएको आरोप बहिष्कार पक्षधर नेताहरूले लगाइरहेका छन् । बुधबार ‘रातोपाटी’ मा अन्तर्वार्ता दिँदै उक्त पार्टीको बहुमत पक्षका सचिवालय सदस्य हेमन्तप्रकाश वली ‘सुदर्शन’ ले ‘पार्टी निर्णय विपरीतका कामकारबाही गर्नेहरूमाथि कारबाही गरिने’ चेतावनी दिइसकेका छन् ।

नाम उल्लेख नगरीकनै ‘कूटनीतिक’ भाषामा नेता वलीले विप्लव र प्रकाण्डहरूमाथि ‘कारबाही’ गर्ने अनि आफूहरू बहुमतमा रहेको दावी गर्नुले सो पार्टी विभाजनको डिलमा पुगिसकेको सहज अर्थ लाग्दछ । ठीक यहीबेला प्रकाण्ड दलबलसहित निर्वाचन आयोग पुग्नुले यसै परिवेशको पुनर्पुष्टि हुन्छ । अर्का सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोला पनि संसदीय संविधानअनुरुपका चुनावहरुमा भाग लिने तथा प्रतिक्रान्तिकारी खड्ग ओली समूहसँग गठबन्धन गर्ने विप्लव–प्रकाण्डको प्रस्ताव र प्रयासको विरोधमा हेमन्तप्रकाश वलीसँगै छन् । तर, केन्द्रीय समितिको पछिल्लो बैठकयता उनले सार्वजनिक अभिव्यक्ति खासै दिएका छैनन् ।

प्रकाण्डले आफूहरू ‘विद्रोही शक्ति’ भए पनि निर्वाचन प्रक्रियामा सामेल भई ‘राजनीतिक मूलधार’ मा आउन चाहेकाले आफ्ना समर्थक, शुभेच्छुक र मतदाताहरूलाई मतदाता नामावलीमा समावेश गर्न र दल दर्ता गरेर ‘वैधानिक प्रक्रिया’ बाट अघि बढ्न ‘विशेष निर्णय’ गरी समय (म्याद) उपलब्ध गराउन आयोगसमक्ष माग गरेको सो पार्टीका एक नेताले न्युजकोसेलीलाई बताए ।

मोहन वैद्य ‘किरण’ नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) बाट विभाजित भएर विप्लवको नेतृत्वमा पार्टी गठन भएसँगै विप्लव र प्रकाण्डबीच निरन्तर अन्तर्विरोध चल्दै आएको र पार्टीका हरेक जनसंगठन तथा निकायमा समानान्तर संगठन बनाएर शक्तिसंघर्ष नै चल्दै आएको ती नेताले बताए । तर, अहिले ‘रहस्यमय’ तवरमा उनै विप्लव र प्रकाण्डबीच चुनावमा हामफाल्ने र अझ महाप्रतिक्रान्तिकारी खड्ग ओलीहरुसँग गठजोड गर्ने विषयमा मतैक्यता देखिनु आश्चर्यको विषय भएको उनको भनाइ छ ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर