newskoseli.Com

‘अरौटेभरौटे बन्नुभन्दा पत्रकारिताबाटै बिदा लेऊ’

देश र जनता एवम् जनजीविकाको पक्षमा लामो समयसम्म समाचार सम्प्रेषण गरेबापत शुक्रबार राजधानीमा ९ जना महिला पत्रकार सम्मानित भएका छन् ।

सम्मानित हुनेमा भारती सिल्वाल गिरी, बबिता बस्नेत, भारती उपाध्याय, राधा चालिसे, रीता गुरुङ, शारदाकुमारी पौडेल धन लामा, अमृता लम्साल र शान्ता पौडेल छन् । उनीहरुले विभिन्न सञ्चारगृहमा अाबद्ध भएर पत्रकारिता गर्दै लगभग २ दशकसम्म सेवा पुर्याएका छन् ।

नेपाल प्रेस युनियनको रजत महोत्सवको सन्दर्भमा आयोजित कार्यक्रममा नेपाली कांग्रेसका वरिष्ठ नेताले उनीहरुलाई सम्मान गरेका हुन् । युनियनको महिला शाखाले आयोजना गरेको उक्त कार्यक्रमलाई सम्बोधन गर्दै वरिष्ठ नेता रामचन्द्र पौडेलले निस्वार्थ र निष्ठाको पत्रकारिताले लोकतन्त्र सुदृढ हुने बताए  ।

उनले लोकतन्त्रमाथि खतराको बादल मडारिएको बताउँदै लोकतन्त्रको रक्षाकवचका रुपमा कलम चलाउन पत्रकारलाई आग्रह गरे । ‘नेपाल प्रेस युनियनको अभियान : भौतिक र पेसागत सुरक्षासहित पत्रकारको सम्मानजनक पहिचान’ भन्ने नाराका साथ सुरु भएको दुईदिने राष्ट्रिय महिला भेलाले शनिबार काठमाडौँ घोषणापत्र जारी गर्ने कार्यक्रम रहेको कार्यक्रमका सभापति बाला अधिकारीले जानकारी दिइन् ।

कांग्रेस नेता कृष्णप्रसाद सिटौलाले राजनीतिक परिवर्तन सत्तास्वार्थमा केन्द्रीकृत भएकाले सकारात्मक परिवर्तन आउन नसकेको बताउँदै बलियो नेपाल बनाउन पत्रकारले अनवरत सत्य र निष्ठाको पत्रकारिता गर्नुपर्ने धारणा राखे ।

अर्का नेता अर्जुननरसिंह केसीले नेतृत्व विकास स्वयमबाट गर्नुपर्ने बताउँदै दयाबाट ग्रहण गरिएको नेतृत्वले संस्था हाँक्न नसक्ने बताए । नेता पूर्णबहादुर खड्काले पत्रकारले सधैँ अध्ययनशील र सहनशील हुँदै अनुसन्धानका क्षेत्रमा दत्तचित्त भई खोजी पत्रकारिता गर्नुपर्ने उल्लेख गरे ।

पूर्वमन्त्री समेत रहेका केन्द्रीय सदस्य डा. मीनेन्द्र रिजालले अरौटे र भरौटे पत्रकार बन्नुभन्दा पत्रकारिता पेसाबाट बिदा लिनु नै बेस हुने बताए ।

शुद्धीकरणका लागि अनवरत कलम चलाउने पत्रकारको कुनै बखतमा सम्मान हुने बताउँदै सम्मान कार्यक्रममा वरिष्ठ नेता रामचन्द्र पौडेलले उनीहरूलाई कदरपत्र प्रदान गरी सम्मान गरे ।

कांग्रेस केन्द्रीय सदस्य सरिता प्रसाईंले महिला पत्रकारले अधिकार माग्नुको सट्टा क्षमता बढाउन आफूलाई केन्द्रीकृत गर्नुपर्ने बताइन् ।

नेपाल प्रेस युनियन ‘प्रजातन्त्रवादी पत्रकार’ को छाता सङ्गठन मानिन्छ । झन्डै १० हजार सदस्य रहेको उक्त संस्था अन्तर्राष्ट्रिय पत्रकार सङ्गठन (आइएफजेको) को सदस्यता लिने पहिलो संस्था समेत हो । यो संस्थाका ७३ जिल्लामा शाखा छन् भने महिला पत्रकारको सङ्ख्या ५ प्रतिशत मात्र छ ।

कार्यक्रममा पत्रकारिता, पत्रकारको क्षमता अभिवृद्धि, प्रेस स्वतन्त्रता, मौलिक अधिकारलगायतका विषयमा विभिन्न क्षेत्रमा कार्यरत पत्रकारले आ–आफ्नो धारणा राखे ।

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर