१. एकीकरण गर्दा पर्याप्त वैचारिक राजनीतिक विषयमा छलफल नगरी- नगराई हठात् र बलात् हतार-हतारमा दुई अध्यक्षको चोंचोमोचो मिलाएर पद बाँडफाँड गरी एकता गर्नु नै गलत थियो !
२. नेपालजस्ता कम विकसित अर्धसामन्ती र अर्ध/नवऔपनिवेशिक देसमा सर्वहारा क्रान्तिको मार्गदर्शक सिद्धान्तमा माओका विचारहरु पनि अवलम्बन गर्ने कुरामा त्रुटि भएको छ !
३. क्रान्तिमा बल प्रयोगको सार्वभौम मान्यतालाई आत्मसात नगर्नु कायरतापूर्ण सैद्धान्तिक विचलन भएको छ ।
४. नेपालमा पुँजीवाद आइसकेको वा पुँजीवादी जनवादी क्रान्तिभैसकेको विश्लेषण उपरी प्रकारको रहेको छ ! यो राष्ट्रिय पुँजीवाद नभएर दलाल तथा नोकरशाहीका साथै आसेपासे पुँजीवाद समेत हो जो पुँजीवादी जनवादी क्रान्तिको दुश्मन हो तर त्यही पुँजीवादलाई राष्ट्रिय पुँजीवाद मानेर समाजवादी क्रान्ती गर्ने कुरा अवस्तुवादी र अबैज्ञानिक छ ! फलतः आज दलालीकरण, कमिसनखोरी र घुस-भ्रष्टाचारजस्ता समस्याहरु विकराल रुपमा बढेर नेपालका क्रोनिक समस्या बन्न पुगेका छन् ।
५. जनवादी क्रान्तिका मुख्य दुई कार्यभार राष्ट्रिय र जनवादी क्रान्ती सम्पन्न गर्नु हो । नेपालमा राजतन्त्र ढलिसकेपछी जनवादी क्रान्ति अर्थात् सामन्तवादविरुद्धको क्रान्तिको आधारभूत प्रकृया ८० प्रतिशतजति पूरा भएको र २० प्रतिशतजति बाँकी रहेको भनिएपनी त्यो घट्ने-घटाउने क्रममा भन्दा बढ्ने-बढाउने क्रममा छ ! यसको मूलमा वैचारिक र सांस्कृतिक रुपले सामन्तवाद हामीमै पनि जब्बर रुपमा रहनु र त्यसका विरुद्धको संघर्ष गर्ने कुरामा चिन्तनगत विचलन र सैद्धान्तिक अस्पष्टता गम्भीर समस्या भएको छ ।
६. जनवादी क्रान्तिको अर्को मुख्य कार्यभार राष्ट्रिय क्रान्ती अर्थात् वैदेशिक शोषण-दमन र हस्तक्षेप समाप्त गर्नु हो ! तर विडम्बना, २००७ साल वरिपरिबाट शुरुभएको जनवादी क्रान्तिको यो प्रकृया २०३६, २०४६, र २०६२/२०६३ सम्ममा विकसित र सफल हुँदै आउँदा वैदेसिक हस्तक्षेपको प्रकृया कम हुनुको साटो उल्टै गुणात्मक रुपमा बढेर गएको छ । त्यसैले नेपालमा अहिले वैदेशिक हस्तक्षेप विरुद्धको संघर्षलाई बढाउनु पर्नेमा उल्टो हामी कम्युनिस्टहरु नै साम्राज्यवाद र विस्तारवादको भक्ती, स्तुति र चाकडी गरेर दलाल, दास र दब्बु मानसिकता बोकेर उछिनापाछिन गरिरहेका छौं ।
७. माथी ५ र ६ नं बुँदामा उल्लेख गरिएका समस्याको केन्द्र हाम्रै नेतृत्वपंक्ती हो र त्यहाँ रहेको सामन्तवाद र साम्राज्यवादप्रतिको आत्मसमर्पणवाद सर्वाधिक ठूलो समस्या भएकोले यसका विरुद्धको वैचारिक संघर्षलाई तीव्रता र व्यापकता दिंदै त्यसमा सापेक्षित विजय प्राप्त गरेसङ्गै साम्राज्यवादी-विस्तारवादी शोषण, दमन र हस्तक्षेप विरुद्धको संघर्ष चर्काउन सकिन्छ र चर्काउनु पर्दछ ।
८. हाम्रो गन्तव्य वा अधिकतम कार्यक्रम समाजवाद-साम्यवाद भएकाले समाजवादी क्रान्तिको आधार तयार गर्नको लागि हाम्रो समाजवाद कस्तो समाजवाद भन्ने स्पष्ट हुनु जरुरी हुन्छ ।
९. हाम्रो पार्टी नेपाल कम्युनिस्ट पार्टी (नेकपा) नेपाली सर्वहारा वर्गको अर्थात् वर्गीय रुपमा गरीब, भूमिहीन, किसान, मजदुर वर्गको अग्रदस्ता हो र हुनु पर्दछ भने वैचारिक रुपमा कम्तीमा हामीले घोषित रुपमा स्वीकारेका मार्क्सवाद-लेनिनवादलाई मान्ने अर्थात् जीवन दर्शन बनाउने देसभक्त, जनवादी, वामपन्थी, प्रगतिशील र क्रान्तिकारी वर्ग र समुदायको हो र हुनु पर्दछ । तर विडम्बना छ कि उक्त मान्यताको विपरीत सामन्त, दलाल, नोकरशाह, विचौलिया, माफिया, तस्कर जस्ता विजातीय वर्गको अग्रदस्ता बन्ने खतरा बढिरहेको स्थिती छ ।
१०. पार्टीका घोषित विचार, सिद्धान्त, मूल्यमान्यता र नीति-नैतिकता सम्बद्ध कुराहरु अहिले हात्तीका देखाउने दाँत भएका छन् भने चपाउने दाँत नित्तान्त विपरीत छन् ! यो वैचारिक, राजनीतिक, आर्थिक र सांस्कृतिक शुद्धीकरण र रुपान्तरणको समस्या हो !
११. रुपान्तरको यो समस्या हल गर्न कम्तीमा घोषित सिद्धान्त अनुसारको व्यवहार, राजनीती अनुसारको संस्कृति, लिखितम र वकितम अनुसारको करितम हुनु जरुरी छ ! आज यो समस्या हाम्रो पार्टीमा यति गम्भीर छ कि यस्ले नेपालका समस्त कम्युनिस्ट पार्टीहरु र समग्र कम्युनिस्ट आन्दोलन नै अस्तव्यस्त, ग्रस्त-त्रस्त र ध्वस्त पारेको छ ।
१२. उपरोक्त गल्ती, कमी र कमजोरीका कारण नै अहिले आफ्नै पार्टीको दुई तिहाईको बर्चस्व रहेको संघीय प्रतिनिधिसभाको आफ्नै पार्टीका अध्यक्ष एवं प्रधानमन्त्री केपी वलीले हतार-हतारमा हठात् र बलात् विघटन गरेर देस अस्थीरता र अराजकताको पुरानै खाडलमा मात्र जाँदैछैन, प्रतिक्रान्ती र प्रतिगमनको दिशामा जाने निश्चितजस्तै देखिएको छ भने अन्ततः राज्य नै विखण्डन र विघटन हुने गन्भीर खतरा समेत बढेको छ ! यसैगरी पार्टी पनि औपचारिक विभाजनको मात्र होइन विकृतीकरण, विघटन र विसर्जनकै प्रकृयामा जाने प्रबल खतरा छ ।
१३. आज विगत लामो समयदेखी जटिल र गम्भीर बन्दै आएका नेपाली राष्ट्रियता, जनतन्त्र र जनजीविकाका समस्याहरु हल गर्दै क. पुस्पलाललगायत्ले पार्टी स्थापना गर्दादेखिकै लक्ष नयाँ जनवादी क्रान्ती पूरा गर्न आवश्यकता अनुसार संयुक्त र सशस्त्र आन्दोलन समेत गरी क्रान्तिको यो प्रकृयालाई समाजवादको आधार तयार गर्ने कार्यदिशामा अघि बढ्ने बेलामा वैदेशिक र घरेलु प्रतिक्रियावादीहरुको पहल र मनसुवा सार्थक हुने गरि भैरहेका विचार र विधिका आवरणमा पार्टी र सरकारभित्रका अन्तर्पार्टी संघर्षका नामका यी वादविवाद र प्रतिवाद अनि एकले अर्कालाई गर्ने कार्वाही र निष्कासनका तयारीहरु पार्टी विभाजनका औपचारिक हर्कतहरु हुन् ।
यद्यपि ध्वंसपछि निर्माण हुने वस्तुगत नियम अनुसार विभाजन वा विसर्जनपछी पनि क्रान्तिकारी ध्रुवीकरण र पुनर्गठन हुने कुरा त्यत्तिकै सत्य र अवश्यम्भावी छ । वास्तवमा समस्याको सही र स्थायी समाधान कार्वाही होइन ! आलोचना र आत्मालोचना नै पार्टीभित्रका समस्या हलगर्ने प्रथम विधि हो भने अन्तर्संघर्ष र दुईलाइन संघर्षलाई विचार र राजनीतिमा आधारित र केन्दृत भएर व्यवस्थित रुपमा मैत्रीपूर्ण र रचनात्मक रुपले संचालन गरि जनवादी केन्द्रीयताको सिद्धान्त र विधि अनुसार रुपान्तरण हुने-गर्ने उद्देश्यले एउटा निष्कर्षमा पुग्नु पुराउनु मात्रै बैज्ञानिक र क्रान्तिकारी हुन्छ ! यो कुरा बेग्लै हो कि रुपान्तरण नहुने विजातीय वर्ग र विचारका व्यक्ति र प्रवृत्ति विरुद्धको संघर्ष दुश्मनीपूर्ण हुने र कार्वाहीको प्रकृया अवलम्बन गर्ने कुरालाई उपेक्षा गर्नु हुँदैन ।
१४. अहिलेको लडाइँ मुख्य मुद्दा संसद्लाई विसर्जन गर्ने र पुनर्जीवन गर्नेमा केन्दृत छ ! यो संसद् पुनर्स्थापना गरे पनि र पार्टी यही रुपमा एकताबद्ध भैरहे पनि राष्ट्रियता, जनतन्त्र र जनजीविकाका आधारभूत समस्याहरुको समाधान हुने देखिदैन भने संसद् विघटन र पार्टी बिभाजनले त झन् प्रतिगमन र राष्ट्रिय आत्मसमर्पणलाई नै बल दिने नै देखिन्छ । त्यसैले यी संसदीय संसद पुनर्थापना वा नयाँ निर्वाचनको फन्दामा होइन, पार्टीलाई सैद्धान्तिक-राजनैतिक रुपले तीव्र र स्पष्ट पार्दै अहिलेलाई सर्वपक्षीय सभाको आयोजना द्वारा राष्ट्रिय सहमतिको अन्तरिम सरकार गठन गर्ने र त्यसै सरकार र सभाले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका आधारभूत समस्याको समाधान गर्न विभिन्न शक्तिशाली आयोगहरु बनाएर सुझाव लिएर विकृती र विसङ्गतिले भरिएको वर्तमान संसदीय ब्यबस्थाको बिकल्प खोज्नु अहिलेको वस्तुवादी, बैज्ञानिक, सरल र मियव्ययी बाटो हो ।
१५. यिनै विचार र मान्यताहरु अनुसार चल्ने र चलाउने प्रकृयामा जुन जुन समूह, शक्ति र व्यक्ती हुनेछन्, तिनैप्रती हाम्रो समर्थन, सहयोग र सहभागिता हुने छ । त्यसैले अहिले यथास्थितिमा वली वा प्रचण्ड समूहमध्ये तुलनात्मक रुपले दोस्रो समूहमा देसभक्त र इमान्दार क्रान्तिकारी भएकाले र कतिपय विचार र मुद्दा-भावनाका कारणले पार्टीसङ्गको सम्बन्ध नतोडे पनि कुनै एकको नेतृत्वका समूहको बैठकमा गैहाल्नु भन्दा कुनै पनि मालेमावादी स्वाभिमानी, स्वच्छ र सच्चा इमान्दार क्रान्तिकारी कम्युनिष्टहरुको केन्द्रमा हाम्रो सहभागिता र सकृयता हुनेछ । त्यसैले यसै दिशामा दुवै र सबै समूहका सदस्य-शक्तीहरुलाई गोलबन्द हुन, संघर्ष गर्न र समर्पित हुन आग्रह छ ! धन्यवाद ! लाल सलाम !