newskoseli.Com

राम्रो अङ्क ल्याउनेहरू ग्रेडिङ प्रणाालीप्रति असन्तुष्ट

यस वर्षको एसएलसी रिजल्टले धेरैलाई अलमल्लमा पारेको छ । पहिलोपटक लागू गरिएको ग्रेडिङ प्रणाली बुझ्न गाह्राे छ ।

विगतको एसएलसी रिजल्टमा रिमार्कमा पास र फेल वा डिभिजन हेरिन्थ्यो । मार्कसिटमा हरेक विषयको प्राप्तांक हेर्न पाइन्थ्यो । यसपाली परिक्षा नियन्त्रण कार्यालयले नयाँ प्रयोग गर्दै प्रत्येक विषयलाई नौ तहमा वर्गिकरण गरेर रिजल्ट निकाल्यो । यसमा परिक्षार्थीले आफ्नो प्राप्ताङ्क भेट्दैनन् ।

रिजल्टमा परिक्षार्थीको प्रत्येक विषयको अंकको सट्टामा ग्रेड दिइएको छ भने समग्र ग्रेड प्वाइन्ट एभरेज (जीपीए) उल्लेख गरिएको छ । जीपीए भनेको सबै विषयमा आएको ग्रेडका आधारमा दिइएको औसत अंक हो । ग्रेड प्वाइन्ट शून्यदेखि उच्च ४ सम्म हुन्छ । जीपीएका आधारमा परिक्षार्थीले आफ्नो समग्र ग्रेड अनुमान गर्न सक्छन् तर, त्यसको खासै अर्थ हुँदैन । किनभने ११ कक्षा पढ्नलाई समग्र ग्रेड नभर्इ विषयगत ग्रेडलार्इ महत्वपूर्ण मानिएकाे छ ।

कसैको रिजल्टमा ग्रेड प्वाइन्ट ३.४ छ भने यो ‘ए’ ग्रेड हो । ‘ए’ ग्रेडमा ८० देखि ९० प्रतिशतसम्मको अंक पर्दछ । तर, उक्त परिक्षार्थीले यदि साइन्स र गणितमा ‘सि प्लस’ भन्दा तल वा अंग्रेजीमा ‘सि’ भन्दा तल वा नेपाली र सामाजिकमा ‘डि प्लस’ भन्दा तलकाे ग्रेड ल्याएको छ भने उसले साइन्स पढ्न पाउँदैन ।

परिक्षा नियन्त्रण कार्यालय उपलब्ध गराएको सूचीमा कति बिद्यार्थीले कुन ग्रेड पाए भनेर छुट्याइएको छैन । जीपीएका आधारमा मात्र पनिकाले परिक्षार्थीहरुलाई वर्गिकरण गरेको छ ।

यस आधारमा सबैभन्दा बढी विद्यार्थीले १.६ देखि २ सम्म जीपीपए पाएका छन् । यो भनेको ४० देखि ५० प्रतिशत बीचको अंक हो । यति जीपीए हासिल गर्ने विद्यार्थीको संख्या १ लाख चार हजार २ सय ७८ छ जुन कुल परिक्षार्थीको (४ लाख ३७ हजार ३ सय २६) को लगभग २४ प्रतिशत हुन आउँछ । विगतका परीक्षामा पनि सेकेन्ड डिभिजन ल्याउने विद्यार्थीकाे सङ्ख्या धेरै हुन्थ्याे ।

सबैभन्दा उच्च श्रेणी अर्थात ३.६ देखि ४ को बीचमा अंक ल्याउने विद्यार्थीको संख्या १६ हजार ४ सय ५४ छ । यो भनेको ९० प्रतिशतभन्दा माथिको अंक हो । यसलाई ‘ए’ प्लस नतिजा मान्न सकिन्छ ।

पनिकाले गरेको नयाँ अभ्यास विशेषगरी कमजोर विद्यार्थीहरुका लागि अनुकुल छ, किनभने यसले कसैलाई पनि ‘फेल’ काे दर्जा दिँदैन । तर, व्यवहारीक रुपमा भने १.६ भन्दा कम जीपीए भएका विद्यार्थी फेल बराबर मानिन्छन् । यस्ता विद्यार्थीको संख्या ८ हजार ११ मात्रै छ । उनीहरुले ११ कक्षामा भर्ना हुन पाउँदैनन्, बरु दुई विषयमा मौका परिक्षा दिएर आफ्नो जीपीए सुधार्न सक्छन् । पहिला २ अाेटा विषय लागे पुरक परीक्षा दिने व्यवस्था हुन्थ्याे अहिले पनि त्यस्तै ग्रेड सुधारकाे नाममा २ अाेटा विषयमा ‘डि प्लस’ भन्दा कम ल्याउनेलार्इ पुनः परीक्षाा दिन पाइने छ ।

मार्कसिटमा आफ्नो प्राप्तांक नभेट्नु र समग्र ग्रेड पनि उल्लेख नहुनुले अब्बल विद्यार्थीलाई निरुत्साहित बनाउँछ । जस्तैः  अंग्रेजीमा ९१ अंक ल्याउने र ९९ अंक ल्याउने दुई विद्यार्थीलाई यसले एउटै ग्रेडमा राखेकाे छ ।

 

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर