नेपालमा माओवादी आन्दोलनका संस्थापकहरू मध्येका एक नेता, नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी) का अध्यक्ष मोहन वैद्यले बल प्रयोगको सिद्धान्तप्रतिको दृढता पुनः दोहोर्याएका छन् ।
जनताको सशस्त्र प्रतिरोधमा आधारित भई ग्रामीण वर्गसंघर्षमा मुख्य जोड दिँदै विद्रोहद्वारा केन्द्रीय राज्यसत्ता कब्जा गरेर नयाँ जनवादी क्रान्ति सम्पन्न गर्नु नै माओवादीहरुको मुख्य कार्यभार रहेको कुरामा अध्यक्ष वैद्यले जोड दिएका छन् ।
राजधानीमा जारी पार्टीको राष्ट्रिय भेलामा मंगलबार राजनीतिक प्रतिवेदन प्रस्तुत गर्दै अध्यक्ष वैद्यले यस्तो दृढता प्रकट गरेका हुन् । सोमबार अपराह्न राष्ट्रिय सभागृहमा उद्घाटन सत्र सम्पन्न गरेको क्रान्तिकारी माओवादीको मंगलबारदेखि पुरानो बानेश्वरस्थित एक पार्टी प्यालेसमा बन्द सत्र जारी छ ।
बन्द सत्रमा वैद्यले ‘प्रतिक्रियावाद तथा दक्षिणपन्थी संशोधनवादको भण्डाफोर गरौं ! नयाँ जनवादी क्रान्तिको तयारीको दिशामा अघि बढौं !!’ शीर्षकमा १८ पेजको राजनीतिक प्रतिवेदन प्रस्तुत गरेपछि देशभरबार प्रतिनिधित्व गरेका ६ सय ६७ प्रतिनिधिहरुले १५ समूहमा विभाजित भई मंगलबारदेखि बुधबार बिहानसम्म समूहगत छलफल गरे । बुधबार अपराह्नदेखि समूह–नेताहरुले राजनीतिक प्रतिवेदन, संगठनात्मक सिद्धान्तसम्बन्धी प्रस्ताव तथा विधान संशोधन प्रस्तावमाथि आ–आफ्नो समूहको धारणा प्रस्तुत गरिरहेका छन् ।
राजनीतिक प्रतिवेदनमा अध्यक्ष वैद्यले विगतमा एमाओवादीसँग पार्टी एकताको एजेन्डामाथि आफूहरुले छलफल गर्नु गल्ती सावित हुन गएको उल्लेख गरेका छन् । ‘नवसंशोधनवादी दलदलमा फसेका प्रचण्डहरुलाई सुधार्न सकिन्छ कि भनेर हामीले निकै प्रयास गर्याैं’ अध्यक्ष वैद्यलाई उद्धृत गर्दै भेलाका सहभागी एक प्रतिनिधिले न्युजकोसेलीसँग भने– ‘हाम्रो त्यो प्रयास विफल भयो र उल्टै प्रचण्ड–बादलहरु मिलेर क्रान्तिकारी धार सिध्याउन दुष्प्रयास गरे ।’
‘विगतदेखि नै ठूलठूला भनिने नेताहरुसहित माओवादी आन्दोलनका कयौं कार्यकर्ताहरुले क्रान्तिकारी धार छाड्दै दक्षिणपन्थी संशोधनवादको दलदलमा फस्ने काम हुँदै आएको हो । अहिले पनि बादलजीसहित थुप्रै नेता–कार्यकर्ताहरुले क्रान्तिकारी धारविरुद्ध धोकाधडी र विश्वासघात गरेर जानुभएको छ’, अध्यक्ष वैद्यले भेलामा भने– ‘विगतदेखि अहिलेसम्मका गुटबन्दी, विभाजन र धोकाधडीका कारण महान् जनयुद्ध, जनयुद्धका सहिद, घाइते–अपांग, उहाँहरुका परिवारजन र सर्वहारा वर्गका विरुद्ध गम्भीर विश्वासघात भएको छ र ठूलो क्षति पुगेको छ । तैपनि दक्षिणपन्थी हावाहुरी र ज्वारभाटाविरुद्ध लडेर क्रान्तिकारी धार जोगाउन हामी सफल भएका छौं । हामी विचार र सिद्धान्तको रक्षा गर्न सफल भएका छौं । अब क्रान्तिकारी सिद्धान्त, विचार र व्यवहारको आधारमा नयाँ ढंगबाट पार्टी र आन्दोलनलाई पुनर्संगठित गरेर नेपालमा जनवादी क्रान्ति सम्पन्न गर्न सकिन्छ, त्यो काम हामीले गर्नुपर्छ र गर्छौं ।’
‘तत्काल कसैसँग एकता हुँदैन’
भेलाका सहभागी अर्का प्रनिधिले दिएको जानकारी अनुसार संक्षिप्त व्याख्या सहित राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने क्रममा अध्यक्ष वैद्यले तत्काल कसैसँग एकताको सम्भावना नरहेको बताए ।
बाबुराम भट्टराईहरुले मालेमावादी कित्ताबाट आफूलाई अलग गराइसकेकाे, माओवादी केन्द्र दक्षिणपन्थी नवसंशोधनवादीहरुको केन्द्र बन्नपुगेको र बादलहरुले पनि आफूहरुलाई त्यसैको पुच्छर बनाइसकेको निष्कर्ष सुनाउँदै वैद्यले उनीहरुसँग क्रान्तिकारी माओवादीको एकताको कुनै सम्भावना नरहेको उल्लेख गरे ।
वैद्य माओवादी र नेत्रविक्रम चन्द नेतृत्वको माआवादीबीच छिट्टै एकता हुने चर्चा बाहिर चलिरहेको उल्लेख गर्दै अध्यक्ष वैद्यले आफूहरुले तत्काल त्यस्तो सम्भावना कहींकतै नदेखको बताए । क्रान्तिकारी कुरा गरिरहेको, जनकारबाही र जनप्रतिरोधजस्ता देखिने छिटपुट गतिविधि गरिरहेको भए पनि चन्द माओवादीले नयाँ जनवादी क्रान्ति सम्पन्न गरेर समाजवाद हुँदै साम्यवादतर्फ जाने सार्वभौम क्रान्तिकारी सिद्धान्तको सट्टा अमूर्त, अव्यावहारिक र अस्पष्ट एकीकृत क्रान्तिको कुरा गरिरहेको भन्दै वैद्यले सिद्धान्तकै क्षेत्रमा समानता नभई कसैसँग एकताको चर्चा गर्नु बेकारको कुरा भएको बताए ।
‘पार्टी फुटाउने कुरा नगरौं, बहस–छलफल गरौं, कार्यदिशालाई समृद्ध पारौं र राम्रो तयारी गरेर क्रान्तिकारी स्टेप लिउँला भनेर हिजो हामीले भन्दाभन्दै विप्लवजीहरुले तातै खाउँ जली मरौं भने झैं शैलीमा रातारात क्रान्तिकारी पार्टीलाई फुटाइदिनुभयो, अहिले फेरि हतारमा एकता गरौं भनेर कसरी कुरा मिल्नु ?’ वैद्यको प्रश्न उद्धृत गर्दैै ती प्रतिनिधिले सुनाए– ‘उहाँहरुमा छिट्टै नेता बन्ने महत्वाकांक्षा पनि देखियो, समय आएपछि, विधि मिलाएर, प्रक्रिया पूरा गरेर त्यो कुरा समेत सम्भ हुन सक्छ भन्ने प्रस्ट संकेत पनि हामीले दिएकै थियौं । त्यति हुँदाहुँदै पार्टी फुटाउने साथीहरु अब पहिलो कुरा त विचार र सिद्धान्तकै क्षेत्रमा ठीक ठाउँमा आउनुपर्याे । सिद्धान्त र विचार मिल्नेगरी आउनुभएछ भने सच्चा माओवादीहरुलाई एकताबद्ध पारेर क्रान्तिकारी धारलाई मजबुत बनाउने कुरामा हामी किन असहमत हुन्छौं र ?’
वातावरण उस्तै, उत्साह उत्तिकै
यसबीच अध्यक्ष वैद्य र उनी नेतृत्वको पार्टीलाई तारो बनाउँदै ‘पुरानो पुस्ताका इमानदार र अगुवा नेता भए पनि मोहन वैद्य यतिबेला कुहिराको कागजस्तै अलमल्ल परेका छन्, उमंग–उत्साह, जोश–जाँगर सेलाएको छ, सिद्धान्त–राजनीति, रणनीति–कार्यनीति कुनै पनि पक्षमा ठोस दृष्टिकोण र विचार नै छैन’ भनेर माओवादी केन्द्रमा समाहित भएकाहरुले जताततै अत्यन्तै न्यूनीकृत ढंगका अभिव्यक्ति दिँदै हिँड्ने गरेको पाइन्छ ।
अझै पनि प्रचण्डहरुसँग घुर्की लगाएर, भाग खोजेर र सिद्धान्तका केही कुरामा सहमत भएजस्तो गराएर कुनै न कुनै ढंगबाट माओवादी केन्द्रमै मिसिन्छन् नत्र विप्लवलाई नेता मानेर आफ्नो पार्टीलाई तत्कालै बिलय गराउँछन्, यी दुवै गरेनन् भने मोहविक्रमजस्तै दिनहुँजसो प्रेस विज्ञप्ति जारी गरेर ‘यो पनि पार्टी छ है’ भन्नेमा सीमित भई टाक्सिएर बस्नुको विकल्प वैद्यहरुसँग बाँकी छैन भन्ने आलोचकहरुको टिप्पणी यत्रतत्र सुनिन्छ ।
तर, उद्घाटनदेखि बन्द सत्रको हसलम्म घुमेर अवलोकन गर्दा, केन्द्रीय स्तरका अनेकौं नेता र प्रतिनिधिहरुबाट राजनीतिक तथा सांगठनिक प्रस्तावहरुको भाव बुझ्दा अनि नेतादेखि कार्यकर्तासम्मका अनुहार, हाउभाउ र कुरा गराइको पारा बुझ्दा वैद्य माओवादी कित्तामा यतिबेला पनि कुनै अस्पष्टता, छटपटी, पीडा, ग्लानि र हीनता पटक्कै देखिँदैन ।
जनयुद्धकालका माओवादी नेता–कार्यकर्ताको जमघटमा पुग्दा जे–जस्तो अनुभूति हुन्थ्यो, बुधबार बिहान राजधानीको पुरानो बानेश्वरस्थित ॐ साई पार्टी प्यालेसमा पुग्दा झन्डैझन्डै त्यसैको झझल्को देखिन्थ्यो ।
बन्द शत्रको मुख्य हलभित्र ड्यासमा टाँगिएको ठूलो ब्यानर, वरिपरि भित्तैभरि टाँगिएका मार्क्स–एङ्गेल्स–लेनिन–स्टालिन र माओका क्रान्तिकारी उद्धरणहरुले भरिभराउ फ्लेक्सहरु, कतिपय प्रतिनिधिहरु चियानास्ताका निम्ति लाम लागिरहेका त कतिपय ठाउँठाउँमा झुरुप्प बसेर प्रतिवेदनहरुमाथि गरमागरम छलफल गरिरहेका दृश्यले हिजोको जनयुद्धकालीन माओवादीकै निरन्तरताको पार्टी यही नै रहेछ भन्ने भाव अवलोकनकर्तामा सम्प्रेषित हुने वातावरण भेलास्थलमा देखियो ।
प्रतिनिधिहरुका अनुहार नियाल्दा मेचीदेखि महाकालीसम्म, प्रवासदेखि राजधानीसम्म, मधेशदेखि हिमालसम्म र पहाडदेखि चुरेसम्मको सिङ्गै नेपाल झल्किरहेको छ । लिङ्गीय एवम् जातीय प्रतिनिधित्वका दृष्टिले समेत सन्तुलित प्रतिनिधित्व देखिएको छ ।
भेलाबाट निस्कँदा पार्टीलाई विचार र संगठन दुवै दृष्टिले व्यवस्थित एवम् सशक्त क्रान्तिकारी पार्टीका रुपमा उभ्याइने र त्यही ढंगको देशव्यापी सन्देश सम्प्रेषित गर्न सफल भइने कुरामा प्रतिनिधिहरुमा गज्जबको दृढता देखिन्छ ।
टुटफुट र विभाजनबाट भयातुर, कयौं नेताहरुको बहिर्गमनबाट विलखबन्द र टुहुरोपन अनि ‘खै के होला र !’ ‘यस्तै तालले कसरी होला र क्रान्ति’ भनेजस्तो निराशा एवम् शिथिलता तथा अकर्मण्यताले वैद्य माओवादीको राष्ट्रिय भेलास्थलमा कहींकतै पनि ठाउँ पाएको देखिँदैन ।