नेपालको राजनीतिले तरलताबाट अब बिस्तारै ठाेस आकार ग्रहण गर्दैछ । तरलताको बीचमा अब नेपाली राजनीतिको फुटको श्रृङ्खला लगभग अन्त्य भएको मेरो विश्लेषण छ । अब हुने फुटहरुको या त कुनै अर्थ र अस्तित्व हुनेछैन वा त्यो फुट कतै एकताका लागि वा बिलयका लागि हुने छ । फुट र विभाजनमा राम्रो ‘कला’ भएका नेपालका कम्युनिस्टहरु करङ भाँचिनेगरी लडिसकेका छन् । अरुलाई भन्दा आफैं लड्न र भत्किन अन्तर्राष्ट्रिय अनुभवका समेत ज्ञाता नेपाली कम्युनिस्टहरुको फुटको श्रृङ्खला पनि अब सकिएको छ । अहिले मोहन वैद्य ‘किरण’ ले नेतृव गरेको समूहभित्र चलेको फुट र विभाजनको चर्चा अब झन्डै अन्तिम चर्चा हो । उक्त समूह फुटेमा त्यो फुट होइन, कतै जुट्न जानका लागि भएको कित्ताबन्दी मात्रै हुन्छ । संसारभरिका श्रमजीवीलाई एक होऊ भन्दै करोडांै कम्युनिस्टलाई एक बनाएका लेनिनको स्मरण गर्ने दिन आज यसैमाथि केही शब्द बुन्न चाहन्छु ।
मैले शीर्षकमै लेखें– मेरा दुई साँघुरा इच्छा भनेर । मेरा दुई साँघुरा इच्छा भनेका अरु केही पनि होइनन्, मैले पच्चीस वर्षसम्म राजनीतिक कक्षाको विद्यार्थी हुँदा पढेका, पढाइएका, सिकेका, सिकाइएका कुराहरु अब बाँकी जीवनमा छोड्नु नपरोस् । हिजोका निकै कठिन मोडहरुमा दरिलो विश्वास र आत्मविश्वास दिने त्यो कक्षामा रटाइइको चेतनाभन्दा अर्को चेतना जतिसुकै आधुनिक होस्, स्वीकार्ने नपरोस् किनकि न त अहिले पच्चीस सय वर्ष पुरानो बुद्धको दर्शन यहाँ पुरानो भएको छ न त दसौं हजार वर्ष पुराना बेद–उपनिषद् पुराना भएका छन् । आस्थामा बस्नेहरुका लागि ती अहिले पनि ताजा नै छन् भने जम्मा डेढ सय वर्ष पनि पुरानो नभएको, आजको विश्वलाई विज्ञानको नवीनतम उपहार दिने, अन्तरिक्षसम्म मानिस नै पुग्न सक्छ भनेर पुष्टि गर्ने र अरुलाई बाटो देखाउने कार्ल माक्र्स, लेनिन र उनका अनुयायीहरुले प्रतिपादन गरेको र प्रमाणित गरेको विचार–विज्ञान पुरानो भयो भन्ने उच्च चेतना ममा कम्तिमा अहिले चाहिँ आइसकेको छैन ।
मेरै नेपालमा पनि विगत सत्तरी वर्ष यता पढिन थालेको यो विद्याले सत्तरी भाग नेपाललाइ प्रभावित पारेको छ । असल गुरु र असल चेला नहुँदा यो विचार–विज्ञानको सही सदुपयोग भएको छैन । गुरु र चेला सबै यही विद्याका छन्, यही विद्या पढिन्छ तर व्यवस्थापन समिति खोज्न भने रुखको छहारीमुनि पुग्ने गरेको इतिहास पछिल्ला दुई दशकमा दोहोरिएको छ ।
म यो बिडम्बनादेखि दिक्क छु तैपनि आस्था गुमेको छैन । त्यस्तो दिन आउने छ, जुन दिन सबै गुरु–चेला एउटै छानामुनि हुनेछन् र आफ्नै विद्याले विद्यालय व्यवस्थापन गर्नेछन्, रुखमुनि वा कतै अन्यत्र धाउने छैनन् । लेलिनको स्मरण गरिरहँदा यो विद्या सबैलाई आउने छ– मेरो पहिलो साँघुरो सपना वा इच्छा यही हो ।
यही साँघुरो सपनाका कारण म मेरा केही प्रिय मित्रहरुसँग भड्किन सकिँन । उनीहरु मलाई सप्रमाण पढाएको विद्या आफैं पुरानो भयो भन्दैछन् । नयाँ बनाउने भन्दै पुराना, थोत्रा चिन्तनहरुलाई शिरमा राखेर देश दौडाहामा निस्केका छन् । सत्तरी भाग नेपाल र नेपालीलाई आधुनिक विचार–विज्ञानले प्रभावित पारिसकेपछि विश्वलाई नै फेरि एक पटक लेनिनको विचार सही छ भनेर पुष्टि गर्न विश्व भ्रमण गर्लान् भन्ने अनुमान थियो तर आफ्नै लेक र बेंशीमा आफैंले यात्रा गर्दाका पदचापहरु मेट्नमै समय व्यतित गरिरहेका छन् । मलाई आफूले हिजो तय गरेको यात्रा गलत थियो भन्ने कहिल्यै लागेन र लागेको थिएन । नयाँ यात्राका नाममा हिजोको यात्रा भ्रमपूर्ण थियो भन्नेहरुको बहुल्यता भएको कक्षामा बस्न र पढ्न नैतिकताले पनि दिएन ।
दोस्रो इच्छा वा सपना पनि त्यस्तै साँघुरो, सानो नै छ । पच्चीस वर्षअघि म जतिबेला यो कक्षामा आइपुगें, एक हुल जीवन शर्मा, नारायण योगी, ग्याम चालिसे, रामचरण थारुहरुको आयो । उनीहरुले त्यतिबेला नै दिमागमा अनौठो चित्र हालिदिए । रातो कपडामा टाँसिएको हँसिया–हथौडाको झन्डामा म क्रेजी नै भएँ । हुन पनि ग्याम चालिसेको हत्या भएपछि उनलाई त्यही झन्डा ओढाइयो, रामचरणको निधनमा त्यही झन्डा ओढाइयो, जीवन शर्मा त्यही झन्डाको गीत गाउँन छाड्दैनन्, एक–एकवटा खुट्टा गुमाएका गङ्गा लामा र सुनीता रेग्मी यो झन्डालाई चुमिरहेका छन् । एकतारे बोकेर चारतारे विचारमा बिलय हुन पटक्कै मनले मानेन । भनौं, एउटा अनौठो लोभले मलाई त्यता तानेन, त्यो लोभ भनेको कतै म मरिहालें भने त्यहाँ सगौरव हँसिया–हथौडा अंकित झन्डाको खोजी नहुने भयो । अनि त्यहाँ न त गङ्गा लामा, न त सुनीता रेग्मी वा माइला लामा र जीवन शर्मा त्यो रातो झन्डा बोकेर आउने भए, उनीहरुले त त्यताको बाटै नदेख्ने भए ।
यिनै दुई ‘निम्नपुँजीवादी चिन्तनका’ पुराना लोभले म खिचडीयुक्त विचार बोक्नेहरुको समूहमा हुन सकिनँ । पुरानो घरकै लिपपोतको चेतना यी दुई साँघुरा सपनाले जगाइदिए । लेनिनको विचार अझै पुरानो भएको छैन । एकताको आवाज अझै घन्काइरहनु पर्छ ।
२२ अप्रिल २०१६, अस्ट्रेलिया