newskoseli.Com

वैदेशिक रोजगारी : जाँदा पनि आँसु, फर्कंदा पनि आँसु

वैदेशिक रोजगारीमा जाँदा पनि आँसु र फर्कंदा पनि आँसु भोग्नुुपर्ने नेपालीको नियति जस्तै बनेको छ ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पुग्दा वैदेशिक रोजगारीमा जान लागेकालाई आफन्तले आँसु झार्दै बिदाइ गरिरहेका थिए भने बुधवार नै अफगानिस्तानबाट १२ शव नेपाल आएका आफन्त पीडाले आफूले आफैलाई सम्हाल्न सकेका थिएनन् । विदेश जानेलाई पनि विदेशबाट शव आउँदैछ भन्ने कुराले निकै भावविह्वल बनाएको थियो ।

धन कमाएर सुखी जीवन जिउने आशामा रोजगारीका लागि विदेसिएका नेपालीको दैनिक करिब २ शव नेपाल आउने गर्छन् । यसरी रोजगारीमा गएका मृत्यु भएर नेपाल शव आउनेको सङ्ख्या मासिक ७५ र वार्षिक करिब ८०० जना छन् । यो दुःखद उदाहरणबीच काबुलको आत्मघाती बम आक्रमणमा १२ नेपालीको मृत्यु भएको थियो ।

शव बुझ्न सक्ने अवस्थामा थिएनन् आफन्त

सोमबार अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम आक्रमणबाट मृत्यु भएका १२ नेपालीको शव बुधबार नेपाल ल्याइयो । आफ्नै मान्छेको शवको प्रतीक्षामा बसेका आफन्त होसमा थिएनन् । उनीहरु आफैँ सम्हालिएका थिएनन् । उनीहरुको पीडा देख्न नसकेर त्यहाँ पुगेका जो कोहीको आँखा आँसुले भरिएका थिए । त्यहाँ एकप्रकारको चिच्याहट देखिन्थ्यो । निकै कोलाहलपूर्ण वातावरण थियो ।

पानी परिरहेको थियो । त्यो कोलाहल वातावरणबीच शव ल्याइयो । शव बुझ्न गएका आफन्त भावविह्वल अवस्थामा थिए । शव आउनेबित्तिकै आफन्तको शव राखिएको बाकसमाथि भक्कानिए । कोही चिच्याइरहेका थिए । कोही बोल्नसक्ने अवस्थामा थिएनन् । कोहीलाई आफन्तले पानी खुवाएर पङ्खाले हम्काएर राखेका थिए ।

त्यही सन्नाटा छाइरहेका अवस्थामा आफन्तसँग प्रधानमन्त्री केपी शर्मा ओलीले त्यहाँ पुगेर १२ नेपालीप्रति श्रद्धाञ्जलि व्यक्त गरी निर्दाेष नेपालीको हत्या गर्नु कायरता र अमानवीयताको सङ्ज्ञा दिनुभयो ।

नयाँ जीवन पाएजस्तोे लाग्याे

अफगानिस्तानको काबुलमा भएको आत्मघाती बम आक्रमणबाट नेपालमा बुधबार ल्याइएका १२ शवसँग २४ कामदार नेपाल फर्किए । उनीहरु निकै साहस र ढुक्कको श्वास फेरिरहेका थिए ।

५ वर्ष सुरक्षागार्डका रुपमा काम गरिरहेका त्रिशूलीका प्रेमबहादुर तामाङले भने, “असुरक्षा थियो, बचेर आएको, नयाँ जीवन पाएको जस्तो लागेको छ ।” उनका अनुसार सो कम्पनीमा १ सय ४७ नेपाली सुरक्षागार्डका रुपमा काम गर्छन् । अहिले ३० जनाजति छुट्टीमा छन् । अरू नेपाली कामदार पनि त्यहाँ बस्न चाहँदैनन् । खासगरी काम गर्ने स्थान र बसोबास गर्ने स्थानमा भन्दा पनि यात्राका क्रममा निकै त्रासको वातावरण छ ।

“हामीसँग हतियार हुँदैनथ्यो, एकै ठाउँमा राखिएको हुन्थ्यो, त्यो हतियार लिन जाँदासम्म पनि हामी सुरक्षित हुँदैनथ्यौँ, सम्पत्तिभन्दा बाँच्नु ठूलो कुरा हो”, उनले भावुक स्वरमा थपे । उनका श्रीमती,१ छोरा र १ छोरी छन् । उनले बाँकी जीवन नेपालमै केही गरेर बिताउने सोच बनाएको बताए ।

बुधबारै फर्किएका नुवाकोटका इन्द्रकुमार राईलाई पनि बाँचियो भन्ने लागेको छ । कम्पनी र कमाई त राम्रै भए पनि सुरक्षा नहुँदा ज्यानभन्दा ठूलो कुरा उनलाई पैसा लागेन । “राम्रो कमाई हुन्थ्यो तर सधैँ डरत्रासमा बाँच्नुपर्ने, बरु नेपालमै बसेर केही गर्छु, पैसा नै ठूलो कुरा होइन”, उनले सुनाए ।९ महिनादेखि सुरक्षागार्डका रुपमा काम गरेर नेपाल फर्किएका तनहुँका केयरसिंह रानाले पनि त्रासमा काम गर्नुभन्दा नेपाल फर्कंदा खुसी लागेको अनुभव सुनाए ।

“रेड जोनमै हामी काम गथ्र्यौं, जतिबेला जे पनि हुनसक्थ्यो, कम्पनीले कुरा सुन्दैनथ्यो”, उनले भने । सुरक्षागार्डका रुपमा काममा गएर फर्किएका तामाङ, राना र राई अवकाश प्राप्त नेपाली सेना हुन् । उनिहरुको मासिक तलब १ लाख थियो । राम्रो कमाई हुने भएकाले उनिहरु सो देशमा रोजगारीका लागि गएका थिए । अफगानिस्तानमा हाल वैधानिक ३ हजार ३ सय २३ नेपाली कामदार कार्यरत छन् । ती कामदार सुरक्षागार्डका रूपमा श्रम स्वीकृति लिएर संस्थागत रूपमा गएका छन् ।

वैदेशिक रोजगार विभागका महानिर्देशक शत्रुघ्नप्रसाद पुडासैनीका अनुसार स्वीकृति लिएर गएकाबाहेक कतिपय नेपाली व्यक्तिगत रूपमा भारत, पाकिस्तानलगायत मुलुक हुँदै गएको हुन सक्छ । अवैधानिक रूपमा अफगानिस्तान गएका नेपालीको सङ्ख्या यकिन नभए पनि त्यो सङ्ख्या धेरै हुनसक्ने अनुमान गरिएको छ । अवैधानिक रूपमा हालसम्म गएका नेपालीको सङ्ख्या करिब ८ हजार रहेको अनुमान गरिएको छ । रासस

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

ट्वीटरबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर