कुनै पनि समाजमा दुई वटा वर्गहरु रहेका हुन्छन् । पुँजीवादी समाजमा पुँजीपति वर्ग र सर्वहारा श्रमजीवी वर्ग हुन्छन् । तीमध्ये कम्युनिस्ट पार्टीहरु सर्वहारा वर्गका पार्टीहरु हन् ।
सामान्यतयाः एउटा देशमा एकभन्दा धेरै कम्युनिस्ट पार्टी हुन सक्दैनन् भन्ने मान्यता छ । महान् लेनिनले यो कुरालाई जोडका साथ स्थापित गर्नु भएको थियो । विश्वका क्रान्तिहरु सम्पन्न भएका सोभियत संघ, पूर्वी युरोप, चीन, भियतनाम, क्युबा, लाओस्, कम्बोडियालगायतका देशहरुमा एउटै मात्र कम्युनिस्ट पार्टीहरु थिए ।
परन्तु, आज संसारभरि कम्युनिस्ट पार्टीहरु विभाजित बनेका छन् र एउटै देशमा आफूलाई कम्युनिस्ट दाबी गर्ने एकभन्दा धेरै पार्टीहरु विद्यमान छन् । नेपाल पनि यसबाट अछुतो रहन सकेको छैन ।
कम्युनिस्ट एकताको आवश्यकताः
नेपाली जनताले यहाँका कम्युनिस्टहरुलाई अग्रगामी र क्रान्तिकारी शक्तिको रुपमा लिएका छन् । नेपाली किसान, मजदुर र सर्वहारा वर्गको नेतृत्व गर्दै सामन्तवादका अवशेषहरुको मूलोच्छेदनद्वारा जनवादी क्रान्तिका बाँकी कार्यभारहरुलाई पूरा गर्दै, दलाल नोकरशाही पुँजीवाद र साम्राज्यवादलाई परास्त गर्दै, नेपालमा समाजवादी क्रान्ति सम्पन्न गर्ने र साम्यवादको महान् अग्रगामी दिशामा अघि बढ्ने मूल लक्ष्य र सिद्धान्त बोकेका हुनाले यहाँका कम्युनिस्ट र वामपन्थी पार्टीहरुलाई जनताको समर्थन प्राप्त भएको हो; नेपाली जनता कुनै नेताका व्यक्तिगत गोठाला–खेताला भएको हुनाले अथवा कसैको व्यक्तिगत स्वार्थ, चाहना र मनोकाङ्क्षालाई परिपूर्ति गर्नका लागि कम्युनिस्ट भएका होइनन् ।
त्यसो हो भने संसारका मजदुरहरु एक होऔं भन्ने नारा बोकेका नेपाली कम्युनिस्टहरु आफैंमा किन विभाजित छन् त ? जनताले यो प्रश्नको जवाफ खोजिरहेका छन् । संसारभर कम्युनिस्ट पार्टीहरु कमजोर र विसर्जित भइरहेका बेला नेपालमा भने झन्डै ६५% जनताले कम्युनिस्ट पार्टीहरुलाई मतदान गरी देशलाई पटक–पटक कम्युनिस्टमय बनाइदिएका छन्; निरन्तर रुपमा मार्क्सवाद र समाजावादी क्रान्तिप्रति आफ्नो प्रतिबद्धता र पक्षधरता प्रकट गरिरहेका छन् ।
पहिलो संविधानसभाको निर्वाचनमा जनताले तत्कालीन नेकपा (माओवादी) लाई सबैभन्दा ठूलो र नेकपा (एमाले) लाई तेस्रो ठूलो दलका रुपमा निर्वाचित गरे । दोस्रो संविधानसभामा समेत नेकपा (एमाले) दोस्रो र एकीकृत नेकपा (माओवादी) तेस्रो दलका रुपमा निर्वाचित भए । दुवै पटक अरु साना वामपन्थी दलहरु पनि प्रभावकारी भूमिकामा थिए ।
यदि सुरुदेखि नै संसद र संविधानसभामा यी दुई वटा कम्युनिस्ट पार्टीहरु र सम्पूर्ण वामपन्थी शक्तिहरु मिलेका भए स्थायी सरकार बनाउन, अझ प्रगतिशील र जनमुखी संविधान बनाउन, जनताले अनुभूति गर्ने गरी जनपक्षीय, प्रगतिशील र सुधारोन्मूख कामहरु गर्न, भूकम्पपीडित जनतालाई तत्काल राहत दिन र नाकाबन्दीका विरुद्ध प्रभावकारी ढङ्गले जुध्न सम्भव हुने थियो । क्रान्तिकारी भूमिसुधार गरेर तमाम सुकुम्बासी तथा भूमिहीन किसानहरुलाई जमिनको मालिक बनाउन सकिन्थ्यो ।
कृषिको व्यावसायीकरण, यान्त्रीकरण, औद्योगीकरण र सहकारीकरण सहितको कृषिक्रान्ति गर्न सकिन्थ्यो । विकासको लहर आउँथ्यो । जनतामा आत्मविश्वास बढ्थ्यो । राष्ट्रिय पुँजीको विकास गर्न सकिन्थ्यो । लाखौंको संख्यामा रोजगारी सिर्जना गरेर युवाहरुलाई विदेशिनुपर्ने बाध्यताबाट मुक्त गर्न सकिन्थ्यो । मार्क्सवाद–लेनिनवाद–माओवादको मार्गदर्शनमा जनवादी क्रान्तिका बाँकी कार्यभारहरु पूरा गर्दै नेपाली मौलिकतासहित समाजवादी क्रान्तिको दिशामा अगाडि बढ्न सम्भव हुने थियो र नेपाल एक्काईसौं शताब्दीमा समाजवादी क्रान्ति गर्ने पहिलो देश बन्न सक्थ्यो ।
परन्तु, त्यस्तो हुन पाएन । दुवै पटक वाम गठबन्धन प्राथमिकतामा परेन । बनेका गठबन्धन समेत लामो समय टिकेनन् । बरु वर्गशत्रुसँग मिल्न तयार हुने तर एक–अर्काको अस्तित्त्वलाई स्वीकार्न तयार नहुने स्थिति कायमै रह्यो । परिणामतः कयौं असफलताहरु व्यहोर्नुपर्यो । आम जनताको बीचमा वामपन्थीहरुको बारेमा समेत अत्यन्तै नकारात्मक छवि बन्दै गयो, जसले भविष्यमा नेपालको कम्युनिस्ट आन्दोलनप्रति नै विश्वासको संकट पैदा गर्ने र जनताबाट धेरै टाढा पुर्याउने खतरा उत्पन्न हुँदै थियो ।
आम नेपाली जनता यस्तो फुट, विभाजन र निषेधको विरुद्धमा थिए । तिनले नेपालका कम्युनिस्ट र वामपन्थी शक्तिहरु एकताबद्ध भएको र यहाँ समाजवादी क्रान्ति भएको हेर्न चाहन्थे, चाहन्छन् । जनताले पटक–पटक विभिन्न प्रकारका ध्रुवीकरणहरुमार्फत यो सन्देश दिइरहेका थिए । सबैजसो कम्युनिस्ट तथा वामपन्थी पार्टीहरुभित्र रहेका र निरन्तररुपमा क्रान्तिको पक्षमा उभिइरहेका क्रान्तिकारीहरु पनि यही चाहन्थे ।
जनताको यही भावनालाई उच्च कदर गर्दै यस पटक वाम गठबन्धन निर्माण भएको छ र पार्टी एकताको प्रयत्न अगाडि बढेको छ । यसले नेपालका सर्वहारा श्रमजीवी वर्ग र क्रान्तिकारी जनसमुदायमा हर्ष र खुशीको वातावरण छाएको छ ।
आसन्न प्रदेशसभा तथा प्रतिनिधिसभा निर्वाचनमा चुनावी तालमेलबाट सुरु भएको यो प्रक्रिया सिद्धान्तनिष्ठ पार्टी एकतासम्म पुग्नेछ र पुग्नु पर्दछ । कम्युनिस्टहरुबीच एकताको सम्भावना बढ्दै जाँदा नेपाली समाजको क्षितिजमा समाजवादी क्रान्तिरुपी उषाका किरणहरु देखिँदैछन् । यो प्रक्रियाले नेपालमा मात्रै नभएर समग्र विश्वभरकै कम्युनिस्ट र वामपन्थी आन्दोलनमा आशाको लहर आएको छ । एकपछि अर्को गर्दै हार व्यहोरिरहेको विश्व कम्युनिस्ट आन्दोलन र सर्वहारा वर्गमा क्रान्तिप्रतिको आशा र भरोसा पुनर्जागृत भएको छ ।
एकता प्रक्रियाका चुनौतीहरुः
वाम गठबन्धन र कम्युनिस्ट एकताका जति धेरै महत्त्वपूर्ण आयामहरु छन्, त्यति नै धेरै र ठूला चुनौतीहरु पनि छन्, जसलाई निम्नानुसार सूत्रबद्ध गर्न सकिन्छ–
क) नेपाली धर्तीमा कम्युनिस्ट र वामपन्थी पार्टीहरुको एकता भई स्थायी सरकार बन्ने र समयान्तरमा समाजवादी क्रान्ति सम्पन्न भएमा आफ्नो अस्तित्व र लूटको स्वर्ग ध्वस्त हुने देखेर यहाँ देशी—विदेशी प्रतिक्रियावादीहरु, साम्राज्यवादी तथा विस्तारवादी शक्तिहरु तथा तिनका स्वदेशी दलालहरु वाम गठबन्धन तोड्न र कम्युनिस्ट एकता रोक्न भरमग्दुर प्रयत्न गरिरहेका छन् । त्यस्ता षड्यन्त्रहरुलाई चिर्नुपर्छ ।
ख) वाम गठबन्धन र पार्टी एकताका विरुद्ध भ्रम छर्ने र जनमत भड्काउने कोशिस हुँदैछ । त्यस्ता सबै भ्रमहरु चिर्नुपर्छ र तिनको भन्डाफोर गर्नुपर्छ ।
ग) निर्वाचनमा आशंका र विश्वासको संकट सिर्जना गरी एक–अर्काका विरुद्ध लडाउने प्रयत्न हुन सक्नेछ । त्यस्तो अवस्था आउन दिनु हुँदैन । कुनै पनि समस्या उत्पन्न भएमा छलफलद्वारा समाधान गर्नुपर्छ ।
घ) निर्वाचनमा एमालेले एकल बहुमत ल्याएमा वा माओवादीले नेपाली कांग्रेससँग मिलेर सरकार बनाउन सक्ने अवस्थामा यो वाम गठबन्धन तोड्न र एक–अर्काका विरुद्ध प्रयोग गर्नका लागि स्वदेशी तथा विदेशी प्रतिक्रियावादीहरु र तिनका दलालहरुले पूरै जोडबल गर्नेछन् । त्यसमा झुक्किने र फस्ने गल्ती गर्नु हुँदैन ।
ङ) पार्टी एकताको प्रक्रियामा एक–अर्काको विचार र इतिहासलाई सम्मान गर्दै सिद्धान्तनिष्ठ ढङ्गले अगाडि बढाउनुपर्छ र टुङ्गोमा पुर्याउनुपर्छ ।
कसैलाई पनि कुनै पनि बहानामा पार्टी एकताबाट भाग्ने छुट छैन । अब यो प्रक्रिया यति अगाडि बढिसकेको छ कि जसले यसमा गद्दारी गर्नेछ, ऊ समाप्त हुनेछ– व्यक्तिगत रुपमा वा संस्थागत रुपमा । त्यसैले नेकपा (माओवादी केन्द्र) र नेकपा (एमाले) का नेता–कार्यकर्ताहरु पार्टी एकताविरोधी र प्रतिक्रान्तिको मतियार बन्नबाट जोगिनुपर्छ ।
(लेखक नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य हुन् ।)