newskoseli.Com

प्रचण्ड–बाबुराम एकैठाउँ : चुनाव चिह्न माओवादीकै, घोषणापत्र पनि संयुक्त

दसवर्षे सशस्त्र जनयुद्धको बागडोर समालेर मुलुकलाई राजतन्त्रात्मक रुढीवादी संसदीय व्यवस्थाबाट रुपान्तरित गर्दै संघीय गणतन्त्रसम्म ल्याउन नेतृत्व गरेका तीन मुख्य नेतामध्येका दुई शीर्ष नेता अन्ततः फेरि पनि एकैठाउँ जुटेका छन् । तत्कालीन माओवादीका शीर्ष नेताहरु पुष्पकमल दाहाल ‘प्रचण्ड’, मोहन वैद्य ‘किरण’ र डा. बाबुराम भट्टराई ‘लालध्वज’ मध्येका वैद्य अहिले पनि अलग राजनीतिक धारको नेतृत्व गरिरहेका छन् भने प्रचण्ड र बाबुराम प्रकारान्तरले एकैठाउँ आइपुगेका छन् ।

प्रचण्ड नेतृत्वको नेकपा (मा‌ओवादी केन्द्र) र बाबुराम नेतृत्वको नेपाल समाजवादी पार्टीबीच एउटै घोषणापत्र र एउटै चुनाव चिह्न प्रयोग गरेर प्रतिनिधिसभा र प्रदेशसभाको चुनाव लड्ने सहमति जुटेको छ । कसरी एकताबद्ध हुने भनी केही महिना अघिदेखि जारी छलफल केही दिनदेखि सघनरुपमा अघि बढेको थियो । उनीहरुबीचको छलफल आइतबार (आज) बिहानसम्म पनि जारी नै थियो । आइतबारको छलफल भने मौखिक समझदारीमा पुगिसकेको र सोमबारसम्ममा लिखित समझदारी भइसक्ने जानकारी नेपाल समाजवादी पार्टीका प्रचार विभाग प्रमुख विश्वदीप पाण्डेले दिएका छन् ।

‘केही दिनदेखि जारी छलफलको अन्त्यमा एउटै घोषणापत्र र एउटै चुनाव चिह्न प्रयोग गर्नेबारे मौखिक सहमति भएको छ,’ पाण्डे भन्छन्– ‘अब सोमबारसम्म लिखितरुपमा समझदारी गर्ने तयारी छ ।’

आइतबार बिहान माओवादी अध्यक्ष प्रचण्ड र समाजवादी पार्टीका अध्यक्षद्वय भट्टराई र महेन्द्र राय यादवबीच भेटवार्ता भएको हो । नेसपा अध्यक्ष यादवका अनुसार समाजवादी गठबन्धन बनाउन र एउटै चुनाव चिह्न लिएर संयुक्तरुपमा जान दुवै दल सहमत भएका हुन् । ‘उहाँहरुको चुनाव चिह्न पुरानो छ, हाम्रो नयाँ छ,’ अध्यक्ष यादवले भने– त्यसैले उहाँहरुकै (माओवादीकै) चुनाव चिह्नमा जाने सहमति भएको छ ।’

नेसपाका नेताहरुले सो पक्षका लागि प्रतिनिधिसभामा केही सिट सुनिश्चित गर्नुपर्ने माग गरेको माओवादी नेताहरुको भनाइ छ । ‘जो–जो जितेको छ, त्यो त पाउने नै भयो; हाम्रो उपस्थिति हेरेर प्रतिनिधिसभा र प्रदेशसभामा कति गर्न सकिन्छ हेर्ने हुन्छ होला’– नेसपा अध्यक्ष यादवले भने ।

अब माओवादीले प्रयोग गर्दै आएको ‘गोलाकारभित्रको हँसिया–हथौडा’ नै उनीहरुबचिको साझा चुनाव चिह्न हुनेछ । निर्वाचन आयोगबाट मान्यता पाएको भट्टराई नेतृत्वको नेपाल समाजवादी पाटीको चुनाव चिह्न भने आँखा छ । लिखित सहमतिलगत्तै दुवै पार्टी दल दर्ताका लागि निर्वाचन आयोगमा जानेछन् । मंसिर ४ मा हुने प्रतिनिधिसभा एवं प्रदेशसभा निर्वाचनको प्रयोजनका निम्ति दल दर्ताका लागि निर्वाचन आयोगले साउन २२ देखि ३१ गतेसम्म समय दिएको छ ।

निर्वाचन आयोगले आइतबार निकालेको दल दर्तासम्बन्धी सूचनामा दुई वा सोभन्दा बढी दलले एकै चुनाव चिह्न लिएर निर्वाचनमा सहभागी हुन सक्ने उल्लेख छ । राजनीतिक दलसम्बन्धी ऐन, २०७३ को दफा ४९ बमोजिम दुई वा सोभन्दा बढी दलले एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि दल दर्ताको निवेदन दिन सकिने व्यवस्था छ ।

यसैलाई आधार मानेर माओवादी केन्द्र र नेपाल समाजवादी पार्टी साझा निर्वाचन चिह्नमा चुनाव लडन् सक्छन् । ऐनमा ‘निर्वाचन प्रयोजनका लागि मान्यता प्राप्त गर्न चाहने दुई वा सोभन्दा बढी दलले कुनै दलले प्राप्त गरेको निर्वाचन चिह्न वा अन्य कुनै निर्वाचन चिह्न लिई संयुक्त रूपमा निर्वाचनमा सहभागी हुने गरी निवेदन दिन सक्ने’ व्यवस्था छ ।

निर्वाचित हुने उम्मेदवारको हकमा भने सबैभन्दा बढी सिट पाउने दलको नामबाट एउटै मात्र संसदीय समिति बन्ने ऐनको व्यवस्था छ । निर्वाचित सदस्य सोही संसदीय दलको सदस्य मानिने व्यवस्था ऐनले गरेको छ । त्यसैले दुवै दलबाट निर्वाचित प्रतिनिधिहरु कानुनी नजरमा स्वतः माओवादी केन्द्रकै प्रतिनिधि हुनेछन् र सोही दलको ‘ह्विप’ समेत लाग्ने छ ।

यसरी अहिले आएर प्रण्चड–बाबुरामहरु गठबन्धन र मोर्चाबन्दी गर्दै अन्ततः पार्टी एकताकै दिशातर्फ अग्रसर भएका छन् । राजनीतिक एजेन्डा र चुनावी घोषणापत्र एवं जनताबीच जाने प्रतिबद्धता समेत एउटै भएपछि निकट भविष्यमै पार्टी एकताको समेत ढोका खुलेको भन्दै दुवै दलका नेता–कार्यकर्ताहरु उत्साहित बनेका छन् ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर