newskoseli.Com

नेता–कार्यकर्ताको हत्याबारे यसो भन्छन् विप्लव (नेकपाको धारणा)

मुलुकमा यतिबेला मुख्यतः दुईथरी राजनीतिक घटनाक्रम र प्रवृत्तिबारे व्यापक चर्चा–परिचर्चा र बहस जारी छ ।

एउटा हो– सत्ताधारी शिविरको सत्ता–शक्ति बाँडफाँटको पेचिलो रस्साकस्सी । र, अर्को हो– वर्तमान सत्ताको घेराभन्दा बाहिरबाट नेत्रविक्रम चन्द ‘विप्लव’ को नेतृत्वमा नेपाल कम्युनिस्ट पार्टीले लिन खोजिरहेको बेग्लै पहल । ठीक यही सेरोफेरोमा केही अघि राज्यले सो पार्टीसम्बद्ध युवा कार्यकर्ता तीर्थराज घिमिरेको पूर्वी नेपालमा हत्या गरेको थियो । सो हत्याको क्रिया–प्रतिक्रिया साम्य नहुँदै राज्यद्वारा फेरि उक्त पार्टीका जिल्ला इन्चार्ज कमरेड कुमार पौडेलकै सर्लाहीमा हत्या भयो ।

विप्लव नेतृत्वको नेकपामाथि सरकारले त्यसअघि नै ‘प्रतिबन्ध’ को घोषणा गरेर देशव्यापी गिरफ्तारी र धरपकड तीव्र पारेकै थियो । यिनै सेराफेरोमा रहेर भर्खरै उक्त पार्टीका महासचिव विप्लवको एक आलेख सार्वजनिक भएको छ । वर्तमान सन्दर्भमा विप्लवका भनाइ, धारणा र तयारी के–कस्ता छन् त ? यी कुरा बुझ्न सबैका निम्ति उपयोगी हुने ठानी ‘केपी सरकारको हत्याकाण्ड’ शीर्कमा विप्लवद्वारा लिखित यो आलेख यहाँ प्रस्तुत गरिएको छ ।

केपी सरकारको हत्याकाण्ड

केपी—बादल सरकारले एक महिनाभित्र भोजपुरमा निहत्था युवा कमरेड तीर्थराज घिमिरे र सर्लाहीमा जिल्ला इन्चार्ज कमरेड कुमार पौडेलको हत्या गरेर मुठभेडमा मारिएको सफेद झूट बोल्न पुगेको छ । यसरी हेर्दा केपी—बादलमाण्डली एक नम्बरको हत्यारा, रक्तपिपासु एवम् ढँटुवा वञ्चक साबित भएको छ ।

मुठभेड जनयुद्धकालमा फासिस्टहरूले माओवादीहरूविरुद्ध प्रयोग गरेको बदनाम शब्द हो । जल्लादहरूले घरमा बसिरहेका किसान, मजदुरहरूलाई हत्या गर्ने, महिलाहरूलाई बलात्कार गरेर हत्या गर्ने, विद्यार्थीलाई पढिरहेको ठाउँमा र शिक्षकलाई पढाइरहेको स्कुलमा मार्ने, कवि–कलाकार, साहित्यकारहरूलाई कोठाबाट समातेर हत्या गर्ने र बाहिर सुरक्षा शक्तिसँगको मुठभेडमा मारिएको भनेर प्रचार गर्दथे । यही कारणले उनीहरू जनतामा नाङ्गेझार भएर पनि गएका थिए । आज डेढ दशकपछि गणतन्त्र नामको राज्य, कम्युनिस्ट नामको सरकार र पूर्वमाओवादीबाटै सरकारमा पुगेका गृहमन्त्री बादलले ठीक त्यसरी नै बाटोमा निहत्था हिँडिरहेका युवा, राजनीतिक काममा लागिरहेका जिल्ला नेता कुमार पौडेललाई नृशंस प्रकारले हत्या गरेर उही शब्द, उही तरिका, उही वाक्य, उही आरोप अर्थात् मुठभेडमा मारिएको भनेर निर्लज्ज प्रकारले जनतालाई ढाँटेका छन् । बादलको मुखमा क्रान्तिको आँधीले उडाएका जनहत्यारा शासकहरूको प्रेतात्मा बोलिरहेको जस्तो महसुस हुन्छ । यो हददर्जाको बेइमानी, छलकपट र जनताप्रतिको अपमान हो ।

जुन सत्ता र शासक वर्गले जनतालाई सुशासन, समानता, स्वतन्त्रता, स्वाधीनता, सुविधा र न्याय दिन सक्तैन, जुन सत्ता र शासक वर्गले जनताको विश्वास र मन जित्न सक्तैन, त्यो सत्ता र शासक वर्गले जनतामाथि आपराधिक दमनको बाटो पकड्छ ।

जब शासकहरू राज्य सञ्चालन गर्न असफल हुन्छन्, जब उनीहरू जनताका बीचमा बदनाम भएर जान्छन्, जब जनता र शासकहरूका बीचमा सङ्घर्ष चर्किएर जान्छ । जब जनताको माया र समर्थन क्रान्तिकारीहरूतिर ढल्किन्छ तब उनीहरू बन्दुकको सहारामा टिक्ने र बाँच्ने धृष्टता गर्दछन् ।

केपी—बादलमण्डली आज ठीक त्यसरी नै आमजनताको आँखामा चौतर्फी असफल र बदनाम हुँदै गएको छ । उसले गरेका राष्ट्रघात, भ्रष्टाचार, तस्करी, कमिसनखोरी, सामाजिक असुरक्षा, महँगी र दमनप्रति जनता आक्रोशित बन्दै गएका छन् । कयौंले यो मण्डलीको दिनगन्ती सुरु भएको घोषणा गरेका छन् । त्यही असफलताको छट्पटीमा जनताको माया पाइरहेको हाम्रो पार्टीमाथि घोर फासिवादी दमन गरिरहेको छ ।

राणाहरूले जनसङ्घर्ष र परिवर्तनका योद्धाहरूलाई रूखमा झुन्ड्याएर, पञ्चायतले क्रान्तिकारी योद्धाहरूलाई सुखानी र भिमानका जङ्गलमा गोली दागेर, काङ्ग्रेस—एमालेले सारा गाउँहरूलाई नै रक्तकुण्डमा बदलेर साथै खाग—उजाड बनाएर सत्तामा टिक्ने सपना देखेजस्तै केपी वलीको सामाजिक दलाल पुँजीवादी सरकारले आततायी हत्याकाण्ड मच्चाएर सत्तामा टिक्ने सपना देखिरहेको छ । उसले सोचिरहेको होला– केही उत्तेजनात्मक कारबाही गरेर, कुनै पनि रूपको दुर्घटना गराएर नेकपा र एकीकृत जनक्रान्तिलाई समाप्त पारिनेछ र सत्ताभोग गरिरहिनेछ । यो अयोग्य, अनैतिक, ठग, वञ्चक, आततायी सरकारको दिवास्वप्न मात्र हो ।

कमरेड कुमार पौडेल र कमरेड राजुको सहादतले परिवार र पार्टीलाई मात्र होइन, देश र श्रमिक जनतालाई पनि अपूरणीय क्षति भएको छ । उहाँहरू होनहार युवा प्रतिभाहरू हो । कुमार पौडेल त सर्लाहीको राम्रो भविष्य बोकेको नेता हो । सायद उनीहरूले योजनाबद्ध रूपले यो हत्याकाण्डको प्रपञ्च रच्नुको कारण पनि यही हो । तर इतिहासले के साबित गरेको छ भने हरक्रान्तिले आफ्ना उत्तम प्रतिनिधिहरूमध्येकै बलिदानको मूल्यद्वारा पूर्णता प्राप्त गर्दछ । असल प्रतिभा र प्रतिनिधिहरूको बलिदान संवेदनशील हुने भए पनि उनीहरूको बलिदान खेर जाँदैन । त्यसले कयौं होनहार उत्तराधिकारीहरूको जन्म गराउँछ । राणाहरूले चारजना योद्धाहरूलाई झुन्ड्याए तर राणाशासन नै समाप्त भयो । पञ्चायतले सयौंलाई हत्या गर्‍यो तर ऊ नै समाप्त भयो । जनयुद्धमा हजारौं योद्धाहरूको सहादत भयो तर हत्याराहरू नै जनताको बीचबाट समाप्त हुँदै गए । आज केपी—बादलले दमनबाट सत्तामा टिक्ने कल्पना गरेका छन् तर त्यो केवल दिवास्वप्न मात्र हुनेछ । क्रान्तिकारीहरूको सहादतले केपी—बादलहरूको खाल्डो खन्ने हजारौं–लाखौं क्रान्तिकारी योद्धाहरूको जन्म गराउनेछ ।

नागरिकहरूलाई हामीले हरदम भन्दै आएको कुरा हो– केपी सरकार दलाल पुँजीपति वर्गको पहरेदार र कठपुतली मात्र हो । यो श्रमिक जनताको प्रतिनिधित्व गर्ने सरकार होइन । कम्युनिस्टको त हुँदै होइन । यसको केन्द्रमा जनता र देशको सुखसमृद्धि छैन । ठीक उल्टो मुठीभर दलाल पुँजीपतिवर्गको लुटलाई संरक्षण गर्ने, दलाल वर्गसँगै मिसिएर आफ्नो सानो हिस्सालाई धनाढ्य वर्गमा उठाउने, सत्ताको मोजमस्ती उडाउने र जनतामाथि रजाइँ चलाउने सोचाइ छ । यसले हामी क्रान्तिकारीहरूलाई मात्र होइन, समाजका हरक्षेत्रका जनता र समुदायलाई फासिस्ट दमन गर्ने चरित्र बोकेको छ । यसका असरहरू चारैतिर देखिन पनि थालिसकेका छन् । त्यसैले यो सामाजिक दलाल पुँजीवादी सरकारका विरुद्ध सबै न्यायप्रेमी, देशभक्त, लोकतन्त्रवादी, कम्युनिस्ट शक्ति र व्यक्तित्वहरूले संयुक्त रूपमा प्रतिरोध गर्नुपर्ने आवश्यकता देखापरेको छ ।

केही सन्तोषको कुरा के छ भने केपी सरकारको अत्याचार र दमनविरुद्ध सबै क्षेत्रबाट विरोध सुरु भएको छ । पत्रकार, मानवअधिकारवादी, नागरिक समाज, कवि, साहित्यकार, कलाकार, सामाजिक सङ्घसंस्थाले मात्र होइन, राजनीतिक पार्टी, स्वयम् सरकार सञ्चालन गरिरहेको नेकपाभित्रका कयौं नेता र संसद् सदस्यहरूले पनि विरोध गरिरहेका छन् । यसले नेपाली जनता र समाजको न्यायप्रेमी, परिवर्तनकारी प्रवृत्तिको अभिव्यक्ति गर्दछ । दमनविरुद्ध उत्रिने सबैप्रति हाम्रो विशेष सम्मान र समर्थन रहेको छ । हामी देशलाई वास्तविक परिवर्तनकारी निकास दिन सबैसँग हातेमालो गर्न तयार छौं ।

केपी—बादलले समयमै बुझे हुन्छ– राज्यआतङ्क र दमन न्यायपूर्ण आन्दोलन र क्रान्तिको समाधान कदापि हुन सक्तैन । दमनले क्रान्तिकारीहरूतर्फ केही क्षति हुनसक्छ तर क्रान्तिको अन्त्य सम्भव छैन, बरु त्यही दमन शासकहरूको काया समाप्त पार्ने अस्त्र बन्नसक्छ । बलिदानहरू भौतिक भावनामा केही पीडादायी अवश्य हुन्छन् तर क्रान्तिमा बग्ने रगत यस्तो ज्योति हो जसले सयौँ वर्ष पछिसम्म पनि क्रान्तिका संवाहकहरूलाई मार्गनिर्देश गरिरहन्छ । कमरेड कुमार र कमरेड राजुले एकीकृत जनक्रान्तिमा बगाएको रगतले हामीलाई युगयुगसम्म प्रज्वलित गरिरहनेछ । उहाँहरूप्रति धेरैधेरै सम्मान र श्रद्धाञ्जली !

इ–रातोखबर डटकमबाट

मिति परिवर्तन गर्नुहोस् [Date Converter]–


Powered by © nepali date converter

फेसबुकबाट न्युजकोसेलीसँग जोडिनुहोस्–

आजको विनिमय दर