वरिष्ठ नेताद्वय झलनाथ खनाल र माधवकुमार नेपालसहित पदाधिकारी र स्थायी कमिटीको बहुमत पक्षलाई पार्टी र सत्ताका सबै भूमिकाबाट च्युत गराएर आफूनिकट एउटा सानो समूह मात्रैलाई ‘नेकपा (एमाले)’ भन्दै एकलौटी ढंगबाट पार्टीगत र सत्ता सञ्चालनका गतिविधि गरिरहेको खड्ग ओली समूहभित्रै चरम असन्तुष्टि, तीव्र गुटबन्दी र आपसी बबण्डर मच्चिएको छ । थेग्नै मुस्किल पर्नेगरी आफ्नै समूहभित्र उत्कर्षमा पुगेको झगडाका कारण आफैंले किनारा लगाएको खनाल–नेपाल पक्षसँग सहमति कायम गरी पार्टी एकता जोगाउने ओली समूहको प्रचारबाजी ओझेलमा परेको छ ।
संविधान, कानुन र राजनीतिक अभ्यासहरुको धज्जी उडाउँदै पछिल्लो पटक कामचलाउ मन्त्रिमण्डलको पुनर्गठन गरेपछि ओली समूहभित्र लामो समयदेखि सुषुप्त अवस्थामा रहेको आपसी वैमनश्यता र तिक्तता एकाएक उत्कर्षमा पुगेको हो । यसअघि महासचिव ईश्वर पोखरेल, विष्णु पौडेल, सुवास नेम्बाङ, शंकर पोखरलहरुका बीचमा तीब्र प्रतिस्पर्धा थियो तर त्यो सुषुप्त अवस्थामै थियो । तर, अहिले ओलीलाई ‘बा’ भन्ने असाध्यै निकटस्थ र ‘खम्बा’ मानिएका पात्रहरुले ती ‘पत्रु र शिथिल यसम्यान’ हरुबीचको छिनाझपटीलाई समेत ओझेलमा पारिदिएका छन् ।
ओलीको सचिवालयमा कार्यरत डफ्फा र बाहिरी घेराबाट ओलीलाई ‘सघाउने र टिकाउने’ जमातबीचमै ओलीको ‘उत्तराधिकारी’ को बन्ने भन्नेदेखि दोस्रो र तेस्रो पुस्तासम्मकै ‘र्यांक एण्ड फाइल’, सत्ताको तत्कालिक भागबण्डा, पद–प्रतिष्ठा र आर्जनको प्रतिस्पर्धा एवं शक्तिको लडाइँ छताछुल्ल भएको छ । महासचिव पोखरेललाई विनाविभागीय उपप्रधानमन्त्रीबाट एकाएक बर्खास्त गरेर अर्थमन्त्री विष्णु पौडेललाई बढुवा गरी उपप्रधानमन्त्री बनाइएपछि सम्भावित ‘उत्तराधिकारी’ का रुपमा ओलीले पौडेललाई अघि सारेको रुपमा अर्थ्याउन थालिएको छ ।
एकातिर आफूलाई शीर्ष नेताकै रुपमा प्रस्तुत गर्ने जमर्को गरिरहेका सुवास नेम्बाङ खडा छन् भने अर्कातिर ओलीपछिको ‘खास उत्तराधिकारी’ का रुपमा शंकर पोखरेलले आफूलाई अघि सार्ने जमर्को गर्दै आएका छन् । लुम्बिनी प्रदेशको मुख्यमन्त्री, त्यो पनि अल्पमतको बनेर खुम्चनुपर्दा पोखरेल यतिबेला केन्द्रीय राजनीतिबाट च्युत भएका छन् ।
विगतदेखि नै लुम्बिनी क्षेत्रमा विष्णु पौडेल र शंकर पोखरेलबीच चर्कै लडाइँ थियो, जुन अहिले झनै पेचिलो बन्दै गएको छ । ईश्वर, नेम्बाङ, पौडेल र शंकरहरुबीचको लफडा मिलाउन मुस्किल परिरहेका बेला ओलीलाई ‘युवापुस्ता’ र निकटतम सहयोगी भनिने सचिवालयबीचमै बल्झिएको पछिल्लो लडाइँले त झन् थेग्नै नसक्ने स्थिति सिर्जना गरिदिएको छ । तेस्रो पुस्ताका भनिने भानुभक्त ढकाल, विष्णु रिमाल, खगराज अधिकारी, राजन भट्टराई, गोकुल बाँस्कोटा, कर्ण थापा र महेश बस्नेतहहरुबीच बल्झेको पछिल्लो लडाइँले ओली क्याम्पमा भुइँचालो गएको छ ।
मन्त्रिपरिषद विस्तारका क्रममा कर्ण थापा, गोकुल बाँस्कोटा, खगराज अधिकारी र महेश बस्नेत गृहमन्त्रीका दावेदार बने । र, बस्नेतलाई नै गृहमन्त्री बनाउने ‘मोटामोटी सहमति’ समेत कायम भैसकेको थियो । तर, शंकर पोखरेल, भानुभक्त ढकाल, विष्णु रिमाल र राजन भट्टराईहरु एकजुट भई बस्नेतको नाम मेटाएर खगराज अधिकारीलाई गृहमन्त्री बनाइदिन सफल भए । राष्ट्रपति विद्या भण्डारीमार्फत ओलीसामु दबाव सिर्जना गराएर शंकर, भानुभक्त र राजनहरुले बस्नेतलाई रोक्न सफलता पाएको स्रोतको भनाइ छ ।
आफूले गृहमन्त्री बन्ने अवसर गुमाएसँगै बस्नेत र उनी निकटस्थ युवाहरुले सामाजिक सञ्जालबाट र सञ्चार माध्यममा अर्तर्वार्ता दिएरै आक्रोश पोखिरहेका छन् । बालुवाटारमा कसिएको सल्लाहकारहरुको घेराबन्दीले आफूलाई गृहमन्त्री बन्न रोकेको सार्वजनिक अभिव्यक्ति बस्नेत आफैंले दिइसकेका छन् । महेश बस्नेतको अस्वाभाविक र उदेकलाग्दो वर्चश्व रोक्न शंकर, भानुभक्त, गोकुल हुँदै कर्ण थापा र राजन भट्टराईहरूसम्म एकजुट भएको बताइन्छ ।
‘प्रधानमन्त्रीसहित शीर्ष नेता बसेर नाम टुंगो लगाउनुभएको थियो, आन्तरिकरूपमा बधाई पनि लिइसकेको थिएँ तर पछि मेरो नाम आएन,’ सोमबार अनलाइनखबरमा प्रकाशित अन्तर्वार्तामा महेशले भनेका छन्– ‘एमालेभित्रका कतिपय साथीलाई आफ्नो राजनीतिक भविष्य अन्योलमा पर्छ भन्ने लागेको हुनुपर्छ; महेश बस्नेत गृहमन्त्री बन्दा आफ्नो भविष्य संकटमा पर्ने देखेर चलखेल भयो ।’
‘ती प्रधानमन्त्रीको वरिपरिका साथीहरू हुन्; गृहजत्तिको वजनदार मन्त्रालय मैले पाउँदा मेरो समकक्षी ठान्ने वा सिनियर सम्झनेहरूले आफ्नो राजनीतिमा असर पर्ने देखेर घेराबन्दी र लबिङ गर्नुभयो,’ बस्नेतले अगाडि भनेका छन्– ‘तर (प्रधानमन्त्रीलाई) सुझाव पठाएका छौं– उहाँको जुन खालको सल्लाहकारको समूह छ, त्यसमा विचार गर्नुपर्छ; जुन सल्लाहकारले उहाँलाई बचाउनेभन्दा पनि विवादित गराउने भूमिका खेलिरहेका छन्, ती साथीहरूका बारेमा प्रधानमन्त्रीले सोच्नुपर्छ भन्नेमा पूर्वसांसदहरूको ठूलो संख्या छ, त्यो कुरा प्रधानमन्त्रीसम्म पुर्याएका छौं ।’