newskoseli.Com

मृत्युको मुखबाट यसरी जोगिएँ पटक–पटक…

… २०६२ सालमा माओवादीले संसदवादी दलहरुसँग मिलेर निरङ्कुश राजतन्त्रविरुद्ध सङ्घर्ष गर्ने निर्णय गर्‍यो र यसको वातावरण बनाउन कृष्णबहादुर महराको नेतृत्वमा एउटा समिति बनायो । त्यसमा बाबुराम भट्टरार्इ र टोपबहादुर रायमाझी पनि हुनुहुन्थ्यो । यही विषयमा कुराकानीका लागि महरा नयाँ दिल्ली पुग्नुभयो । त्यहाँ भारतीय पक्षसँग भेट हुँदा भारतीय अधिकारीहरुले मेरा बारेमा पनि कुराकानी गरेका रहेछन् ।

महराले बताउनुभए अनुसार भारतीय अधिकारीहरुले भनेछन्– ‘हामी तपाईंका नेताहरु मोहन वैद्यलाई पनि छाडिदिन्छौं; सीपी गजुरेललाई पनि छाडिदिन्छौं । उहाँहरुलाई केही गर्दैनौं, मार्दैनौं पनि । अरु राजनीतिक नेताहरुलाई पनि केही गर्दैनौं । तर, तपाईंको पार्टीमा सप्लाईको काम गर्ने चाचा भन्ने जो व्यक्ति छन्, उनी चाहिँं हाम्रो लागि खतरनाक व्यक्ति हुन् । उनी हतियारको काम गर्छन् । भारतमा आतङ्क फैलाइरहेका समूहहरुसँग उनको सम्बन्ध छ । हामीले चाचालाई भेट्यौं भने बाँकी राख्दैनौं; तत्काल शुट गदिदिन्छौं । हाम्रो कब्जामा परे भने उनी ज्यूँदै नेपाल फर्किंन पाउनेछैनन् । यो कुरा तपाईंहरुले राम्रोसँग बुझ्नुहोला ।’

मलाई यो कुरा सुनाउन महरा हस्याङ्फस्याङ् गर्दै लखनउ आउनुभएको थियो । उहाँले भन्नुभयो– ‘ल है चाचा, जोगिनुपर्‍यो । अरुलाई केही गर्दैनौं तर चाचालाई चाहिँ बाँकी राख्दैनौं भन्दैछन् इन्डियनहरु । जोगिएर काम गर्नुहोला ।’

हामी नयाँ जनवादी राज्यसत्ता प्राप्त गर्ने उद्देश्यका लागि माओवादी पार्टीमा लागेका थियौं । हाम्रा लागि सबैभन्दा गर्वको विषय हुन्थ्यो– शहादतप्राप्ति । जनताका लागि पार्टी र युद्धका पक्षमा लाग्दालाग्दै शहादत प्राप्त गर्न पाउनुलाई नै हामी आफ्नो जीवनको सफलता मान्थ्यौं । जनयुद्धमा लाग्दालाग्दै कुनै योद्धाको मृत्यु हुन पुग्यो भने पार्टीले उसलाई शहीद घोषणा गर्थ्यो । त्यो क्षणमा हामी आफू पनि शहीदको कोटिमा पर्न पाए हुन्थ्यो भनेर कामना गर्थ्यौं ।

खतरा देशभित्र र बाहिर दुवैतिर थियो । हातहतियार देशको एउटा भागबाट अर्को भागमा पुर्‍याउने क्रममा हामी मारिन सक्थ्यौं । त्यस्तै, भारतमा पनि सेना–प्रहरीको कब्जामा परेर ज्यूँदो नरहने सम्भावना हुन्थ्यो । तस्करहरुले नै उडाइदिन सक्थे । यो छुट्टै कुरा हो कि, सप्लाईको काम गर्दा त्यो विभागका केन्द्रका हामी कोही पनि देशबाहिर मारिएनौं । तर, हतियार ओसारपसार गर्ने क्रममा पूर्व र पश्चिममा तल्लो तहका केही कार्यकर्ता मारिए ।
––––––––––––––

हतियारको खोजी जारी थियो । त्यसै क्रममा एउटा समूहबाट ठूलै परिमाणमा गोली पाइने सुइँको पाइयो । त्यसका लागि एउटा भारतीय कारोबारीले बिहारको गयामा बोलाउँदै भन्यो– ‘अकेले आइएगा । उस ग्रुप के पास एसएलआर के ३०,००० गोली हैं । बार्डर तक ले जाने के लिए गाडी र सेक्युरिटी की इन्तजाम हम ही कर देंगे ।’

बरेलीबाट वैशाली हुँदै जाने छोटी लाइनको रेलमा म गया पुगें । कसैलाई नलिई आउनू भनेकाले म एक्लै थिएँ । साथमा करीब २० लाख भारु थियो । सम्पर्क स्थल भनेर उसले एउटा होटलको नाम दिएको थियो । त्यो होटल पोखरीको छेउमा रहेछ ।

उनीहरु समूहमा आइपुगे, पाँच–छ जना । म एक्लो थिएँ । उनीहरुले घुमाउरो पारामा आफूलाई हिन्दू अतिवादीका रुपमा चिनाउँदै भने– ‘यदि आप मुस्लिम अतिवादियों के विरुद्ध प्रयोग करेंगे तो ही हम ये गोली दे सकते हैं । बाद में भी देते रहेंगे । अगर, मुसलमानों को नहीं मारना है तो हम नहीं दे सकते ।’

chacha_coverप्रस्ताव अप्ठ्यारो थियो । कुराकानी लम्ब्याइरहनुभन्दा स्पष्टसँग आफ्नो कुरा राख्नु मैले उपयुक्त ठानें । हिन्दीमै भनें– ‘यो हिन्दू–मुस्लिमको कुरा होइन । हाम्रो लडाइँ भनेको वर्गीय लडाइँ हो । धनी र गरीबबीचको विभेद अन्त्यका लागि लडिएको लडाइँ हो । हामी माओवादी हौं । जनवादी राज्यव्यवस्थाका लागि लडिरहेका छौं; त्यसैको हतियार बोकेका हौं । तपाईंहरुले भारतको नक्सलबाडी आन्दोलनबारे सुन्नुभएको होला । उनीहरु पनि माओवादी नै हुन् र अहिले पनि नक्सलबाडीको रुपमै चिनिन्छन् । हाम्रो लडाइँ सबै जनता बराबरी हुनुपर्छ भन्ने अधिकारका लागि हो । त्यसैले हामी छानीछानी न मुस्लिमलाई हान्न सक्छौं, न हिन्दूलाई ।’

मैले अगाडि थपें– ‘तपाईंहरुलाई इच्छा लागे दिनुस्; इच्छा नलागे नदिनुस् । दिनुभयो भने पनि हामी पैसाले किन्ने हो, सित्तैंमा लिने होइन । हामीलाई इच्छा लागेन भने नकिन्न पनि सक्छौं ।’

उनीहरुले मेरो कुरा रुचाएनन् । भोलि बिहान थप कुराकानी गर्ने सहमति गर्दै खाना खायौं । अनि बिदावारी भएर आ–आफ्ना कोठामा सुत्न गयौं ।

गोली खरीदको प्रस्ताव गर्ने त्यो भारतीय पनि उनीहरुकै साथमा थियो । उसको घर उत्तरप्रदेशको महाराजगञ्जनजिकै छ भन्ने मलाई थाहा थियो । तर, मलाई यस्तो जानकारी छ भन्ने चाहिँ उसलाई थाहा थिएन ।

कुराकानीका क्रममा मलाई शङ्का लागिसकेको थियो— उनीहरु गोली बेच्ने बहानामा मलाई लुट्ने योजनाले आएका हुन् । ओछ्यानमा पुगेपछि उनीहरुबारे जति सोच्दै गएँ, उति डर लाग्न थाल्यो । कतै राति आएर पैसा लुट्ने त होइनन् ? मारेर फालिदिए भने के गर्ने ?… …

बिरानो ठाउँ, त्यो पनि एक्लै ! जे आइपर्छ, त्यसको डटेर सामना गर्न मानसिक रुपमा तयार हुनुबाहेक मसँग अर्को विकल्प थिएन । मुटु दह्रो पारें ।

जे सोचेको थिएँ, नभन्दै त्यही भयो । उनीहरु कालो मनकै रहेछन् ।

रातको एघार बजेको थियो होला, मेरो ढोका ढकढक गर्‍यो । खोलें; उनीहरु नै आएका रहेछन् । यति राति बोलाउन आउनुमा उनीहरुको नियत पक्कै राम्रो थिएन । उनीहरुले बसाइ नै पोखरीछेउको होटलमा मिलाएका थिए । पैसा लुटेर मलाई पोखरीमा फ्याँकिदिन सक्थे । त्यसरी फ्याँकिदिएको भए पोखरीका माछाले मलाई भोलि बिहानसम्म खाएर सक्ने थिए ।

उनीहरु हुरुर्र मेरो कोठामा पसे । जसले गोली दिने भनेर मलाई गया बोलाएको थियो, त्यो त्यक्ति पनि थियो । उसलाई औंल्याउँदै मैले बाँकीसँग भनें– ‘उहाँको घर उत्तरप्रदेशको महाराजगञ्ज हो भन्ने मलाई थाहा छ । उहाँका घरपरिवार सबैको फोटो मैले पार्टी हेडक्वार्टरलाई बुझाइसकेको छु । म त मरुँला, केही छैन; म मृत्युसँग लडेर, मृत्युलाई जितेर आएको मान्छे हुँ । तर, जसले मलाई यहाँसम्म बोलाएर ल्याएको छ, मलाई केही भयो भने त्यसको सात पुस्तासम्मको वंश पार्टीले नाश गरिदिन्छ । त्यसमा तपाईंहरु पनि पर्नुहोला । हाम्रो पार्टी भनेको अरिङ्गालको गोला हो । गोलामा ढुङ्गा हानेपछि अरिङ्गालले त्यत्तिकै छाड्दैन भन्ने तपाईंहरुले राम्ररी बुझ्नुहोला । त्यस्ता व्यक्ति पानीमुनि गए पनि हाम्रो पार्टीले बाँकी राख्दैन ।’

‘तपाईंहरुले दुब्लो–पातलो मानिस सरक्क यहाँ आएको छ, यसलाई जे पनि गर्न सकिन्छ भन्ने सोच्नुभएको होला । यस्तो सोच्नुभएको छ भने त्यो गलत हो । यहाँ वरिपरि मेरा सत्तरी जना मानिस छन् । मलाई मार्न त सक्नुहोला, तर मलाई मारे पनि सजिलै बाहिर निस्केर सुरक्षित हुन चाहिँ सक्नुहुन्न ।’

म खोक्रो धम्की मात्र दिन सक्थें । तर, त्यही खोक्रो धम्कीले मजासँग काम गर्‍यो । सबैभन्दा बढी त्यही व्यक्ति डरायो, जसले मलाई बोलाएको थियो । उसले मेरा खुट्टा समायो; रुन थाल्यो । मसँग जीवनको भीख पो माग्न थाल्यो ! मेरा खुट्टामा छाँद हाल्दै भन्न थाल्यो, ‘हमें माफ कर दीजिए । हमसे बहुत बडी भूल हो गयी । हम आपको कुछ नहीं करेंगे ।’

उनीहरुले आत्मसमर्पण गरे । मैले सबैलाई आ–आफ्नै कोठामा जान भनें । उनीहरु आज्ञाकारी विद्यार्थीझैं गए । म आनन्दले सुतें ।

भोलिपल्ट मैले उनीहरुलाई बोलाएँ र भनें– ‘तपाईंहरुले मलाई केही गर्नुभएन । यसका लागि धन्यवाद । तपाईंहरु बाँच्नुभयो; यही ठूलो कुरा हो ।’

अनि म झोला बोकेर होटलबाट हिँडें ।
––––––––––––––

चुनबाङ बैठक सकेर भारत फर्किनका लागि हामी दाङतर्फ झर्दै थियौं । दीनानाथ शार्मा, म लगायतका नेतासँगै थियौं । रोल्पाबाट ओरालो झरेपछि एउटा गाउँमा पुग्यौं । त्यहाँ दश–पन्ध्र घर थिए । त्यो रात हाम्रा लागि त्यही गाउँमा बस्ने व्यवस्था मिलाइएको रहेछ ।

भोलिपल्ट बिहानै त्यहाँबाट बसमा हिँड्ने र बिहानको खाना राइफल पोस्ट भन्ने ठाउँमा पुगेर खाने भनिएको थियो । दुश्मनको निगरानीका लागि राइफलसहितको जनमुक्ति सेना बस्ने ठाउँ भएकाले होला, यस्तो नाम राखिएको । युद्धकालमा पार्टीले अनुकूलता अनुसार विभिन्न ठाउँको नाम राख्ने गरेको थियो ।

हामी जहाँ रात बिताउँदै थियौं, त्यहाँबाट राइफल पोस्ट पुग्न बस चढेर रोल्पा–दाङ सीमानामा रहेको डाँडा दहबनसम्म पुग्नुपर्थ्यो । दहबनसम्म पुग्न त समस्या थिएन किनभने त्यो हाम्रै प्रभावको इलाकामा पथ्र्यो तर त्यहाँबाट गाडीमै दाङ झर्नु चाहिँ खतरा हुन सक्थ्यो । दहबनसम्म पुगेपछि गाडीबाट ओर्लेर जङ्गलको बाटो हुँदै पैदल झर्नुपर्थ्यो । दुईखोली हुँदै झेरर राइफल पोस्ट पुग्ने भनिएको थियो ।

हामी रात बसेको घरनजिकै एउटा बस हाम्रा लागि राखिएको थियो । हामी भोलि बिहान यही बसमा दहबनसम्म पुग्दै थियौं ।

बिहान उठेपछि थाहा भयो, हाम्रो बस राखिएको ठाउँभन्दा अलिक अगाडि ठूलो पहिरो गएर बाटो थुनिएछ । पहिरो यति ठूलो थियो, दिनभरि डोजरले माटो फाल्दा पनि बस हिँड्न सक्ने गरी बाटो सफा नहुने देखियो ।

पहिरोले खडा गरेको अवरोधले गर्दा बसमा दहबन पुग्ने र दुईखोली हुँदै राइफल पोस्ट पुगेर खाना खाने कुरा सम्भव हुने देखिएन ।

बाटो तत्काल खुल्ने नदेखिएपछि हामी पैदलै लाग्यौं । दिनभरि हिँडेर अपराह्न चार बजे दहबन पुग्यौं । दहबन डाँडामा पुगेपछि हामीले जानकारी पायौं– दिउँसो शाही सेनाले राइफल पोस्टमा हेलिकप्टर ल्यान्ड गरेछ र हाम्रा दुई साथीको हत्या गरेछ । पार्टीको जिल्ला समितिका साथीहरु परेका रहेछन् । उनीहरु हाम्रै लागि खानाको व्यवस्था गर्दै रहेछन् । साथीहरुको हत्या गरेपछि सैनिकहरु हामीलाई पकाएको खाना खाएर हिँडेछन् ! उनीहरुले जिल्ला हेडक्वार्टरका सबै सामान लगेछन् ।

राति गएको त्यही पहिरो हाम्रो ज्यान जोगाउने कारण बन्यो । यदि अघिल्लो रात हामी बास बसेको ठाउँमा पहिरो नगएको भए हामी पनि राइफल पोस्ट पुग्ने थियौं । सेनाले हामीलाई पनि बाँकी राख्ने थिएन । तर, हाम्रो ज्यान जोगिएकामा हामी जति खुशी थियौं, त्योभन्दा धेरै खुःखी भयौं, हाम्रा लागि खानाको व्यवस्था गर्दागर्दै पार्टीका दुई साथीले ज्यान गुमाउनु परेकामा ।
––––––––––––––

चुनबाङ बैठकका लागि जाँदा पनि हामी बल्लबल्ल जोगिन सक्यौं । हामी सेनाको घेराबन्दीमा परिसकेका थियौं । दाङ हुँदै रोल्पाको टिलामा पुगिसकेका थियौं; टिला बजारमा खाना खाने कार्यक्रम थियो । थकाई मार्दै थियौं; माथिबाट सेना झर्दै गरेको देखियो ।

हामीसँग पनि जनमुक्ति सेनाको एउटा टुकडी त थियो तर सानो थियो । एक सेक्सनजति मात्र । शाही सेना चाहिँ ठूलो सङ्ख्यामा थियो । जनमुक्ति सेना सानो सङ्ख्यामा भएकाले हाम्रा तर्फबाट फायर खोल्नु फाइदाजनक हुँदैनथ्यो । त्यसैले फायर खोल्नुको साटो हामी पनि तलैतिर झ¥यौं । खोलामा झरेर अर्कैतिर निस्कियौं । केही छिनमा सेनाको हेलिकप्टर अकाशमा उठ्न थाल्यो; वरिपरि घुमायो । तर, धेरै उचाइबाट उडेकाले हामीलाई भेट्न सकेन । माओवादीतिर पनि सेना छ, आफूले फायर खोल्दा अप्ठ्यारो पर्ला भन्ने सोचेर होला, शाही सेनाले हामीलाई पछ्याएन; त्यत्तिकै अघि बढ्यो ।

भागाभागले गर्दा दिनभरि हाम्रो टिम लथालिङ्ग भइसकेको थियो । कोही कता पुगेका थियौं, कोही कता । तर, टिला हाम्रो आधारइलाकाभित्रैको ठाउँ थियो । आधारइलाकाभित्र एकत्रित हुन अप्ठ्यारो थिएन । बेलुकी फेरि हामी सबै एकै ठाउँ जम्मा हुन सक्यौं । राति एकै ठाउँ बास बस्यौं । भोलिपल्ट चुनबाङका लागि अघि बढ्यौं ।
––––––––––––––

म सुनौलीबाट भैरहवा जाँदै थिएँ । झोलामा पार्टीका दस्तावेज थिए । सुनौली भन्सारमा सेनाले खानतलाशी लिइरहेको थियो । लाइनमा भारतीय सेनाबाट घरबिदामा फर्केका नेपाली लाहुरेहरुको हूल थियो । हामी जिपमा थियौं । मलाई लिन आफ्नी सानी छोरी र छोरासहित गाडी लिएर बालकृष्ण भुसाल सुनौलीसम्मै पुग्नुभएको थियो । उहाँकै जिपमा चढेर हामी भैरहवा आउँदै थियौं ।

सीमानामा सेनाको चेकिङका लागि जिपबाट ओर्लिनुपर्थ्यो । साथको झोला पनि सेनालाई देखाउनुपर्थ्यो । मेरो झोलामा भएका पार्टीका दस्तावेज सेनाले फेला पारे पक्राउ परिहालिन्थ्यो । कुनै मानिस डराएको देखिए ऊमाथि अझ सोधपूछ हुन्थ्यो । उम्किने कोशिश गर्दा झन् फन्दामा परिन्थ्यो ।

उम्किनका लागि जसरी हुन्छ, आफूमाथि शङ्का नहुने वातावरण तयार गर्नु राम्रो हुन्थ्यो । त्यसैले म सरासर अघि बढें; चेकिङ गरिरहेको सैनिकको अगिल्तिर गएँ । झोलाको चेन फटाफट आफैंले खोलें र अगाडि सारिदिँदै भनें– ‘लौ हेर्नुस् ।’

मेरो उपायले यहाँ पनि काम गर्‍यो । चेकिङका लागि खटिएको सैनिक जवानले सोध्यो– ‘झोलामा के छ बाजे ?’ उसले मेरो झोला खोतल्नै चाहेन ।

मैले भनें– ‘खासै केही छैन । दबाईका लागि गएको थिएँ । औषधिका  कागजपत्र मात्र छन् । गाडीमा उहाँहरु (बालकृष्ण भुसालतिर देखाउँदै) लिन आउनुभएको थियो । उहाँसँगै फर्केको हुँ ।’

उसले गाडीमा हेर्‍यो । बालकृष्णजी केटाकेटीसहित हुनुहुन्थ्यो । झोला मैले नै खोलेर देखाइदिएको थिएँ । त्यसैले उसले खासै शङ्का गरेन । फेरि सोध्यो– ‘घर कहाँ ?’

मैले भनिदिएँ– ‘बुटवल ।’

फेरि सोध्यो– ‘बुटबल कहाँ ?’

‘क्याम्पसनजिक ।’

‘ल जानुस् ।’

यसरी पार्टीका दस्तावेज झोलामा बोकेर आएको म पक्का माओवादी त उम्किएँ, तर लाइनमा बसेका लाहुरेहरुलाई चाहिँ सैनिकहरुले तिनका झोला खोतल्दै पिट्दै उधुम गरिरहेका थिए ।
––––––––––––––

सप्लाईको कामका कारण म धेरैजसो लखनउमा बस्थें । त्यहाँ मेरो कोठा थियो । मसँग पत्रकार गोपी ज्ञवाली पनि बस्ने गर्नुहुन्थ्यो । सप्लाई विभागका जिम्मेवारहरु बस्ने कोठामा कसैलाई लगिन्नथ्यो । पार्टीकै मान्छे किन नहोऊन्, भेटघाट पनि बाहिरै गरिन्थ्यो ।

एक चोटि हाम्रो पार्टीकी नेत्री तथा कवयित्री निभा शाह लखउन पुग्नुभएछ । कहाँ बस्ने ? समस्या परेछ । अध्यक्ष प्रचण्डले मलाई फोन गरेर भन्नुभयो– ‘निभाजीलाई बस्ने ठाउँको प्रबन्ध गरिदिनुपर्‍यो ।’

अध्यक्षले नै अनुरोध गुर्नभएपछि व्यवस्था गर्नैपर्‍यो । अप्ठ्यारो स्थिति थियो । त्यसैले हाम्रै कोठामा उहाँका लागि बस्ने व्यवस्था गर्‍यौं । उहाँका साथमा अर्की महिला साथी पनि थिइन् ।

हामी कामको सिलसिलामा दिनभर बाहिर हुन्थ्यौं । निभाजीहरु दिनभरि कोठामा बस्नुहुन्थ्यो । जाडो याममा दिनभरि कोठामा के गरी बस्ने ? दिन बिताउन गाह्रो हुन्थ्यो होला । त्यसैले दिउँसो माथि छतमा जानुहुँदो रेहछ, त्यो पनि हाफप्यान्ट लगाएर ।

हाम्रो कोठा रहेको ठाउँ सीआईडीको निगरानीमा परेको क्षेत्र रहेछ ।

नेपाली अनुहार, त्यो पनि महिला, त्यसमाथि हाफप्यान्ट लगाएर छतमा बसेका ! को हो, कसो हो भनेर सीआईडीले शङ्का गर्ने भइहाल्यो । हाम्रो कोठावरिपरि उनीहरुको गतिविधि बढ्न थाल्यो ।

भारतीय प्रहरीहरुको चलखेल देखिन थालेपछि मैले कोठा सार्ने निर्णय गरें ।

मैले साथीहरुलाई भनें– ‘राति बत्ती बन्द गरेर रातभरिमा सामान पोका पार्नुहोला । भोलि बिहान आठ बजे सामान सार्नका लागि गाडी पठाइदिन्छु । तपाईंहरु गाडीमा सामान लोड गरेर आउनुहोला ।’

जुन दिन कोठा सार्ने तया भयो, त्यस दिन म त्यो कोठामा गइनँ । बाहिरै बसें । साथीहरुले रातभरिमा सामान लोड गरे । बिहान मैले गाडी पठाइदिएँ । त्यसैमा कोठाका सामान सारिए ।

साथीहरु गाडीमा सामान राखेर हिँडेको आधा घन्टापछि नै प्रहरी त्यहाँ पुगेछ । घरको खानतलाशी लिएछ । हामीलाई त भेट्न, सकेन तर हाम्रा बारेमा निकै सोधखोज गरेछ । घरपट्टीलाई पनि हाम्रा बारेमा धेरै थाहा थिएन । केही भन्न सकेनछन् ।

तैपनि प्रहरीले घरपट्टीलाई थानामा लगेछ ।

(२८ कात्तिक, ०७२ मा दिवंगत माओवादी नेता एवं सांसद पाण्डेको सीताराम बरालद्वारा संकलित तथा सम्पादित र सांग्रिला बुक्सद्वारा हालै प्रकाशित कृति ‘चाचा : भक्तिप्रसाद पाण्डेको सङ्घर्षयात्रा’ बाट साभार)

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर