महिलामाथि हुने घरेलु हिंसा, बलात्कार र बलात्कारपछि हत्याजस्ता समाचारले अहिले सञ्चार माध्यम र सामाजिक सञ्जालहरु भरिएका छन् । यसरी पीडित हुने महिलाको सङ्ख्या बढिरहेको छ । यस्ता थुप्रै घटनाहरु दिनदिनै बहिर आइरहेका छन् ।
अझै पनि शारीरिक तथा मानसिक यातनाको शिकार बन्नु महिलाहरुको ‘नियति’ बन्ने गरेको छ । प्रायः गरिब, दलित, असहाय, वृद्धा महिलाहरुमाथि अर्थात्, विभिन्न दृष्टिकोणले ‘कमजोर’ हरुमाथि अत्यधिक हिंसाका घटना भइरहेका छन् । अझ एकल महिलाहरु त अनेकन किसिमबाट विभिन्न हिंसाको शिकार हुनुपरेको छ । उनीहरुलाई त समाजले ‘तल्लो दर्जाको नागरिक’ मा दर्ज गरिरहेको छ । हुन त हिंसा जहिल्यै पनि बढी शक्ति हुनेले कम हुनेमाथि नै गर्छ । अझ हाम्रोजस्तो दण्डहीनता व्याप्त समाजमा हिंसा अझै बढी हुने गरेको छ किनकि यहाँ सत्ता र शक्तिको आडमा दोषी र अपराधीहरुले उन्मुक्ति पाइरहेका छन् । फलस्वरुप महिला हिंसाका लागि धेरैले प्रोत्साहन पाइरहेका पनि छन् ।
विभिन्न तथ्यांकहरुको आधारमा भन्न सकिन्छ कि नेपालमा असी प्रतिशतभन्दा बढी महिलाहरु घरेलु हिंसाबाट पीडित छन् । आफ्नै घर, छिमेक र समाजमै महिलाहरु सुरक्षित छैनन् । हरेक दिन औसत तीन जना महिला बलात्कृत हुने गरेका छन्, अन्य दुई महिलामाथि बलात्कार–प्रयास हुने गरेको छ । र, वर्षेनि बलात्कारका घटना दस प्रतिशतका दरले बढ्ने गरेको छ । बलात्कार–प्रयासका घटना हरेक वर्ष १६ प्रतिशतका दरले बढेको छ ।
हाम्रो समाज किन यस्तो विसङ्गत र विकृत भइरहेको छ ? जहाँ आफ्ना छोरी–चेलीहरुलाई अनेकौं हिंसाद्वारा पीडित बनाएर हामी ‘नयाँ समाज’ को परिकल्पना गरिरहेका छौं ? यस्तो स्थितिमा त कसरी सम्भव छ सामाजिक रुपान्तरण ? हामीले कस्तो ‘संस्कार’ को विकास गरिरहेका छौं, जहाँ छोरी–चेलीको कुनै सुरक्षा छैन ? यस्ता अनगिन्ती प्रश्नहरु अहिले धेरैका मनमा र विशेष गरी महिला र महिला अधिकारकर्मीहरुका मनमा उब्जिरहेका छन् ।
हाम्रो सामाज तथा राजनीतिमा पितृसत्ता हावी छ । हजारौं वर्षदेखि महिलालाई ‘दोस्रो दर्जाको नागरिक’ का रुपमा व्यवहार गरिँदै आएको छ । महिलाहरु शिक्षाको पहुँचबाट टाढा थिए र अझै पनि छन् । महिलामाथि शिक्षामा लगानी कम छ । सम्पत्तिमाथिको स्वामित्वबाट महिलाहरु वञ्चित छन् । छोरा र छोरीलाई हुर्काउने तरिका नै विभेदपूर्ण छ । ‘अर्काको घर जाने जात’ हो भनेर स्वास्थ्य तथा शिक्षामा छोरीलाई महत्त्व दिइँदैन । बिहे गर्दा होस् वा अन्य काम गर्दा, पुरुष ‘ठूलो’ हो भन्ने मान्यता हावी छ ।
रुढीवादी परम्परागत पुरुषप्रधान सोचका सामाजिक मूल्य–मान्यताका कारण महिलाहरु पुरुषसरह समान अवसरबाट वञ्चित छन् । स्वतन्त्रता, गतिशीलता र महिलाको शरीरमाथि अरुले नियन्त्रण गर्नेजस्ता प्रवृत्तिका कारण महिलामाथि हिंसा भइरहेको छ ।
पुरुष भएकै कारण उनीहरुलाई हरेक क्षेत्रमा लिखित–अलिखित ‘विशेषाधिकार’ छ र ऊ ‘शक्तिशाली’ छ । नारीले अनेक कष्ट गरेर बच्चा जन्माउँछन् तर वंशको एकलौटी अधिकार भने पुरुषमा कायम छ । रात–दिन रगत–पसिना भिजाएर धानिएको अर्थतन्त्रमा अंश र सम्पत्तिको एकलौटी अधिकार पुरुषमै छ ।
यसरी हाम्रो समाजमा पढाइमा, खानामा, लुगामा र सपना बाँड्नमा समेत अर्थात्, समाजका हरेक संरचना र व्यवहारमा छोरा र छोरी, महिला र पुरुषबीच विभेद र असमानता छ । त्यही विभेद र असमानताका कारण महिलाहरु हरेक दृष्टिकोणबाट पीडित छन् । अनेकौं हिंसाका शिकार भएका छन् । लाग्छ– पीडित हुनु, सहनु र आँसु पिउँनु नै महिलाको ‘नियति’ हो भने हेप्नु चाहिँ पुरुषको ‘प्रवृत्ति’ नै हो ।
हाम्रो समाजमा सदियौंदेखि जागिर खाने, उद्यम गर्ने, सम्पत्ति जोड्ने अर्थात् समाजका सम्पूर्ण क्रियाकलापको नियन्त्रण गर्ने काम पुरुषको मात्रै भयो र भइरहेको पनि छ । अर्थात्, समाजको आधा हिस्सा पुरुषले मात्रै सपना देख्ने र उसले मात्रै परिवार, समाजलाई अघि बढाउने ठेक्का लियो भने अर्को आधा हिस्सेदारलाई कुनै अवसर प्रदान गरिएन । त्यही कारणले हाम्रो समाज पछाडि पर्यो । यदि महिलाहरुले पनि त्यो अवसर पाएका भए समाजको अहिलेको प्रगति दोब्बर हुन्थ्यो कि ?
महिला कोमल, लज्जालू, कमनीय र सुन्दरताकी प्रतीक हुन् । यिनै गुणहरुले नै नारी अस्मितालाई विशिष्ट बनाएको छ । अझ महिलालाई प्रकृति र सृष्टिका रुपमा व्याख्या गरिन्छ । तर, हाम्रो समाजले महिलालाई ‘पूर्ण मानव’ का रुपमा स्वीकार गरेको छैन । आर्थिक अधिकार, ज्ञानको अधिकार, वंशाधिकार पाए पक्कै पनि नारी निर्भिक, वाचाल र विदूषी हुन सक्छन्, तिनै तत्त्वहरुले महिलालाई आत्मनिर्भर पनि बनाउँछन् ।
उन्नत, समतामूलक, मानवीय गरिमायुक्त समाज निर्माणका लागि महिलाको अधिकार र आत्मसम्मानको रक्षा गर्नु पुरुषको महत्त्वपूर्ण दायित्व हो । यदि कोही न्यायप्रेमी छ भने पुरुष भए पनि महिला अधिकारको पक्षधर हुनैपर्छ । महिला र महिला अधिकारको सम्मान गर्नु भनेको पुरुषविरोधी हुनु होइन । त्यसैले समतामूलक समाज निर्माणका लागि महिलालाई सम्मान गर्ने संस्कार हुर्काउनु र बढाउनु जरुरी छ ।
प्राचीन धर्मग्रन्थहरुमा लेखिएको छ– ‘यत्र नार्यस्तु पुज्यन्ते रमन्ते तत्र देवताः’ यस वाक्यांशको भावार्थ हो– जहाँ नारी पूजनीय हुन्छिन्, त्यहाँ भगवानले पनि बास गर्दछन् । नारीको सम्मान हुने समाज वास्तवमै उत्कृष्ट र सभ्य समाज हो भन्ने पनि यही वाक्यांशले पुष्टि गर्दछ । हाम्रै वैदिक तथा संस्कृत परम्परामा देवीका विभिन्न रुप– लक्ष्मी, सरस्वती, सीता, पार्वती तथा अन्य अनेक रुपमा नारीलाई देवतातुल्य मानेर पूजा गरिन्छ ।
तर, हाम्रो परम्पराको गलत अभ्यासका कारण महिलालाई हेप्ने प्रवृत्ति र उनीहरु कहिल्यै पुरुषको दाँजोमा पुग्न सक्दैनन भन्ने रुढ मानसिकताले ग्रस्त बनायो । त्यसैले अहिलेको अवस्था निम्तिएको हो । यस्ता गलत संस्कार, मान्यता र सोचहरुलाई निरुत्साहित गर्न हामी सचेत हुनैपर्छ । र, महिला र महिला अधिकारलाई सम्मान गर्ने संस्कारको विकास गर्नैपर्छ ।
जुन समाजमा नारीको स्थान सम्मानजनक हुन्छ, त्यो समाज उत्तिकै प्रगतिशील र विकसित भएको देखिन्छ । परिवार वा समाजको निर्माण गर्न नारीको नै सदैव महत्त्वपूर्ण भूमिका हुन्छ । नारीले समान अधिकार र अवसर पाएको राष्ट्र मात्रै वास्तवमा मजबुत हुन सक्दछ । राष्ट्रनिर्माणका लागि महिलाले केन्द्रीय भूमिका निर्वाह गर्न सक्दछन् ।
आमाका रुपमा नारी नै सन्तान र समाजको प्रथम गुरु हुन्छिन् । पक्कै पनि आमाले परिवार र समाज असल होस् भन्ने नै चाहन्छिन् र राम्रा संस्कार सिकाउन प्रयत्न गर्छिन् । जर्ज हबर्टले भनेका छन्– ‘एक असल आमा सय शिक्षक बराबर हुन्छिन् त्यसैले जुनसुकै हालतमा पनि आमाको सम्मान गर्नुपर्छ ।’ तर, हाम्रो समाजमा भने महिलाहरुका लागि अवसर र सम्मान दुवै कुराको अभाव छ ।
जबसम्म महिलालाई राजनीतिक, आर्थिक र समाजिक–सांस्कृतिक रुपले अधिकारसम्पन्न बनाइँदैन, जबसम्म संविधान तथा ऐन–कानुनमार्फत सामाजिक सोच र संस्कारमा विभेद यथावत राखिन्छ, तबसम्म जति गफ लगाए पनि केही हुँदैन । अहिलेका जस्तै हिंसाका श्रृङ्खला जारी नै रहन्छन्; अझ बढिरहन्छन् । कानुनमा मात्रै होइन, व्यवहारमा पनि र वास्तवमै समानता हुनुपर्छ । महिला हिंसालाई निरुत्साहित गर्न र निर्मूल पार्न हिंस्रकलाई कानुनी र सामाजिक रुपमा कठोरतापूर्वक दण्डित गर्न सक्नुपर्छ । पीडितलाई संरक्षित गरी मनोवैज्ञानिक रुपमा बलियो बनाउन सक्नुपर्छ । उसलाई समाजमा स–सम्मान पुनस्र्थापित गराउनु पर्दछ ।
महिला हिंसा निरुत्साहित गर्न र महिलालाई पनि समान अधिकार र अवसर प्रदान गर्न घर–परिवार र समाजमा विद्यमान पितृसत्तात्मक परम्परागत सोच, संस्कार र व्यवहारलाई फालेर महिलाको सम्मान गर्ने संस्कार, मान्यता र विचारको विकास गर्नु जरुरी छ । त्यसका लागि आफ्नै घरदेखि सुरुआत गरौं । किन छोरीलाई मात्रै समाजका विविध दायरा र बन्धनमा रहन सिकाउने ? छोरालाई पनि ‘सम्हालिएर व्यवहार गर’ भनेर सिकाउनु उत्तिकै जरुरी छ । किन महिलालाई मात्रै चुलो–चौको, भात–भान्सामा खटाइरहने ? पुरुषले चाहिँ यो जान्नु जरुरी छैन ? आफ्नो काम आफैं गरौं, हरेक काम मिलेर गर्ने बानी बसालौं । महिलाले यो मात्रै गर्ने अनि पुरुषले यो काम गर्ने भनेर महिलालाई कमजोर ठान्ने काम नगरौं । सक्ने काम जसले गर्दा पनि हुन्छ ।
पिछडिएका महिलाहरुलाई अवसर प्रदान गरौं । अगाडि बढ्ने र प्रगति गर्ने बाटाहरु बनाइदिऊँ । महिलालाई भात–भान्सा र घर–गृहस्थीमा मात्रै सीमित नराखौं, उनको क्षमता र प्रतिभाको सम्मान गर्दै अगाडि बढ्ने अवसर दिऊँ । घर–व्यवहार सम्हाल्ने समान जिम्मेवारी पुरुषको पनि हो भन्ने मान्यतालाई व्यवहारतः स्थापित गरौं ।
पूरै कपडामा सजिएकी महिलालाई समेत ‘सर्वाङ्ग नाङ्गो’ देख्ने विकृत मानसिकता त्यागौं । महिलाको मानवअधिकारको रक्षा गरौं । महिलालाई ‘मनोरञ्जनको साधन’ ठान्ने र उनीहरुले बच्चा जन्माउने–हुर्काउँने तथा घरधन्दा हेर्ने मात्रै हो भन्ने मानसिकता त्यागौं । यो न्यायसङ्गत कुरा हुँदै होइन ।
महिलाविरोधी हरेक गलत अभ्यास, व्यवहार र संस्कारलाई सशक्त रुपमा निरुत्साहित गरौं । जुन सोच, संस्कार र व्यवहारले समाजलाई विकृत बनाइरहेको छ, त्यसलाई नै निरन्तरता दिइरहँदा हामी कसरी सभ्य र सुसंस्कृत हुन सक्दछौं ? आजसम्म आर्जन गरिएका सबै सकारात्मक ज्ञान तथा विवेकलाई व्यावहारिक रुपमा प्रयोग गरौं र महिलाप्रति सम्मान गर्ने संस्कार बसालौं । हामी बदलिए मात्रै समाज र संस्कार बदलिन्छ ।